१३ आश्विन २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

वीपी प्रतिष्ठान सुधार गर्न दबाब सञ्जालको एक हप्ते अल्टिमेटम

धरान नागरिक दबाब सञ्जालले ध्यानाकर्षण पत्र बुझाएपछि सम्बोधन गर्दे उपकुलपति डा.ज्ञानेन्द्र गिरी। तस्बिर: रोहित/नागरिक

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सुधार गर्न नागरिकस्तरबाट गठन गरिएको धरान नागरिक दबाब सञ्जालले एक साताको अल्टिमेटम दिएको छ। सञ्जालले सोमबार प्रतिष्ठानका उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीलाई समस्या र तत्काल सुधार गर्नुपर्ने बिषयहरु समेटिएको ध्यानाकर्षण पत्र बुझाउदै एक साताको अल्टिमेटम दिएको हो।  

राजनीतिक दलका प्रतिनिधिहरुसहित प्रतिष्ठान पुगेको नागरिक अगुवाहरुले प्रतिष्ठानमा देखा परेको समस्याहरु, आम नागरिकको गुनासाहरुलाई पनि ध्यानाकर्षण पत्रमा समेटेको जनाएका छन्। एक साताभित्र भएका सुधारका प्रयासहरुको संयुक्तरुपमा मुल्यांकन गर्ने र त्यसको आधारमा दबाब सञ्जाल अघि बढ्ने संयोजक प्रा.डा.राजेन्द्र शर्माले बताए ।  

उनका अनुसार ध्यानाकर्षण पत्र प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्रीको कार्यालय, सहकुलपतिसमेत रहेका स्वास्थ्यमन्त्री, प्रदेश नं १ का मुख्यमन्त्री, मेडिकल काउन्सिल, धरानका मेयर र उपमेयरसमेतलाई बोधार्थ पठाइएको छ। संयोजक शर्माले प्रतिष्ठान स्थापनाको उद्देश्य चिकित्सा शिक्षा अध्यापन, अनुसन्धान र उपचार भएपनि नियुक्त भएका पदाधिकारीहरुको स्वार्थ कमाउ धन्दा हुन थालेकोले समस्या भएको बताए । ‘यसको विसुद्ध काम पठनपाठन हो, र त्यसको दौरान उपचार गर्नु, यहाँको जनशक्तिलाई सक्षम बनाउनु हो,’उनले भने,‘तर यहाँ नियुक्त पदाधिकारीहरुको लक्ष्य धन आर्जन गर्नु हो र ? के यही टकरावमा बषौंदेखि रुमलिएको छ हो यो प्रतिष्ठान ? हामीले शंका गरेको समस्याको जड यही हो।’

सञ्जालले अक्सिजन प्लान्ट चुस्तदुरुस्त नराखेको, कोभिड अस्पतालको उपचार सेवा प्रभावकारी नभएको, भेन्टिलेटर कम भएको र बिग्रिरहने गरेको, लामो समय सिटि स्क्यान,एमआरआई उपकरणहरु बिग्रिरहने र मर्मतको नाममा धेरै खार्च हुने, प्रतिष्ठानको बेरुजु १ अर्ब पुगेको, फार्मेसी सञ्चालनमा लापरवाही गरिएको, नियम मिचेर भुक्तानीहरु भएको, विभिन्न टेण्डरहरु पदाधिकारीहरुकै स्वार्थ बाँझिएका कारण रद्द गरिएको, खरीद प्रकृयालाई कब्जा गर्ने शैलीमा आफ्ना एसम्यानहरु सरुवा गरिएकोलगायत बिषयहरुलाई प्रमुखताको साथ उठान गरेको छ।  

यस्तै, सञ्जालले एक अधिकार सम्पन्न अनुगमन समिति गठन गर्न, वर्तमान अवस्थाको चित्रणसहित प्रतिवेदन सार्वजनिक गर्न, सेवा सुचारु हुन नसकेका उपकरणहरु अबिलम्ब मर्मत सम्भार गरि सेवा सुचारु गर्न, कोभिड अस्पतालमा गुणस्तरीय सेवा प्रत्याभुत गर्न, इर्मजेन्सी सेवालाई प्रभावकारी बनाउन, अस्पताल शैयाको १० प्रतिशत आइसियु रहने व्यवस्था गर्नलगायत सुझावहरु पनि दिएको छ।  

प्रतिष्ठानका उपकुलपति डा.गिरीले आफु गत बर्ष कोभिड महामारीकै बेला नियुक्त भएर आएको र व्यवस्थापन, उपचार सेवालाई सुधार गर्न प्रयत्नरत रहेको बताए । ‘कोभिडकै बेला नियुक्त भएर आएको थिए, सुधार गर्ने प्रयास भइरहेकै छ। एक बर्षमा हामीले जति पनि पुराना र थन्किएको मेशिनहरु रिपेयर गर्यौ, धेरै किनिसकेका छौं, र किन्ने पहल भइरहेको छ । यसले उपचार सेवालाई थप प्रभावकारी बनाउछ,’उनले भने,‘विरामीको उपचार, ल्याब, रेडियोलोजी सेवामा धेरै सुधार हुदैछ । बषौंदेखि रोकिएको वृत्तिविकास हुदैछ, पुर्णविश्वविद्यालय बनाउने प्रक्रिया थालेका छौं।’

शिक्षाध्यक्ष प्रा.डा.गुरु खनालले भने पदाधिकारीहरुमा कमीकमजोरीहरु रहेको भन्दै सुधार गर्दै अघि बढ्नुपर्ने बताए। नेतृत्वको हिसाबले उपकुलपतिले चारै जना पदाधिकारीहरु राखेर छलफलमार्फत समाधान गुर्नपर्ने उनले बताए। ‘हाम्रो कमीकमजोरी छ, जिम्मा लिदै समाधान गर्नुपर्छ,’उनले भने,‘प्रतिष्ठानको गोप्य डकुमेन्टहरु बाहिर कसरी गइरहेको छ? यो कुरालाई पनि ख्याल गर्नुपर्छ ।’अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहले कोभिड अस्पतालमा ३ सिफ्टमा जनशक्ति बढाएर उपचार सेवा प्रभावकारी बनाइएको दाबी गरे। बिग्रेको भेन्टिलेटरलाई पनि तत्काल मर्मत सुधार गरेको, अक्सिजन प्लान्ट पनि बनाइएको उनले दाबी गरे।

प्रकाशित: २४ जेष्ठ २०७८ १३:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App