२३ भाद्र २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

मुखको क्यान्सर फैलाउँदै चुरोटखैनी

झापा शनिश्चरेका ७० वर्षीय कपिलमणि बास्तोला चार महिनाअघि बिस्तारै आवाज निस्कन छोड्यो । उनी सुरुमा भरतपुर क्यान्सर अस्पताल पुगे । त्यहाँ घाँटीको क्यान्सर भएको चिकित्सकले पत्ता लगाए । टाढाको उपचार उनका लागि जटिल समस्या बन्यो । यही एक महिनापछि पूर्वाञ्चल क्यान्सर अस्पताल पुगे । अस्पतालले उनको घाँटीको ट्युमरको शल्यक्रिया गरे र कृत्रिम पाइप राखिदिए । किमोथेरापी तथा रेडियोथेरापी दिए । चारदिनदेखि मात्र उनको आवाज आउन थाल्यो । बोली खुलेपछि उनलाई अहिले नयाँ जीवन पाएको अनुभूति भएको छ ।

बास्कोटाले आफू २५ वर्षको उमेरमै रक्सी, चुरोट, खैनी, पानलगायत सेवन गर्न थालेको बताए । यो हिसाबले उनले ५५ वर्ष धुमपान–मध्यपान गरेका हुन् । उनलाई चिकित्सकले चुरोटखैनीको सेवनको कारण क्यान्सर भएको बताएका छन् । चिकित्सकले यस्तो भनेपछि उनी झसंग भए । ‘यो दिन भोग्नुपर्ला भनेको थाहा पाएको भए मैले चुरोट, खैनी, गुट्खा खाने नै थिइनँ,’ उनले पश्चात्ताप गर्दै भने । चार महिनामा उपचार खर्च मात्रै पाँच लाख नाघिसकेको बास्तोलाले बताए ।

अस्पतालमै उपचारार्थ झापा हल्दीबारीका ६५ वर्षीय विष्णुकुमार चाम्लिङ पनि यतिखेर सोही अस्पतालको वार्डमा छटपटाइरहेका छन् । उनको ओठ र घाँटीमा क्यान्सर फैलिएपछि बोली बन्द भएको छ । एक वर्षअघि जिब्रोमुनि सानो घाउ देखिएपछि उपचारका लागि बिएन्डसी अस्पताल पुगे । सुरुमा पूर्वाञ्चल क्यान्सर अस्पताल थिएन । बिएन्डसीमै घाउको शल्यक्रिया गरे । त्यसपछि घाउ फेरि पलायो । चिकित्सकले क्यान्सरको जाँच गरे । नभन्दै त्यही देखियो । लगत्तै भरतपुर अस्पताल रेफर गरियो । कोरोनाका कारण लकडाउन भयो । उपचारका लागि कतै जान मन गरेनन् । अहिले उनको घाउ बढेर मुखभरि फैलिएको छ ।  

घाउ फैलिएपछि उनी पुर्वाञ्चल क्यान्सर अस्पतालमा उपचारका लागि आए । चिकित्सकका अनुसार उनको क्यान्सर तेस्रो तहमा फैलिसकेको छ । उनको हेरचाहमा खटिएका आफन्तका अनुसार उनले सानैदेखि सुर्ती, चुरोट र रक्सी नियमित सेवन गर्थे । चाम्लिङलाई सुर्ति चुरोटको सेवनले क्यान्सर हुन्छ भन्ने थाहा थिएन । उनको श्वासको नलीमा घाउ फैलिएर श्वासनली बन्द भएको छ । यो अवधिमा उपचारका क्रममा ४ लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको चाम्लिङले बताए ।  

उनलाई पनि चिकित्सकले धुमपानकै कारण मुख तथा घाँटीको क्यान्सर भएको बताएका छन् । उनको उपचारमा संलग्न चिकित्सक तथा अस्पतालका मेडिकल निर्देशक डा. वीरेन्द्रकुमार यादव भन्छन्, ‘मुख्य कुरा चुरोट, गुट्खा र खैनी खाँदा मुख तथा घाँटीको क्यान्सर हुन्छ ।’ डा. यादवका अनुसार नियमित रूपमा प्रयोग हुने चुरोट तथा खैनीको सेवनले मुखभित्रका कोषहरूमा आक्रमण गर्दा क्यान्सर भएको हो । चिकित्सकका अनुसार कुनै खैनी, गुट्खा, चुरोट र रक्सी नियमित सेवन गर्ने व्यक्तिलाई सेवन गरेको मात्रा अनुसार छोटो या लामो अवधिमा मुख, घाँटी तथा श्वास नलीको क्यान्सर हुन्छ । नेपालमा धुमपान तथा मध्यपानको कारण मुख तथा घाँटी क्यान्सर रोगी बढिरहेका छन् । फोक्सो र स्तनपछि नेपालमा मुख तथा घाँटीको क्यान्सर तेस्रो स्थानमा पर्छ ।  

अध्ययनअनुसार भारत तथा नेपालमा पान, गुट्खा, खैनी, चुरोट, सुपारी, पान, रक्सीलगायत पदार्थको लामो समयको प्रयोगका कारण मुख तथा घाँटीको क्यान्सर बढी मात्रामा हुने गरेको देखिन्छ । एक वर्षभरि आएका बिरामीहरूमा क्यान्सर सर्वेक्षण गर्दा १५ देखि २० प्रतिशतमा मुख तथा घाँटीको क्यान्सर पहिचान भएको अस्पतालले जनाएको छ । गत वर्ष तीन बहिरंग विभागमा पहिचान भएका ३ हजार क्यान्सरका बिरामीमध्ये ३ सय जना मुख तथा घाँटीको क्यान्सरको रहेको निर्देशक डा. वीरेन्द्रकुमार यादव बताउँछन् ।  

चिकित्सकका अनुसार सुरुकै अवस्थामा पहिचान गर्न सके यी भागका क्यान्सरको उपचार हुन्छ । तर उपचारमा आउने बिरामी प्रायः दोस्रो र तेस्रो चरणका बढी छन् । मुखमा घाउ आउनु, दाँत हल्लिनु, गिजा सुन्निनु, मुखबाट रगत आउनु, खाना चपाउन गाह्रो हुनु, खाना निल्न गाह्रो हुनु, आवाजमा परिवर्तन हुनुजस्ता लक्षण देखिन्छन् ।  

झापा जिल्लाका मानिसमा एकैपटक धेरैथरीका धुमपान गर्ने बानी भएकाले उनीहरूमा मुख तथा घाँटीको क्यान्सर भएको पाइएको अस्पतालका जनसम्पर्क अधिकृत प्रमेशकुमार गिरी बताउँछन् । उनी भन्छन्, ‘यहाँ एउटै व्यक्तिले सुपारी, पान, गुट्खा, खैनी खाने गरेको पाइएको छ । त्यो ज्यादै खतरनाक छ ।’

प्रकाशित: २८ फाल्गुन २०७७ ०२:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App