४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

रिपोर्ट ढिलो आउँदा जोखिम बढ्यो

कोरोना लक्षण देखिएपछि पिसिआर जाँच गर्न दिएको स्वाबको रिपोर्ट ढिलो आउँदा समुदायमा संक्रमण बढेको छ। जिल्लामा पिसिआर जाँच गर्न दिएका दुईजनाको शुक्रबार रिपोर्ट नआउँदै मृत्यु भयो। मृत्य भएको तीन घण्टापछि मात्रै प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट उनीहरू कोरोना पोजेटिभ भएको रिपोर्ट आयो। 

गाउँगाउँमा संक्रमित बढेसँगै स्थानीय तहले संकलन गरी प्रदेश प्रयोगशालामा पठाएको स्वाबको रिपोर्ट पाँच/छ दिनसम्म पनि प्राप्त हुन नसकेको अवस्था छ। जिल्ला स्वास्थ्य कार्यालय, गोरखाका अनुसार अझै एक हजारभन्दा बढीको रिपोर्ट आउन बाँकी छ।

सहिद लखन गाउँपालिका ४ का ४२ वर्षीय बाबुराम लामिछानेको पिसिआर रिपोर्ट शुक्रबार दिउँसो मृत्यु हुँदासम्म आएको थिएन। उनले वैशाख २६ गते स्वाब दिएका थिए। त्यस्तै पालुङटार नगरपालिका २ का ६५ वर्षीय रामचन्द्र बस्नेतको आँपपिपल अस्पतालमा उपचारका क्रममा निधन भयो। उनले स्वाब २८ गते दिएका थिए। शुक्रबार मृत्य हुँदासम्म उनको पनि रिपोर्ट आएको थिएन।  

ढिला गरी पिसिआर रिपोर्ट आउँदा जोखिम बढेको स्थानीय तहका स्वास्थ्य संयोजकहरूले बताएका छन्। पालुङटार नगरपालिकाले वैशाख २७ गते पोखरास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको स्वाबको रिपोर्ट नआएको स्वास्थ्य शाखाका कोरोना फोकल पर्सन दीपेन्द्र गिरीले बताए। वैशाख २८ गते स्वाब लिइएका सहिद लखन गाउँपालिकाका ६२ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र श्रेष्ठले बताए।

गोरखा नगरपालिकामा पनि वैशाख २८ देखिको रिपोर्ट आउन बाँकी रहेको र शुक्रबारसम्म दुई सय ५९ जनाको रिपोर्ट आउन बाँकी रहेको कोरोना फोकल पर्सन निश्चल अर्यालले बताए। रिपोर्ट ढिलो आउँदा संक्रमित पहिचान गर्न नसकिएको र त्यस्ता व्यक्ति गाउँमा खुलेआम हिँड्दा संक्रमण दर पनि बढ्दै गएको स्वास्थ्यकर्मीले बताएका छन्। 

गोरखामा संकलित स्वाब पिसिआर परीक्षण गर्न प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाइन्छ। प्रयोगशालामा अत्यधिक चाप भएकाले रिपोर्ट आउन ढिलो भएको प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्र, पोखराका संयोजक नवराज शर्माले बताए। उनले भने, ‘बिहान ८ देखि राति १२ बजेसम्म प्रयोगशाला चलाउँदा पनि आएका स्वाब परीक्षण गर्न सकिएको छैन।’

प्रकाशित: १ जेष्ठ २०७८ ०१:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App