८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

ट्राभल हिस्ट्रीसमेत नभएका दम्पत्तीलाई कोरोना संक्रमण

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा थप दुई जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। ज्वरोको समस्या भएपछि तीन दिनअघि जिल्ला अस्पतालमा भर्ना भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका एक दम्पत्तीलाई कोरोना संक्रमण पुष्टि भएको हो।

औषधि दिँदा पनि ज्वरोको मात्रा नघटेपछि मंगलबार गरिएको एन्टीजेन परीक्षणमा ती दम्पत्तीलाई कोरोना संक्रमण भएको खुलेको जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. बैभव मल्लिकले बताए।

श्रीमान बिरामी भएपछि कुरुवाका रुपमा आएकी श्रीमतीलाई पनि कोभिड–१९ को संक्रमण देखिएको हो। लक्षणका आधारमा शंका लागेपछि एन्टीजेन परीक्षण गर्दा कोभिड–१९ को संक्रमण भएको भएको डा. मल्लिकले बताए।

दम्पत्ती हालसम्म गाउँबाट कतै नगएको र ट्राभल हिस्ट्रीसमेत नहुनुले कोरोनाको महामारी गाउँ–गाउँमा पुगेको संकेत गरेको छ। ‘औषधि दिँदा पनि ज्वरो घटेन। थकान महसुस भइरहेको समस्या देखियो,’ डा. मल्लिकले भने, ‘लक्षणका आधारमा शंका लागेपछि चेक गर्दा कोभिड–१९ भएको भएको हो ।’

यससँगै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा कोरोना संक्रमितको संख्या चार पुगेको छ। मंगलबार गरिएको एन्टीजेन परीक्षणमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका पाण्डे थरका एक जना र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका गुरुङ थरका एक पुरुषलाई कोरोना संक्रमण भएको थियो। जिल्ला अस्पताल खोटाङमा चार जनाको एन्टीजेन परीक्षण गर्दा दुई जनालाई कोभिड–१९ संक्रमण भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले बताए। संक्रमण पुष्टि भएका दुबै पुरुषलाई होम आइसोलेसनमा राखिएको छ।

पाण्डे थरका पुरुष भने केही समयअघि आफन्तको विवाहमा भारत पुगेर फर्किएको जनाइएको छ। गुरुङ भने मेयर रिजालकै चालक हुन्। दुई संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका अन्य व्यक्तिको पनि एन्टीजेन परीक्षण गर्ने तयारी गरिएको मेयर रिजालले बताए।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकको निर्णय अनुसार मंगलबारदेखि जिल्ला अस्पतालमा एन्टीजेन परीक्षण सुरु गरिएको हो।  

सोमबार साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका दुई पुरुषलाई पनि कोरोना संक्रमण भएको थियो। 

प्रकाशित: २१ वैशाख २०७८ १३:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App