१५ श्रावण २०८३ शुक्रबार
image/svg+xml
समाज

रेविज लागेर काठमाडौंमा ४८ वर्षीय पुरुषको मृत्यु

सांकेतिक तस्बिर।

रेविज लागेर काठमाडौं चन्द्रागिरीका वडा नम्बर १ का ४८ वर्षीय पुरुषको मृत्यु भएको छ।

गत शुक्रबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका उनको उपचारकै क्रममा शनिबार मृत्यु भएको हो।  

अस्पतालका सरुवा रोग विशेषज्ञ तथा अनुसन्धान शाखाका संयोजक डा. शेर बहादुर पुनको अनुसार उनलाई दुई/तीन महिना सामुदायिक कुकुरले टोकेको थियो।

तीन महिना अघि भारत  गएको बेला कुकुरले टोकेको तर उनले खोप नलिएको कारण  मृत्यु भएको अस्पतालको मेडिकल रेकर्ड शाखाले जानकारी दिएको छ।

उनमा रेविज पुष्टि भएपछि हेरचाहमा खटिएका अन्य सदस्यलाई पनि रेविज विरुद्धको खोप दिइएको टेकु अस्पतालले जनाएको छ।

सन् २०२६ सुरु भएदेखि यता ६ महिनाको अवधिमा मात्र पाँच जना रेविज सङ्क्रमित अस्पताल आएका थिए। उपचारका लागि आएका  पर्साका दुई जना, खोटाङका एक जना, नुवाकोटका एक जनाको उपचारको क्रममा मृत्यु भएको रेकर्ड शाखाले जानकारी दिएको छ।

जुन कुकुरले टोके पनि रेविजविरुद्धको खोप लगाउनु पर्ने डा. पुनले बताए। उनको अनुसार नेपालमा बर्सेनि रेविज लागेर मृत्यु हुनेको सङ्ख्या धेरै छ।

रेविज लागेपछि धेरै मृत्यु बाटैमा हुने भएकोले सबै तथ्याकं अस्पतालमा नहुने उनले बताए। रेविज लागेपछि सय प्रतिशत मृत्यु हुने भएकोले जुनसुकै कुकुरले टोकेमा पनि रेविज विरुद्धको खोप लगाएमा यस्तो डरलाग्दो रोगबाट बच्न सकिने उनले सुझाए।

‘अहिले पनि राजधानीकै मानिसले समेत कुकुरले टोकेको बेवास्ता गर्नु सामान्य विषय हैन’उनले भने। दुर्गमका मानिसमा मात्र नभई राजधानी जस्तो केन्द्रमा समेत अहिले पनि कुकुरले टोकेपछि रेविज लाग्छ र रेविज लागेपछि सय प्रतिशत मृत्यु हुन्छ भन्ने बारेमा सबै जनतालाई थाहा नभएकोले थप जनचेतनाको आवश्यकता रहेको उनले बताए।

चिकित्सकको अनुसार नेपालमा प्रति वर्ष एक सय जना औसत रेविजको कारणले मृत्यु हुने गरेको अनुमानित तथ्यांक रहे पनि सबै घटना स्वास्थ्य संस्थामा नपुग्ने भएकोले यकिन तथ्यांक सङ्कलन भएको हुँदैन।

इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखा जुनोटिक शाखाका अनुसार नेपालमा गत आर्थिक वर्षमा २ लाख २१ हजार जनालाई कुकुर तथा अन्य जङ्गली जनावरले टोकेको तथ्यांक छ। टेकु अस्पताल वरपरबाट सङ्कलन भएको तथ्यांक अनुसार १३ जनाको रेविज लागेर मृत्यु भएको थियो।

नेपालमा विद्यमान रेबिजको समस्या न्यूनीकरण गर्न स्थानीय सरकारले समुदायका कुकुर व्यवस्थापन र अन्य व्यवस्थापनमा ध्यान दिनु पर्ने, समुदायका  कुकरुलाई पनि रेविज विरुद्धको खोप लगाइदिने र रेविजको विषयमा थप जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेमा नेपालमा रेविज सङ्क्रमण अन्त्य गर्न सकिने  इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. अनुज भट्टचनले सुझाउँछन्।

प्रकाशित: ९ असार २०८३ १७:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App