coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

के नेपालमा देखिएको कोरोना भाइरस अरु देशको भन्दा फरक छ ?

भाइरसको वंशाणुगत संरचना पत्ता लगाउन अध्ययन

संसद्मा बोल्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ६ गते भनेका थिए, ‘वुहानबाट संक्रमण भएर आएको अलि नरम देखिएको थियो । इटालीबाट आएको पनि अलि नरमै देखिएको थियो । दुबईबाट आएको पनि अलि नरमै देखिएको थियो । तर भारतबाट आएको चाहिँ अलि कडा भाइरस देखिएको छ ।’ प्रधानमन्त्री ओलीको यो भनाइ वैज्ञानिक तथ्य नभई व्यक्तिगत आकलन थियो । यो भनाइ सार्वजनिक भएपछि नेपालमा भन्दा पनि भारतीय सञ्चारमाध्यममा निकै टीकाटिप्पणी भएको थियो ।  

प्रधानमन्त्रीले संसद्मा बोलेको झन्डै ३ महिनापछि र नेपालमा भाइरस संक्रमण देखिएको ७ महिनापछि यो संक्रामक भाइरसको वंशाणुगत संरचनाबारे अध्ययन सुरु भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अगुवाइमा हुन लागेको यो अध्ययनबाट नेपालमा आइपुग्दासम्म कोरोना भाइरसमा उत्परिवर्तन भएनभएको तथा विश्वका अन्य स्थानमा देखिएका कोरोना भाइरसका नातेदारको वंशाणुगत उपक्रम (जेनेटिक सिक्वेन्स) सँग नेपालमा पाइने भाइरस फरक भएनभएको पत्ता लाग्नेछ । यो अध्ययनले नेपालमा महामारी सुरु भएयता भाइरसको वंशाणुगत पहिचानमा भएको परिवर्तनलाई हेर्नेछ । सुरुमा यो अध्ययन काठमाडौं विश्वविद्यालयको प्रयोगशालाले गर्ने भनिएको थियो । तर विश्वविद्यालयले आवश्यक मेसिन र रसायन समयमै ल्याउन नसकेपछि इन्ट्रेपिड डायगोनोस्टिक सेन्टरले अध्ययन सुरु गरेको हो । सेन्टरले ‘नेक्स्ट जेनेरेसन सिक्वेन्सिङ’ प्रविधिमार्फत भाइरस वंशाणुको सम्पूर्ण जानकारी उपलब्ध गराउनेछ । वंशाणुगत उपक्रमको नतिजा तुलना गरेर वैज्ञानिकले भाइरसमा उत्परिवर्तन भएनभएको पत्ता लगाउनेछन् ।

‘हामीलाई १५ स्याम्पलको नतिजा अध्ययन गर्न ३ साता दिइएको छ । अध्ययन सुरु भइसकेको छ’, सेन्टरका डा. समीरमणि दीक्षितले भने । यो अध्ययनअन्तर्गत विभिन्न देशबाट आएका, विभिन्न भूगोल र संक्रमणका हिसाबले ‘हटस्पट’ मानिएका स्थान, संक्रमणका विभिन्न तहका, लक्षण देखिएका तथा नदेखिएका, उमेर तथा लिंगका आधारमा फरकफरक बिरामीको स्वाबको अध्ययन गरिनेछ ।

‘यस्तो अध्ययन सामान्यतया तुलनात्मक हिसाबले गरिन्छ । भाइरसको वंशाणुगत उत्परिवर्तन अध्ययन गर्न यी नमुना पर्याप्त छन्,’ परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा. मेघनाथ धिमालले भने । विश्वमा भएका विभिन्न अध्ययनले कोभिड–१९ महामारी सुरु भएयता भाइरसको वंशाणुगत उपक्रममा परिवर्तन आएको देखाएका छन् । यस्तो बदलावपछि भाइरसको संक्रामक क्षमतामा समेत परिवर्तन भएको देखिएको छ । परिषद्का सदस्यसचिव डा. प्रदीप ज्ञवालीले अध्ययनको प्रारम्भिक चरणको नतिजा आएपछि थप सय नमुनाको विश्लेषण गरिने बताए । कुन देशबाट आएको भाइरसको संक्रमण अत्यधिक छ भनेर यकिन गर्न अध्ययनले सहयोग गर्ने उनको भनाइ छ । ‘अध्ययनले भारतबाट आएको भाइरस कडा भएनभएको पत्ता लगाउन सहयोग गर्नेछ’, उनले भने ।  

यो अध्ययन नेपालका लागि कोरोनाविरुद्ध कस्तो खालको खोप उपयुक्त हुन्छ भनेर थाहा पाउन पनि सहयोगी हुने परिषद्को दाबी छ ।  

खोपमा सामान्यतया रोगको जीवाणु तथा उस्तै प्रकारका रोगको जीवाणुसँग मिल्ने एक अथवा धेरै ‘एन्टीजेन’ राखिएको हुन्छ जसले खास रोगका लागि प्रतिरोधी क्षमता विकास गर्न सहयोग पु¥याउँछ ।  

अध्ययनको नतिजाले नेपालमा हाल भाइरसको परीक्षण गर्न प्रयोग हुँदै आएको ‘आरटी–पिसिआर’ विधिमा प्रयोग भएको रसायन ‘रिएजेन्ट’ सही भएनभएको समेत जानकारी दिनेछ । ‘आरटी–पिसिआर रिएजेन्टले भाइरसका विभिन्न रूप अर्थात् ‘स्ट्रेन’ लाई फरकफरक प्रतिक्रिया दिने भएकाले नेपालमा पाइने भाइरसको पहिचान भएपछि परीक्षण गर्दा हुने जोखिम घट्नेछ’, परिषद्का वरिष्ठ अनुसन्धानकर्ता डा. धिमाल भन्छन् ।  

नेपालमा निको भएका व्यक्तिको रगतमा रहेको प्लाज्मा प्रयोग गरी उपचार गर्ने विधि ‘प्लाज्मा थेरापी’ समेत सुरु भएको सन्दर्भमा अध्ययनको नतिजा कस्तो खाले ‘एन्टीबडी’ अर्थात् प्रतिरोधी क्षमता भएको ‘प्लाज्मा’ खास बिरामीलाई दिँदा उपयुक्त हुन्छ भनेर थाहा पाउन पनि सहयोगी हुनेछ ।

केही विज्ञले भने अनुसन्धानका लागि मात्र १५ नमुना अपर्याप्त रहेको बताएका छन् । ‘अध्ययनको दायरा र महत्वको हिसाबले सीमित नमुना प्रतिनिधिमूलक हुन सक्दैनन्,’ त्रिभुवन विश्वविद्यालयका माइक्रोबायोलोजी विषयका प्राध्यापक डा. प्रकाश घिमिरे भन्छन् । उनले चीनमा गरिएका अध्ययनले त्यहाँ भाइरसका ४२ वटा उत्परिवर्तित रूप रहेको देखाएको समेत बताए । तर अध्ययनमा संलग्न डा. दीक्षित भने यस्तो आधारभूत अध्ययनमा नमुनाको संख्या उति महत्वपूर्ण नहुने तर्क गर्छन् । ‘यी नमुना पर्याप्त छन् र यसको नतिजा प्रतिनिधिमूलक नै रहनेछ,’ उनी भन्छन् ।

प्रकाशित: २८ श्रावण २०७७ ०१:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App