coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

‘स्वास्थ्य क्षेत्र नसुधारे विपन्न मारमा परिरहन्छन्’

डा. शरद वन्त, जनस्वास्थ्य विज्ञ

कुनै देश कति समृद्ध छ भन्ने त्यहाँको शिक्षा र स्वास्थ्य क्षेत्रलाई हेरेर मापन गरिन्छ। हामीकहाँ यो क्षेत्र निकै हेपिएको छ। स्वास्थ्य सेवाका हिसाबले आज पनि राणाकालकै जस्तो संरचना र मानसिकता छ। स्वास्थ्यमा राज्यले गर्ने लगानी अपर्याप्त छ। स्वास्थ्यका धेरै मुद्दा निजी क्षेत्रबाट ‘डिल’ भइरहेका छन्।

नेपालको स्वास्थ्य क्षेत्रमा आधाभन्दा बढी भूमिका निजी अस्पतालको छ। अलि राम्रा डाक्टर र विशेषज्ञ निजी अस्पतालमै काम गर्छन्। सरकारले संरचना पनि राम्रा बनाउन सकेन र राम्रा डाक्टरलाई सरकारी अस्पतालमा काम गर्ने वातावरण पनि बनाउन जानेन। यस्तो अवस्थामा सरकारी अस्पतालबाट कसरी राम्रो उपचार सेवा पाउनु रु

सरकारी स्वास्थ्य सेवा दुरवस्थामै छ। आफ्नै देशमा भएका राम्रा डाक्टरलाई विदेश पठाउने र यहाँको स्वास्थ्य सेवा निजी क्षेत्रलाई जिम्मा दिने काम सरकारी तहबाटै भएको छ। सरकार नागरिकको स्वास्थ्यप्रति सचेत हुन्थ्यो भने यो हविगत हुने थिएन। बिरामीको चाप निजी अस्पतालमा छ, पैसा हुनेहरू निजी अस्पताल नै रोज्छन्। सरकारी अस्पताल गरिब र निमुखाका लागि मात्रै हो भनेजस्तो छ। तिनै निमुखा र गरिबले उपचार गराउने सरकारी अस्पताल जीर्ण छन्।

सरकारी अस्पतालको अर्को कथा त्यहाँ काम गर्ने डाक्टरले सरकारीमा भन्दा निजीमा ज्यादा समय बिताइरहेका छन्। डाक्टर नबस्ने र राम्रो उपचार नपाउने भएपछि सरकारी अस्पतालमा बिरामीको संख्या न्यून छ। तिनैले पनि राम्रो उपचार सेवा पाउँदैनन्।

स्वास्थ्य सेवा निजी अस्पतालमा केन्द्रित हुनुको कारण भनेकै सरकारले राम्रो स्वास्थ्य सेवा दिन नसक्नु हो। विपन्नले सामान्य शल्यक्रिया गर्न पनि वर्ष, दुई वर्ष कुर्नुपर्ने अवस्था छ। सरकारले जबसम्म सरकारी स्वास्थ्य सेवा सुधारको काम गर्दैन, तबसम्म विपन्न वर्ग यसैगरी मारमा परिरहन्छ। सरकारी स्वास्थ्य संस्था बलियो बनाउने, वैकल्पिक रूपमा मात्र निजीलाई राख्ने, ठूला रोगको उपचार निःशुल्क गराउने, डाक्टरलाई राम्रो सुविधा दिने हो भने स्वास्थ्य क्षेत्र सुधार्न सकिन्छ।

सरकारी अस्पतालमा अझै पनि नागरिकको स्वास्थ्यलाई सम्बोधन गर्न पर्याप्त संरचना बनेका छैनन्। सानो उपचारका लागि पनि लामो लाइनमा बस्नुपर्छ। जबकि, त्यही उपचार पैसा तिरेपछि निजी अस्पतालमा क्षणभरमै हुन्छ।

सरकारी स्वास्थ्य सेवामा लगानी कम हुनु प्रमुख समस्या हो। अहिले काठमाडौंमा कान्तिबाहेक अर्को बाल अस्पताल छैन। हामीले थाहा पाएदेखि त्यही एउटा प्रसूति गृह थियो, अहिले पनि छ। जनसंख्या वृद्धि भइरहँदा स्वास्थ्य पूर्वाधार र संरचना वृद्धि भएको छैन।

लगानी नै नभएपछि स्वास्थ्य सेवामा सुधार हुँदैन। त्यसकारण सरकारले अब स्वास्थ्यमा लगानी बढाउनुपर्छ। बलियो स्वास्थ्य क्षेत्र कति आवश्यक हुन्छ भन्ने यो महामारीले पनि देखाएको छ। अब पनि स्वास्थ्य क्षेत्रमा सुधार भएन भने यसका लागि राजनीतिक विकल्प खोज्नुपर्ने अवस्था पनि आउन सक्छ।
(वार्तामा आधारित)

प्रकाशित: २२ आश्विन २०७७ ०१:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App