१६ चैत्र २०८० शुक्रबार
स्वास्थ्य

अक्सफोर्ड खोप ७० प्रतिशत सफल

बेलायतको अक्सफोर्ड विश्व विद्यालय र औषधी निर्माता कम्पनी अष्ट्राजेनेकाद्वारा निर्माण भैरहेको कोरोना भाइरसविरुद्धको खोप ७० प्रतिशत सफल देखिएको छ। खोप निर्माता दुई निकायका अनुसार बृद्धबृद्धासहित विभिन्न उमेर समुहमा यो खोप प्रभावकारी देखिएको उसले दाबी गरेको हो। यसअघि अमेरिकाका फाइजर, मोर्डना र रुसको स्पुटनिक–भी खोपले आफ्नो प्रभावकारिता ९० प्रतिशत भन्दामाथि भएको दाबी गरिसकेका छन्। बेलायती दैनिक गार्जियनका अनुसार परिक्षणमा सहभागी रहेका ७० दशमलव ४ प्रतिशतलाई रोग लाग्नबाट जोगाउन खोप सफल देखिएको छ। थोरै डोज (मात्रा) प्रयोग गरिएको खण्डमा खोप ९० प्रतिशतसम्म सफल रहेको पनि दाबी गरिएकोछ। ‘आजको घोषणाले हामीलाई कोभिड–१९को महामारी अन्तको नजिक पुर्याएकोछ र हामी यो नियमक निकायसमक्ष खोपको प्रभावकारितका तथ्यांक प्रस्तुत गर्नेछौ,’ विश्व विद्यालयका प्राध्यापक सराह गिलवर्टले भनेकी छन्।

विश्व विद्यालयका अनुसार तेस्रो चरणको परीक्षणको क्रममा दुई फरक प्रकारका डोज (मात्रा) दिइएका समूहको नतिजालाई समीक्षा गरिएको थियो। एक समूहमा यो ९० प्रतिशत र अर्काे समुहमा यो ६२ प्रतिशत प्रभावकारी देखिएको थियो। ९० प्रतिशत प्रभावकारी देखिएको समूहका सहभागीलाई सुरुमा खोपको आधा डोज(मात्रा) मात्र दिइएको थियो भने त्यसपछि खोपको पूरा डोज दिइएको थियो। परीक्षणका क्रममा खोप लगाएका र कन्ट्रोल ग्रुपमा रहेका सहभागीमध्ये कुल १ सय ३१ जनामा संक्रमण देखिएको थियो।

बेलायतले यो खोपको १० करोड डोज खरिद गर्ने तय भैसकेकोछ। खोपले अनुमोदन प्राप्त गरेमा आगामी केही सातामा यो खोप कार्यान्वयनको चरणमा जानेछ। यसैगरी अष्ट्रेलियाले ३ करोड ३८ लाख डोज खरिद गर्ने सम्झौता गरिसकेको छ। बिबिसीका अनुसार परीक्षणमा २० हजार स्वयंमसेवीहरु सहभागी रहेका थिए। तीमध्ये आधा बेलायतकका र अन्य ब्राजिलका रहेका छन्।

अमेरिकी कम्पनी फाइजर र मोर्डनाले झण्डै ९५ प्रतिशत प्रभावकारी दाबी गरेको पृष्ठभुमिमा अक्सफोर्डको नजिता त्यति सन्तोषजनक नभएको देखिएकोछ तर प्रभावकारीतामा ५० प्रतिशतभन्दा माथिका लागि स्वीकार गरिने भएका कारण यो नतिजा सन्तोषजनक रहेको बिबिसीले जनाएको छ।

प्रकाशित: ९ मंसिर २०७७ ०२:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App