७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

कोरोनाका सिकिस्त बिरामी बढे,भीड नियन्त्रण नहुँदा जोखिम उच्च

राजधानीका विभिन्न अस्पतालमा कोरोनाका सिकिस्त बिरामी बढ्न थालेका छन्। सिकिस्त बिरामी बढेसँगै कोरोनाको जोखिम झन् बढेको चिकित्सकले औंल्याएका छन्। विवरणअनुसार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १८ जना आइसियुमा भर्ना भएका छन्। भर्ना भएकामध्ये १४ जना निमोनिया भइसकेर अक्सिजन चाहिने अवस्थाका छन्। तीमध्ये ६ जना सिकिस्त छन्।  

त्यसैगरी त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा २२ जना बिरामी भर्ना भएका छन्। उनीहरू सबै अक्सिजन चाहिने अवस्थाका छन्। वीर अस्पतालमा ५ जना कोरोना संक्रमित भर्ना भएका छन। अस्पतालका कोभिड १९ सम्पर्क चिकित्सक डा. अच्युत कार्कीका अनुसार २ जना आइसियुमा छन्। चिकित्सकका अनुसार भर्ना हुनेमा १८ वर्षमुनिका बालबालिका पनि छन्। पहिला वृद्ध उमेरका व्यक्ति कोरोनाबाट सिकिस्त भएर आउने गरेकोमा यसपालि युवा उमेरका पनि सिकिस्त भएर भर्ना भएका छन्।

संक्रमितमध्ये धेरैमा युके नयाँ भेरिएन्ट भाइरस देखिएको छ। ‘कोभिड पोजेटिभ देखिएकाहरूमा स्पाइक प्रोटिन नेगेटिभ देखिएको छ। यो हुनु भनेको पहिलाको कोरोनाको स्वरूपमा परिवर्तन भएको बुझिन्छ’, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले भने। अस्पतालमा सिकिस्त बिरामीको संख्या दिनहुँ बढ्दै गएपछि जोखिम बढेको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण पौडेलले बताए। पौडेलका अनुसार संक्रमित भएका बच्चाहरूमा नमुना परीक्षण गर्दा १५ प्रतिशतमा युके भेरिएन्ट देखिएको छ। लक्षण नदेखिएका बालबालिकाबाट परिवारका अन्य सदस्यमा संक्रमण हुने सम्भावना भएकाले यो समूह सुटुक्क संक्रमण सार्ने समूहमा परेको छ।  

यसअघि ५० वर्ष माथिकाहरू सिकिस्त हुने गरेकोमा यसपालि ५० प्रतिशत ५० वर्षमुनिका रहेको महाशाखाले जनाएको छ। युवा उमेरकामा संक्रमण बढी देखिनुले युवा जनसंख्यामै जोखिम बढेको महाशाखा प्रमुख पौडेल बताउँछन्। संक्रमणदरमा दैनिक वृद्धि भइरहेको अवस्थामा जोखिमस्थलहरूको व्यवस्थापन नहुनुले थप जोखिम बढेको उनको भनाइ छ।  

नेपालमा संक्रमण बढेको दुई सातापछि पनि संक्रमणका जोखिम स्थलहरू सार्वजनिक यातायात, सिनेमा, स्कुल, सभा तथा गोष्ठी, सपिङ मलहरूमा भिड नियन्त्रण नभएकाले झन् जोखिम बढेको डा. पौडेल बताउँछन्। उनका अनुसार जोखिम बढेपछि जोखिम स्थललाई नियन्त्रण गर्न सरकारलाई सुझावसमेत दिइसकेको र केही दिनमै सम्बोधन गर्ने तयारी भइरहेको छ। कोरोनाको जोखिम बढे पनि गत वर्षकै जस्तो लकडाउन गर्न सम्भव नभएको र नयाँ स्वरूपमा व्यवस्थापन गर्न सकिने डा. पौडेल बताउँछन्।

बढी जोखिम हुने रात्री क्लबहरू, डान्सबार बन्द गर्ने, विद्यालयमा भर्चुअल वा सिफ्ट कक्षा सञ्चालन गर्ने र सार्वजनिक यातायातमा आधा सिटमा मात्र यात्रु राखेर चलाउने व्यवस्थाले संक्रमणदर नियन्त्रण गर्न सकिने उनको भनाइ छ। हटस्पट पहिचान गरेर कन्ट्याक्ट ट्रेसिङ गरी परीक्षण गर्ने र संक्रमितलाई छिटो उपचारमा लिएर व्यवस्थापन गर्न सकिने सरुवा रोग अस्पतालका प्रवक्ता डा. बास्तोलाको सुझाव छ। संक्रमण दर बढेपछि सरकारले स्कुल, निजी कार्यालय, सार्वजनिक यातायात, रेस्टुराँ तथा अन्य सेवाप्रवाही निकायलाई अनिवार्य रूपमा जनस्वास्थ्यको मापदण्ड पालना गर्न गराउन निर्देशन दिने तयारी भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। विद्यालयमा जनस्वास्थ्यको मापदण्ड पालना गर्न नसक्ने बिद्यालयलाई बन्द गरी अन्य माध्यमबाट पढाउनुपर्नेछ।  

नेपाल प्रवेश गरेका यात्रुहरूको सीमामै परीक्षण गर्ने र नेगेटिभ देखिएकालाई १० दिनसम्म मास्क लगाउन सरकारले नै मास्क दिएर पठाउने, एन्टिजेन तथा आरटिपिसिआर परीक्षणको दायरा बढाउने तयारी भइरहेको र अस्पतालहरूमा संक्रमितको उपचार व्यवस्थापन तयारी अवस्थामा रहेको गौतमले बताए। ‘खोप लिएका स्वास्थ्यकर्मी उपचारको लागि तयारी अवस्थामा छन्’, उनले भने।

प्रकाशित: ३० चैत्र २०७७ ०२:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App