२० वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

स्वास्थ्यकर्मी र संक्रमितलाई निःशुल्क खाना र खाजा

खोटाङको ऐसेलुखर्क गाउँपालिकाले आइसोलेसनमा बस्ने संक्रमितहरुको उपचारमा खटिएकाहरुलाई निःशुल्क खाना र खाजाको व्यवस्था गरेको छ। गाउँपालिकाले आइसोलेसनमा बस्ने संक्रमितहरुको उपचारमा खटिएका स्वास्थ्यकर्मी, गाउँ प्रहरी र एम्बूलेन्स चालकलाई निः शुल्क खाना र खाजाको प्रवन्ध गरेको हो।

स्वास्थ्यमा जटिल समस्या भएपछि गाउँपालिकाले बनाएको आइसोलेसन सेन्टरमा आइपुगेका संक्रमित तथा तिनै संक्रमितको उपचारमा खटिएकाहरुको सहजता र प्रोत्साहनमा खाना र खाजा निःशुल्क गरेको गाउँपालिकाले जनाएको छ।

आइसोलेसनमा आइपुगेका संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मी, सुरक्षामा खटिएका गाउँ प्रहरी र संक्रमित बोक्ने एम्बूलेन्स चालकलाई जुनसुकै होटलमा खाना र खाजा नदिने भएकाले गाउँपालिकाको तर्फबाट खाना र खाजाको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष बिश्वनाथ निरौलाले बताए।  

संक्रमितको उपचारका लागि गाउँपालिकाले प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कमा आइसोलेसन सेन्टर बनाएको छ। सो आइसोलेसन सेन्टरमा बसेका ५ जनामध्ये २ जना संक्रमित शनिबार डिस्चार्ज भएका छन्। ‘आइसोलेसन सेन्टरमा बस्नुपर्ने अवस्थाका संक्रमितलाई खाना र खाजा र यातायात निःशुल्क गरिएको छ,’ अध्यक्ष निरौलाले भने, ‘संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीसँग अरु मान्छे डर मान्छन्। होटलमा नआइदिन हुनेझैं गर्छन्। त्यही भएर हामीले खाना र खाजा निःशुल्क गरेका हौँ।’  

यसैबीच साकेला गाउँपालिकामा थप हप्ता दिनका लागि सिल अवधि लम्ब्याएको छ। कोभिड–१९ को संक्रमण दर तीब्र गतिमा फैलिरहेको भन्दै गाउँपालिकाले शनिबारदेखि अझै ७ दिनका लागि सिल अवधि थप गरेको हो। 

प्रकाशित: ९ जेष्ठ २०७८ १३:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App