८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

संक्रमणको चक्रलाई रोक्न नसके केही दिनमै अस्पतालमा बिरामी राख्ने ठाँउसम्म हुने छैन : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बढ्दो संक्रमण रोकथामका लागि सबैसँग आग्रह गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड १९ को संक्रमण रोकथामका लागि सबैले भूमिका खेल्न मन्त्रालयले आग्रह गरेको हो ।

छिमेकी देशहरुमा स्वास्थ्य सेवा प्रवाह प्रणाली समेत तहसनहस पारी नियमित स्वास्थ्य सेवा उपलब्ध गराउन र कोभिड १९ को संक्रमितहरुलाई अस्पतालमा राखेर हेरचार गर्न नसकिएको हृदयविदारक घटना आफ्नै आँखा अगाडि देखिरहेको सन्दर्भ कोट्याउँदै मन्त्रालयले नेपालका विभिन्न स्थानमा समेत डरलाग्दो स्थिति आएको संकेत गरेको छ ।

‘महामारीले आफ्नै देशका विभिन्न स्थानहरुका समेत उस्तै किसिमका दुःखद् अवस्था आइसकेको देख्दादेख्दै पनि हामी सबैले संक्रमण रोकथाम गर्न सक्ने भूमिकाहरुको निर्वाह गरेका छैनौं ।’ मन्त्रालयले दुःख व्यक्त गरेको छ ।

मन्त्रालयका डा. समिरकुमार अधिकारीले अहिलेको संक्रमण सबै वर्ग र उमेर समूहका लागि अत्यन्त जोखिमपूर्ण रहेको जनाउँदै हालसम्म कोभिडको उपचार गर्नसक्ने कुनै पनि औषधि वा उपाय चिकित्सा विज्ञानले विकास गर्न नसकेकोले संक्रमण रोकथामको लागि तोकेका मापदण्डहरुको पालना नै निर्विकल्प उपाय भएको उल्लेख छ।

‘आज जुन दुःखद दृश्य स्वास्थ्यकर्मीहरुले दैनिक रुपमा देखिरहेका छन्, त्यो कसैको पनि परिवार वा आफन्तमा नघटोस् भन्नका लागि हामी सबैले संक्रमणको फैलावटलाई रोक्ने गरी जिम्मेवार बन्न र बनाउन अत्यावश्यक छ,’ सूचनामा भनिएको छ, ‘संक्रमणको चक्रलाई रोक्न सकिएन र यही गतिमा फैलदै गएमा केही दिनमै अस्पतालमा बिरामी राख्ने ठाँउसम्म हुने छैन । त्यसैले व्यक्ति व्यक्तिले निर्वाह गर्न सक्ने भूमिकाहरुबाट कसैलाई पनि बिचलिन हुन नदिऔं, खबरदारी गरौं ।’

मन्त्रालयले हाल विभिन्न नाममा भइरहेका गतिविधिलाई रोक्न पनि अनुरोध गरेको छ । मन्त्रालयले समाजका अगुवाहरुको क्रियाकलापहरुलाई सबैले अनुसरण समेत गर्ने भएकाले सबै व्यक्तिलाई सामाजिक उत्तरदायित्व निर्वाह गरी संवेदनशील बनिदिनुहन, सार्वजनिक समारोहहरु र सार्वजनिक स्थलमा कार्यक्रमहरु नगर्न नगराउन सहभागी नबनिदिनहुन अनुरोध गरेको मन्त्रालयले त्यस किसिमका गतिविधिहरु भएमा खबरदारीसहित कारवाहीको दायरामा ल्याईदिनु हुन सरोकारवाला सबै निकाय तथा व्यक्तिहरुमा अनुरोध समेत गरेको छ ।

यस्तै मन्त्रालयले कोभिड १९ को महामारीसँग जुध्नको लागि सबै सञ्चारकर्मी तथा सञ्चार माध्यमहरुको भूमिकाप्रति आभार जनाएको छ । अबका दिनहरुमा संचारमाध्यमहरु झन् बढी संवेदनशील हुँदै खबरदारी गर्नुपर्ने अवस्था आएको जनाउँदै मन्त्रालयले समग्र आमसञ्चारमा समाचार पढ्दा, अन्तर्वार्ता लिँदा वा कुनै पनि कार्यक्रमहरुका समाचार बनाउँदा मास्कको प्रयोग अनिवार्य गरिदिनुहुन तथा मास्कको प्रयोग नगर्ने व्यक्तिहरुका समाचार सूचनाहरुलाई निरुत्साहित गर्न, बन्द गर्न, प्रकाशन प्रशारण नगरिदिनुहुन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ ।

प्रकाशित: १२ वैशाख २०७८ ११:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App