१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

नेपालगन्जमा कोरोना संक्रमण तीव्रः थप एक महिलाको मृत्यु, वयस्क र बालबालिका बढी जोखिममा

फाइल तस्बिर

तीव्र रुपले कोरोना संक्रमण फैलिएको नेपालगन्जमा थप एक जनाको मृत्यु भएको छ। भेरी अस्पतालको कोभिड वार्डमा भर्ना भएकी दाङ नारायणपुर–११ निवासी ३७ वर्षीया एक महिलाको मृत्यु भएको हो। जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार शुक्रबार राती साढे १ बजेतिर मृत्यु भएको हो।  

महिलाको स्वास्थ्यमा समस्या आएपछि गत चैत २६ गते स्वाब परीक्षण गरिएको थियो। सोही दिन भेरी अस्पतालमा भर्ना भएकी उनको मृत्यु भएको हो। स्वास्थ्यकर्मीका अनुसार ती महिलालाई श्वास प्रश्वासमा समस्या आएपछि अक्सिजन दिएर राखिएको थियो। बोलिरहेकी उनको एक्कासी मृत्यु भएको स्वास्थ्यकर्मीले बताए। यो सँगै बाहिरी जिल्लाका मृत्यु हुनेको संख्या ९४ पुगेको छ। तीव्र रुपले फैलिएको कोरोना संक्रमणको असरले यहाँ मानवीय क्षति हुने क्रम बढेको छ।  

भेरी अस्पतालका एनेस्थेसियोलोजिष्ट डा. पारश पाण्डे यसपटक कोरोना संक्रमितले आफ्नो ज्यान बचाउन मुस्किल परिरहेको बताउँछन्। ‘अघिल्लो पटक ५ देखि १० प्रतिशत मात्र संक्रमित गम्भीर हुन्थ्ये, अहिले त झण्डै ३० देखि ४० प्रतिशतसम्म गम्भीर छन्,’ उनले भने ‘५० प्रतिशतलाई अक्सिजन नभई नहुने अवस्था छ।’ अहिले विशेषगरी वयस्क(२०–४० वर्ष उमेर समूह) र बालबालिकाको संक्रमणबाट मृत्यु हुने गरेको पाण्डे बताउँछन्।  

कोरोना संक्रमण नियन्त्रणबाहिर भइरहँदा बजार, पार्कमा भीडभाड, सीमानाकामा आवत–जावतका साथै विभिन्न सभा तथा कार्यक्रम, खेलकुद प्रतियोगिता निर्वाध रुपले भइरहेका छन्। कोरोना संक्रमणको असर यहाँका विद्यालयमा तीव्र रुपले देखा परेको छ। नेपालगन्ज उपमहानगरपालिकाले आइतबारबाट लागु हुने गरी विद्यालय बन्द गर्ने निर्णय गरिसकेको छ। नेपालगन्ज बाहेकका अन्य स्थानीय तहले शैक्षिक संस्था बन्द गर्ने विषयमा कुनै निर्णय गरेका छैनन्।  

नेपाल–भारत सीमानाका र बजारमा भीडभाड भइरहेको गुनासो बढेपछि स्थानीय प्रहरी, प्रशासनले शुक्रबारबाट भने चेकजाँचमा कडाई गरेको छ। प्रहरीले नेपाल–भारत जमुनाकाका साथै नेपालगन्ज उपमहानगर क्षेत्रमा चेकजाँचमा कडाई गरेको हो। बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल र जिल्ला प्रहरी प्रमुख एसपी ओमबहादुर राना आफै खटिएर चेकजाँचमा कडाई गरिरहेका छन्। मास्क नलगाउने, भीडभाडमा सामेल ब्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याउने प्रहरीले जनाएको छ।  

भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज कोहलपुर, बागेश्वरी ल्याब र जमुनाहा हेल्थडेस्कमा गरिएको प्रयोगशाला परीक्षणबाट शुक्रबार एकैदिन २ सय जना नयाँ संक्रमित फेला परेका थिए। यि मध्ये १ सय ९ जना पुरुष र ९१ जना महिला रहेका छन्। फेला परेका संक्रमितमा १ सय ३८ जना बाँके निवासी हुन्, भने ६२ जना जिल्ला बाहिरका रहेका छन्। फेला परेका बाँकेका नयाँ संक्रमित मध्ये ७३ जना पुरुष र ६५ जना महिला रहेका छन्।  

योसँगै बाँकेमा अहिलेसम्म कोरोनाबाट पोजेटिभ हुनेको संख्या ५ हजार १ सय ९४ पुगेको छ। जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रका अनुसार हाल ४ सय १४ जना आइसालेसनमा छन्। भेरी अस्पतालमा ९० र होम आइसोलेसनमा ३ सय ७९ जना रहेका छन्। भेरी अस्पतालको १ सय ४२ बेड क्षमताको कोभिड वार्डमा, ४० जना आईसियु र ७ जना भेन्टिलेटरमा उपचाररत छन्। अहिलेसम्म बाँकेका मात्रै ५९ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रको तथ्यांकमा उल्लेख छ।

प्रकाशित: ४ वैशाख २०७८ ०३:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App