१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

बेनी अस्पतालमा ‘अक्सिजन प्लान्ट’ सञ्चालन

म्याग्दीको बेनी अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्ट । तस्बिरः नागरिक

बेनी अस्पतालमा पहिलोपटक उपकरणको सहायताबाट अक्सिजन उत्पादन गर्न थालिएको छ । बिरामीलाई आवश्यक पर्ने अक्सिजन उत्पादन सुरु भएसँगै अक्सिजनका लागि जिल्ला बाहिर जानुपर्ने समस्याको अन्त्य भएको छ ।

गण्डकी प्रदेश सरकार, सांसद विकास कोष र बेनी अस्पतालबाट कुल ६२ लाख रुपैयाँ लागतमा जडान गरिएको उक्त प्लान्टको उत्पादन क्षमता १६ सिलिण्डरसम्म रहेको भएपनि तत्काल सानो ठूलो गरी १२ सिलिण्डरसम्म उत्पादन हुने बेनी अस्पतालका अध्यक्ष बेलबहादुर कटुवालले बताए । ‘अब अक्सिजन भर्नकै लागि सिलिण्डर लिएर पोखरा जानु पर्दैन, । आवश्यकता अनुसारको उत्पादन गरी बिरामीले घरमै सेवा लिन पाउँछन्,’ अध्यक्ष कटुवालले भने ।  

प्लान्टका लागि गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयबाट कुल ७५ लाख, सांसद भुपेन्द्रबहादुर थापाले १४ लाख, बेनी अस्पतालले उपकरण तथा भवनमा ५ लाख रुपैयाँ खर्च बिनियोजन गरेको थियो । प्लान्टबाट तत्काललाई सिलिण्डर र नयाँ भवन बनेसँगै बिरामीको बेडसम्म पाइपबाटै अक्सिजन पु¥याउने अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेण्ट डा. जितेन्द्र कँडेलले बताए ।  

‘अस्पतालमा आवश्यक परेको बाहेक बिरामीको माग अनुसार उत्पादन गर्न सकिन्छ, दुर्गम क्षेत्रमा नियमित अक्सिजन चाहिने बिरामीलाई धेरै सहज हुन्छ,’ डा. कँडेलले भने । चिसोयाममा अक्सिजनको अत्यधिक खपत हुने गरेको र आइसियू, इर्मेजेन्सी, नियमित बिरामीलाई सहज सेवा प्रदान गर्न सकिने डा. कँडेलले बताए । प्लान्टबाट उत्पादित अक्सिजन पाइपका माध्यमबाट सिधै शैयासम्म पु¥याउन प्रदेश सरकारले थप १० लाख रुपैयँ व्यवस्था गरेको छ ।  

अक्सिजन खरिद गर्ने पैसाले प्लान्ट नै निर्माण गर्न सकिने भएकाले प्रदेश सरकारसँग बजेट माग गरिएको थियो । म्याग्दी र छिमेकी पर्वत जिल्लाबाट दैनिक दमका बिरामी अक्सिजनको खोजीमा अस्पतालमा आउने गरेको अवस्थामा अब घरमै सिलिण्डर लैजाने गरी थप ब्यवस्थापन गरिने अस्पतालले जनाएको छ । पछिल्लो समय बेनी अस्पतालमा सुविधासम्पन्न बनाउन पूर्वाधार थप गर्न थालिएको छ ।  

१५ बाट ५० शैया क्षमतामा स्तरोन्नती भएको अस्पतालमा मिर्गौलाका बिरामीका लागि नियमित डायलासिस सेवा, भेन्टिलेटिर सहितको सघन उपचार कक्ष, उपचारमा प्रयोग हुने औजार, शवराख्ने मर्चरी प्लान्ट, फोहोर व्यवस्थापन लगायतका संरचनाहरु समेत तयार गरिएको छ ।

प्रकाशित: १४ पुस २०७७ ०७:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App