coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

लिमचुङबुङलाई २ थान अक्सिजन कन्सन्ट्रेटरसहित स्वास्थ्य सामग्री सहयोग

सामग्री हस्तान्तरण गर्दै संयोजक देवराज राईलगायत। तस्बिर: महेश्वर/नागरिक

लिमचुङबुङ गाउँपालिकालाई रोजगारी तथा पेशा व्यवसायको क्रममा देशविदेशमा रहेका युवा शुभचिन्तकहरुले कोभिडविरुद्ध लड्न विभिन्नखाले स्वास्थ्य सामग्री प्रदान गरेका छन्। गाउँमा फैलिएको कोभिड भेरियन्ट महामारीबाट बचाउन व्यक्तिगत सहयोगमा खरिद गरिएका स्वास्थ्य सामग्री आईतबार गाउँपालिकालाई हस्तान्तरण गरिएको हाे।  

टोली संयोजक तथा लिमचुङबुङ १ बाँसबोटेका सामाजिक अगुवा देवराज राई नेतृत्वको टोली गाउँपालिकामै पुगेर सामग्री हस्तान्तरण गरेको हो। टोलीले अक्सिजन अभावले स्वास्थ्यस्थिति जटिल भएका कोभिड संक्रमितलाई वरिपरिको हावाबाट अक्सिजन छानेर उपलब्ध गराउने उपकरण (अक्सिजन कन्सन्ट्रेटर) २ थान, सेनिटाईजर, मास्कलगायत सामग्री प्रदान गरेको छ। ७ हजार ७ सय ५० थान मास्क, १ सय २० थान सेनिटाईजर र शक्ति प्रदायक खाजा हर्लिक्स १४ किलो गाउँपािलकालाई हस्तान्तरण गरेको राईले बताए।  

ती सामग्री गाउँपालिका स्वास्थ्य शाखा, आईसोलेसन तथा ५ वटै वडाबासीलाई वितरण गरिएको टोली सदस्य राजकुमार राईले बताए। उनका अनुसार गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नौलशेर राई, आईसोलेसन प्रमुख कर्णशेर राईलगायत वडाध्यक्षहरु र राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितिमा सुरक्षा मापदण्ड र दुरी कायम गरी सामग्री हस्तान्तरण गरिएको छ। झण्डै ५ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री काठमाडौं र बिभिन्न देशमा कार्यरत युवाहरुले गाँस काटेर दिएको स्वेच्छिक चन्दा संकलनबाट खरिद गरिएको राईले बताए।  

टोलीले दिएको सामग्रीमध्ये अक्सिजन कन्सन्ट्रेटर लिमचुङबुङ अस्पतालको आईसोलेसनमा उपचाररत विरामीको उपचारमा प्रयोग गरिनेछ भने बाँकी सामग्री सबै वडाका स्वास्थ्यचौकीलाई वितरण गरिनेछ। ७ हजार ७ सय ५० थान मास्कमध्ये ५ वटा वडालाई १/१ हजार थान दिइएको छ भने बाँकी २ हजार ७ सय ५० थान गाउँ स्वास्थ्य शाखालाई छुट्याइएको छ। त्यस्तै १ सय २० थान सेनिटाईजरमध्ये १ नंं वडालाई २० थान र अन्य वडालाई १०/१० थान हस्तान्तरण गरिएको अर्का टोली सदस्य चुडामणि राईले बताए।  

सोही व्यक्तिहरु संलग्न टोलीले यसअघि पनि गाउँपालिकालाई एन्टीजेन किटलगायत बिभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको थियो। गाउँमा कोभिड संक्रमण देखिनासाथ संक्रमण नियन्त्रण र त्यसबाट बँचाउने उदेश्यले बिभिन्न देशमा रहेका युवाहरुसँग सहकार्य गर्दै कोविड परीक्षण गर्ने एन्टीजेन किट १ सय थान र २० थान पिपिई सेट खरिद गरी प्रदान गरेको थियो। महामारीविरुद्धको सहयोग अभियानमा काठमाडौं र बिभिन्न देशमा कार्यरत मनकारी युवाहरुको योगदान रहेको छ। सहयोग गर्नेमा एसके राई, (शंकर राई) को संयोजनमा मलेसियाबाट कैलाश राई, प्रविण राई, राजकुमार भुजेल, थिरन राई र अनिल राईले सहयोग गरेका छन्। त्यस्तै साउदी अरवबाट बिजय राई र बयान राई, दुबईबाट नीमा कोयु राई, अमेरिकाबाट शम्भु राई र दोशन राई, दक्षिण कोरियाबाट कविल राईको संयोजकत्वमा सञ्जिब बुढाथोकी र अशल किराँतीले अभियानमा सहयोग गरेको टोलीले जनाएको छ।

गाउँपालिकावासीलाई महामारीले अप्ठेरो पारेका बेला सहयोग गर्ने उदेश्यले आपसी सरसल्लाह गरी सहयोग गर्ने अभियान चलाइएको संयोजक राईले बताए। लिमचुङबुङमा आइतबारसम्म १ सय जनामा संक्रमण पुष्टि भईसकेको छ भने १ जनाको ज्यान गईसकेको छ। वैशाख दोस्रो साता १ जना संक्रमित देखिएको गाउँपालिकामा पछिल्लो १ महिनामा दिनहुँजसो संक्रमित थपिने क्रम चलिरहेको छ। संक्रमितमध्ये १५ महिलासहित ३० जना निको भएर घर फर्किसकेका छन् भने हाल २४ महिलासहति ६८ जनाको उपचार भईरहेको लिमचुङबुङ अस्पतालका आईसोलेसन प्रमुख कर्णशेर राईले बताए। उनका अनुसार ५ थान अक्सिजन सिलिण्डरसहितको अस्पतालमा १० शय्या (बेड) मात्र भएकाले जटिलखाललाई उपचार गराउने गरिएको छ।  बाँकीलाई होमआईसोलेसन र विभिन्न अस्पताल पठाउने गरिएको छ। 

प्रकाशित: २४ जेष्ठ २०७८ ०९:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App