२३ भाद्र २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

'कोरोना भाइरसले मधुमेह निम्त्याउँछ'

दुई वैज्ञानिक अध्ययनबाट कोभिड–१९ संक्रमितलाई चिन्तित बनाउने निष्कर्ष आएको छ। त्यो हो, कोरोना भाइरसले निमोनिया र अन्य स्वास्थ्य समस्यासँगै मधुमेह रोग पनि निम्त्याउँछ भन्ने। कोभिड–१९ का कारण सघन हिसाबले बिरामी भएकामा टाइप–१ मधुमेह देखिन्छ भन्ने रहस्य पत्ता लगाउन ती अध्ययन गरिएका थिए।

कोभिड–१९ बाट निको भएका अधिकांश बिरामीमा अन्य कुनै दीर्घकालीन समस्या नदेखिए पनि चिकित्सकले केही बिरामीमा मधुमेह रोग विकास भएको बताउँदै आएका थिए। यो विषयमा गरिएका ती दुई अध्ययनले मधुमेह हुनबाट बचाउने शरीरका कोषलाई कोरोना भाइरसले नष्ट गर्ने देखाएका छन्। कोरोना संक्रमण भइसकेपछि टाइप–१ मधुमेहमा शरीरले आवश्यक मात्रामा इन्सुलिनको उत्पादन गर्दैन भने टाइप–२ मा शरीरमा यथेष्ट इन्सुलिन भए पनि राम्रोसँग काम गर्न नसक्ने हुन्छ।

इन्सुलिनले शरीरका कोषलाई रगतमा चिनीको सही मात्रा प्रवाह गर्न सहयोग गर्छ। इन्सुलिनको उत्पादन घट्दा अथवा यसलाई बाधा पुर्‍याउँदा रगतमा चिनी र ग्लुकोजमा मात्रा अत्यधिक हुन जान्छ। ग्लुकोजको यो अध्यधिक मात्रा नै मधुमेहको प्रमुख कारक तत्व हो। ग्लुकोजको त्यो अत्यधिक मात्रालाई हाइपरग्लाइसेमिया पनि भनिन्छ। अमेरिकामा हुने कुल मृत्युको १० देखि १५ प्रतिशत हिस्सा मधुमेह रोगको छ। सन् २०१७ मा ३ करोड ४२ लाख अमेरिकी यो रोगबाट ग्रसित थिए। मधुमेहका कुल रोगीमध्ये १६ लाखलाई टाइप–१ मधुमेह हुने गरेको र यो रोगअन्तर्गत अग्न्यासय (प्याङक्रियाज) मा रहेका इन्सुलिन उत्पादन गर्ने बेटा कोष नष्ट हुने र इन्सुलिन उत्पादन प्रभावित हुने गर्दछ।

दुई अध्ययनले मधुमेह हुनबाट बचाउने शरीरका कोषलाई कोरोना भाइरसले नष्ट गर्ने देखाएका छन्। कोरोना संक्रमण भइसकेपछि टाइप–१ मधुमेहमा शरीरले आवश्यक मात्रामा इन्सुलिनको उत्पादन गर्दैन भने टाइप–२ मा शरीरमा यथेष्ट इन्सुलिन भए पनि राम्रोसँग काम गर्न नसक्ने हुन्छ।

‘यसअघिका अध्ययनले कोभिड–१९ भाइरसले बेटा कोष (बेटा सेल) लाई संक्रमण गर्ने देखाएको थियो,’ अमेरिकाको नेसनल इन्सिच्युट अफ हेल्थका डा. फ्रान्सी कोलिन्सले आफ्नो ब्लगमा लेखेका छन्, ‘ती अध्ययनले यो खतरनाक भाइरस इन्सुलिन उत्पादन गर्ने बेटा सेलमा धेरै संख्यामा प्रतिकृति बनाउने र शरीरका अन्य कोषमा फैलने देखिएको थियो।’

स्टानफोर्ड विश्वविद्यालयअन्तर्गतको स्कुल अफ मेडिसिन र वेयल कर्नेल मेडिसिनले गरेको अध्ययनले कोभिड–१९ र मधुमेहको सम्बन्धलाई थप प्रस्ट्याएको छ। कोभिड–१९ का कारण मृत्यु भएका बिरामीको शव परीक्षण(अटोप्सी) मार्फत गरिएका यी दुवै अध्ययनले अग्न्यासयमा रहेका बेटा सेललाई भाइरसले नष्ट गर्ने क्षमता राख्ने र यस्ले इन्सुलिनको उत्पादन प्रभावित भएर टाइप–१ मधुमेह हुने देखाएका छन्।

‘भाइरसले इन्सुलिन बनाउने कोषलाई नष्ट गरेपछि शरीरमा चिनीको मात्रा बढ्ने र टाइप–१ मधुमेह हुने देखिएको छ,’ एबिसी न्युजका मेडिकल िपोर्टर डा. जेनिफर अस्टन भन्छिन्। यसरी कोभिड–१९ भाइरसले शरीरका निश्चित कोषलाई नष्ट गर्न देखिएको हो। यो नतिजा सार्वजनिक भएपछि वैज्ञानिकले कोभिड–१९ का बिरामीलाई मधुमेह रोग हुनबाट बचाउन अध्ययनलाई तीव्रता दिएका छन्। एक अध्ययनले खास औषधिले यो सम्भावनालाई रोक्न सक्ने देखाएको छ। तर अध्ययनको उक्त नतिजालाई पुष्टि गर्न अझ धेरै अध्ययन आवश्यक रहेको अनुसन्धानकर्ता बताउँछन्। तर भाइरसले अग्न्यासयलाई क्षति पुर्‍याएर मधुमेह रोगको विकास भइसकेपछि औषधिले सजिलै निको हुन कठिन छ। अग्न्यासयका कोषमा भएको क्षतिलाई रोक्न कोभिड–१९ बाट निको भएका बिरामीले मधुमेह रोगका उपचारका लागि इन्सुलिनलगायत अन्य उपचार विधिमा भर पर्नुपर्ने हुन्छ।  

‘कोभिड–१९का भाइरस कसरी अग्न्यासयमा पुग्छ र यसले प्रतिरक्षा प्रणालीलाई कसरी प्रभावित पार्छ भन्ने विषयमा थप अध्ययन आवश्यक छ,’ कोलिन्स भन्छन्। पछिल्ला यी दुई अध्ययनले कोभिड–१९ र मधुमेहको सम्बन्ध रहेको देखिएपछि संक्रमितहरूलाई यो रोगका विषयमा थप जानकारी दिन आवश्यक देखिएको छ। ‘यदि तपाईमा कोभिड–१९ देखिएको छ र टाइप–१ मधुमेहका लक्षण पनि छन् भने मधुमेह रोगका परीक्षण तत्काल गर्नुपर्दछ,’ डा. अस्टन भन्छिन्।

यसैगरी कोभिड–१९ बाट निको भएका विरामीमा मधुमेह रोगको लक्षण भएनभएको पनि हेरिनुपर्ने उनको सुझाव छ। ‘अत्यधिक तिर्खा, लगातार पिसाब लागिरहनु, तौल घट्न तथा थकान हुनुजस्ता लक्षण देखिए थप सावधान हुनुपर्ने हुन्छ,’ उनी भन्छिन्, ‘कोभिड–१९को यी जटिलताका समाधान गर्न तथा आफ्ना प्रियजन तथा समुदायलाई सुरक्षित राख्न सबैले कोरोना खोप लगाउन आवश्यक देखिएकोछ।’

(एबिसी न्युज)

प्रकाशित: २९ जेष्ठ २०७८ ०२:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App