जेम्स वाट्सनले सन् १९६२ मा आणविक विज्ञान क्षेत्रको नोबेल पुरस्कार पाए। सन् १९५३ मा आनुवंशिक पदार्थ डिएनएको संरचना यकिन गरी जर्नल ‘नेचर’मा प्रकाशित अनुसन्धानात्मक आलेखका कारण प्राध्यापक वाट्सनले उक्त उच्च सम्मान पाएका थिए। तत्कालीन समयमा उपलब्ध उपकरणको भरमा गरिएको उक्त अनुसन्धान अभूतपूर्व थियो। आनुवंशिक पदार्थबाट आरएनए, प्रोटिन तथा इन्जाइमहरू बन्ने प्रक्रियाको अध्ययनमा सहजीकरण भयो। उक्त आविष्कार आनुवंशिक पदार्थमै प्रहार गरी जेनेटिक डिजिजबाट मुक्ति पाउने आधार थियो।
विभूषित जेम्सले आफ्नो विद्यावारिधि सुपरभाइजरका रूपमा नोबेल लौरिएट साल्भाडोर लोरिया पाएका थिए भने उनको ल्याबमा अन्वेषण गरेका तीन विद्यार्थीहरूले विज्ञानको नोबेल पुरस्कार पाए। शैक्षिक उन्नयन लोभलाग्दो थियो। वाट्सनको प्रयोगशालामा काम गरेका विद्यार्थीहरूले चाहेको विश्वविद्यालयमा प्राध्यापकको जागिर पाउने अवस्था थियो। अलौकिक वैज्ञानिक वाट्सन एक सफल प्रशासक पनि थिए। संयुक्त राज्य अमेरिकाको प्रतिष्ठित अनुसन्धान केन्द्र कोल्ड स्प्रिङ हार्बरले उनको सभापतित्वमा नवीन उचाइ चुम्यो भने ह्युमन जेनोम प्रोजेक्टको सफलता उनको नेतृत्वको अर्को कोसेढुंगा थियो। आणविक विज्ञानका अल्बर्ट आइन्स्टाइन थिए उनी।
संसारको जुनसुकै कुनामा गए पनि जेम्सको जयजयकार हुन्थ्यो। अग्रजहरूले उनको रिसर्चको उच्च मूल्यांकन गर्दै ‘फादर अफ डिएनए’को उपाधि दिए। २५ वर्षको उमेरमा गरेको अनुसन्धानका आधारमा ३४औं जन्मदिन मनाउनेबित्तिकै पाएको नोबेल पुरस्कार अनि आनुवंशिक पिता कहलिइएपछि उनले आफूलाई विज्ञानका विद्यार्थीभन्दा साइन्सलाई चाहना अनुरूप मोड्न सक्ने अवतार ठान्न थाले। श्यामवर्णका अफ्रिकनप्रति घृणा गर्ने अनि महिलालाई हेप्ने तत्कालीन अमेरिकी समाजमा हुर्किएका वाट्सनले आफ्नो दबेको चरित्रलाई पखाल्नुको सट्टा विस्फोट गर्न थाले। सार्वजनिक रूपमै श्यामवर्णका मानिसहरू बौद्धिक रूपमा कमसल भएकाले उनीहरूलाई दास बनाउनु स्वाभाविक थियो समेत भने। रङविरोधी अभिव्यक्ति सच्याउन वैज्ञानिकहरूले आग्रह गरे। डा. वाट्सनले माफी माग्नुको सट्टा महिलाहरू आनुवंशिक रूपमै कमजोर भएकाले उनीहरूले नेतृत्व गर्न नसक्ने उद्घोष गरेर अर्को विवाद निम्त्याए। आनुवंशिक पिताको पगरीको दुरुपयोग गर्दै विज्ञानले पुष्टि नगरेका विवादास्पद उद्धरणहरू बक्न थालेपछि वैज्ञानिकहरू थकित भए। भुल स्वीकारसमेत नगरेपछि अनुसन्धान रकम काटियो भने आजीवन काम गरेको कोल्ड स्प्रिङ हार्बरले उनलाई अपदस्थ गर्यो। डा. वाट्सनले भारतीयमा अन्तर्निहित गुलामी जिनका कारण दशकौंसम्म बेलायतको दासत्वमा रमेको बताए भन्ने पनि चर्चा थियो। त्यसबेला वाट्सनलाई काठमाडौंले सही आतिथ्य दिन सकेको भए अन्तर्निहित स्वाभिमानी जिनका कारण नेपालीहरू कसैसँग नझुकेको भन्थे होलान्।
लगातारको सफलताले व्यक्तिलाई आफूले भनेको प्रत्येक कुरा सही ठान्ने भ्रममा पुर्याउँछ। यही ‘सक्सेस डिल्युजन’ले जेम्स वाट्सनजस्ता महान् वैज्ञानिकलाई समेत आत्ममुग्ध, विवादास्पद र अन्ततः आफ्नै प्रतिष्ठाबाट पतन हुने अवस्थामा पुर्यायो।
संसारलाई उत्कृष्ट आविष्कार दिने एक महावैज्ञानिक कसरी आफ्नै जीवनकालमा घृणाको पात्र हुन्छ भन्ने उदाहरण हुन् प्राध्यापक जेम्स वाट्सन। लगातारको सफलताले व्यक्तिलाई आफूले भनेको प्रत्येक कुरा सही ठान्ने चरित्र ‘द सक्सेस डिल्युजन’ भन्ने मनोरोग लाग्ने ठान्छन् अमेरिकाको डार्टमथ कलेजका प्राध्यापक एवं कार्यकारी प्रशिक्षक मार्शल गोल्डस्मिथ। यो मनोगत समस्याले ग्रसित व्यक्तिले आफूले भनेका र गरेका कुरालाई कहिल्यै पनि पुनर्मूल्यांकन गर्दैन भन्ने डा. गोल्डस्मिथको धारणा महावैज्ञानिक वाट्सनको चरित्रसँग ठ्याक्कै मेल खान्छ। अन्यथा सत्य र तथ्यमा विश्वास गर्ने वैज्ञानिकले आधारहीन कुराको बलमा एउटा निश्चित जात र भौगोलिक सरहदका बासिन्दालाई किन कमसल साबित गर्थ्यो?
त्यसो त जीवित मानिसलाई माता–पिताजस्ता दर्जाले महामानव बनाउन खोज्दा व्यक्तिले आफ्नो यथार्थ धरातल बिर्सने अनि सर्वाधिकारसम्पन्न भगवान्को अवतार ठान्छन् भन्ने एक पक्षको राय छ। डिएनएको पिताको उपाधि नदिएको भए जेम्स अराजक नहुने ठान्ने मनोवैज्ञानिक पनि नभएका होइनन्।
साइन्समा सदैव सत्य एक मात्र हुन्छ भने राजनीतिमा वैकल्पिक यथार्थहरू धेरै हुन्छन्। तर पनि राजनीतिक निचोड विज्ञानको परिणामभन्दा धेरै फरक हुँदैन। तसर्थ, विज्ञानमा लागु हुने पद्धति पोलिटिक्समा व्यावहारिक नहुने भन्ने हुँदैन। सफलतापछिको भ्रमको नेपाली राजनीतिमा परीक्षण हुनु सान्दर्भिक देखिन्छ।
विश्वेश्वर कोइरालाले धेरै प्रयास गर्दा पनि नडगमगाएको पञ्चायती व्यवस्थालाई कांग्रेस र कम्युनिस्टको सहकार्यमार्फत समाप्त गर्न गणेशमान सिंह सफल भए। उक्त ऐतिहासिक आन्दोलनका कमान्डर गणेशमान सिंह ‘फादर अफ डेमोक्रेसी’ कहलिए। प्रजातन्त्रकै पिता भएपछि शासन पद्धति आफ्नो इच्छाअनुरूप चल्नुपर्छ भन्ने सोच आउनु अस्वाभाविक भएन। प्रजातन्त्रकै बुबा कहलिएका सिंहका लागि भतिजो दुर्गेसमानलाई नियुक्तिका लागि गरिएको आग्रह प्रधानमन्त्री गिरिजाप्रसादले नटेर्नु सैह्य भएन। अन्ततः कांग्रेसलाई नै चुनावमा हराउन आफ्नो ऊर्जा खर्च गरे। आफूले चार दशक बिताएको संस्थाले डा. वाट्सनलाई पदच्युत गरेझैं आजीवन पार्टीमा श्रम बगाएका गणेशमान नेपाली कांग्रेसमा नअटाउने अवस्था आयो।
दशकौं लामो माओवादी आन्दोलनको नेतृत्व गरे पुष्पकमल दाहालले। मर्ने–बाँच्ने निक्र्यौल नभएको अभियानमा स्वयं मात्र होइन, परिवारै होमिए। पारिवारिक संलग्नता निःस्वार्थ देखिन्छ। विद्रोहकै बिच आन्दोलनको खाका कोरियो, प्रचण्डपथ नामांकन भयो। प्रचण्डपथले भगवत् स्वरूप बनायो पुष्पकमललाई। महामानवको दर्जापछि आफ्ना प्रत्येक वाक्यहरू अक्षरशः पालन होऊन् भन्ने चाह राख्न थाले। तर परिस्थिति सहज भएन। सिंहासनमा राख्ने नै लाखापाखा लागे। प्रचण्ड गुरुत्वाकर्षणविहीन अवस्थामा पुगे।
केपी ओलीलाई एमालेको अभिभावक मात्र होइन, प्रत्येक कार्यकर्ताको ‘बा’को पगरी गुताइयो। बुबाले परिवारलाई हप्काउने, थर्काउने अनि आवश्यक परे शक्ति प्रयोग गर्ने सामाजिक अभ्यासमा हुर्किएका ओलीले आफूलाई त्यही दर्जामा राखे। सहमति नहुनेलाई कित्ताकाट गर्दै गए। भीम रावललाई कारबाही गर्दा थपडी बजाउनेले ‘बा’को डन्डा कहाँ बज्रने हो भन्ने हेक्का गर्न सकेनन्। ओली झन् उदण्ड हुँदै गए। समयक्रमलाई नियाल्दा ओलीले गणेशमानको नियति भोग्न धेरै कुर्नुपर्ने देखिन्न।
जीवित व्यक्तिलाई ‘बा’, ‘आमा’, ‘पिता’जस्ता असाधारण उपाधि दिँदा उनीहरू यथार्थ धरातलबाट टाढिने र आफूलाई सर्वज्ञ ठान्ने जोखिम बढ्छ। व्यक्तिपूजाले लोकतान्त्रिक संस्कारभन्दा अराजक प्रवृत्तिलाई बल पुर्याउँछ।
पहिलो महिला प्रधानन्यायाधीश बनेकी सुशीला कार्कीको कार्यकाल अन्य समकक्षीभन्दा पृथक् थियो। उनमा न्यायिक विचलन र आर्थिक आशक्ति देखिएन। निर्भीक र निष्पक्ष कार्यशैलीका कारण जनतामा राम्रो छाप छोडिन् उनले। परिणामस्वरूप जेनजी आन्दोलनपछिको सरकारको नेतृत्व गर्न पुगिन् निवृत्त जीवन बिताउँदै गरेकी सुशीला। उनको नेतृत्वमा प्रतिनिधिसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न भयो। प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाहले ‘आमा’ भनेर सामाजिक सञ्जालमा सम्बोधन गरेपछि सुशीला एक्कासी राष्ट्रिय आमा बन्न पुगिन्। कबुल छोरा नै प्रधानमन्त्री भएपछि आफूले गरेका काममा भाजो नआओस् भन्ने चाहना सबैको हुन्छ नै। सुशीला अपवाद भइनन्। तर समयले मार्ग परिवर्तन गर्यो। स्वकीय सहयोगीलाई आफूले दिएको नियुक्ति रद्द गर्नु अनि न्यायाधीश सपना प्रधान मल्ललाई सर्वोच्चको नेतृत्वबाट वञ्चित गरिँदा सुशीलाले धैर्य गुमाइन्। जेम्स वाट्सनले आनुवंशिक पिता भएकाले आफूजति डिएनए बनाउने जिनका बारेमा कसैलाई पनि जानकारी नभएको ठानेझैं नेतृत्व गरिसकेकाले कार्यकारी र न्यायालयका हकमा आफू सर्वाधिक जानकार रहेको भान हुन थाल्यो सुशीलालाई। आफू मात्र पूर्ण देख्ने भ्रम पर्यो। भविष्यवक्ता बनिन् उनी। महावैज्ञानिक वाट्सनको अवस्थामा पुगिन् सुशीला भन्दा फरक नपर्ला। यद्यपि, डिएनएका पिता जस्तो नेपाली आमाले दुर्दिन देख्नु नपरोस् भन्ने कामना गरौं।
तथ्य र तथ्यांकमा विश्वास गर्ने सफलतम वैज्ञानिक जेम्स वाट्सनले समेत ‘पिता’को उपाधिपछि आफ्नो पेसागत धर्म पालन गर्न चुकेको देखियो। अनि लगातारको सफलतापछि व्यक्तिलाई सबै परिस्थिति आफ्नै समीपमा घुमेको भ्रम हुनु मानवीय चरित्र पाइयो। साथै एक पृथक् अध्ययनले मानका खातिर दिइर्ने ‘बा’, ‘आमा’, ‘दिदी’जस्ता उपाधिपछि व्यक्ति अराजक हुने सम्भावना अधिक रहने बतायो। तसर्थ, मानवलाई देवत्वकरण गर्दा व्यक्ति दायित्वबाट च्युत भई समाजलाई घात पुग्छ भन्ने कुरालाई मध्यनजर राख्दै जिउँदो मानिसलाई ‘बा’, ‘आमा’, ‘पिता’जस्ता पगरी गुताएर बेथिति नथपौं। मानवलाई भगवान् बनाउने प्रयास सुखद हुँदैन भन्ने नबिर्सौं।
प्रकाशित: २९ वैशाख २०८३ ११:०५ मंगलबार

