coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

यसकारण कोरोना महामारी आयो : संयुक्त राष्ट्र संघ

तस्बिर : एएफपी

वन तथा वन्यजन्तु विनास गर्ने क्रम नरोक्ने हो भने मानव समुदायले कोरोरनाजस्ता अन्य खतरनाक महामारी भोग्नुपर्ने संयुक्त राष्ट्र संघका विज्ञले चेतावनी दिएका छन् ।  

राष्ट्र संघको वातावरण कार्यक्रम तथा अन्तर्राष्ट्रिय पशुसेवा अनुसन्धान संस्थानको एक प्रतिवेदनअनुसार पर्यावरणमा क्षति पुग्ने, प्रकृतिको दोहन तथा जलवायु परिवर्तन हुने तथा जंगली जनावरलाई उत्पीडन गर्ने मानव गतिविधिकै कारण कोरोनाजस्तो खतरनाक संक्रमण फैलिएको हो ।  

राष्ट्र संघका विज्ञका अनुसार पछिल्ला केही वर्षयता पशुपन्छीमा लाग्ने रोग मानिसमा बढ्दै गएको छ । जसलाई विज्ञानको भाषामा जुनोटिक रोग भनिन्छ ।  

यसकारण वातावरण तथा वन्यजन्तु बचाउनेतर्फ मानिस लागेनन् भने कोरोनाजस्ता खतरनाक अन्य रोगको पनि मानिसले सामना गर्नुपर्ने अवस्था आउनेछ ।  

राष्ट्र संघको एक प्रतिवेदनअनुसार प्रोटिन प्राप्तिका लागि मानिसले जनावर मारेर मासु खाने गरेका छन्, त्यसैको भयावह परिणाम मानिसले भोग्नुपरिरहेको छ ।  

विशेषज्ञका अनुसार जनावरबाट सर्ने विभिन्न रोगका कारण विश्वमा बर्सेनि २० लाख मानिस मर्ने गरेका छन् । पछिल्ला केही वर्षयता मानिसमा जुनोटिक (पशुपन्छीबाट सर्ने) रोग बढिरहेका छन् । इबोला, बर्डफ्लु, सार्सजस्ता यही श्रेणीमा पर्छन् । पहिले यी रोग पशुपन्छीलाई मात्रै लाग्थे, तर अहिले यसको सिकार मान्छे भइरहेका छन् ।  

राष्ट्र संघको प्रतिवेदनमा भनिएको छ– यस्ता रोग मानिसमा बढ्नुमा मानिस स्वयं जिम्मेवार छ ।  

राष्ट्र संघको वातावरणसम्बन्धी कार्यक्रमका कार्यकारी निर्देशक इन्गर एन्डर्सनका अनुसार पछिल्ला सय वर्षयता कम्तीमा ६ प्रकारका खतरनाक नयाँ भाइरस (संक्रमण) मानव समुदायले भोगिसकेको छ ।  

उनले भनेका छन्, ‘मध्यम र निम्न आय भएका देशमा हरेक वर्ष २० लाख मानिस ग्रन्थीसम्बन्धी, पशुचौपायाबाट हुने टिबी तथा रेबिजजस्ता जुनोटिक रोगबाट मर्ने गरेका छन् । यति मात्र होइन, यसबाट कैयौं आर्थिक हानि पनि हुने गरेको छ ।’  

उनका अनुसार पछिल्लो ५० वर्षमा मासु उत्पादन २६० प्रतिशत बढेको छ । कुनै समुदाय यस्तो छ, जो घरपालुवा वा जंगली जनावरमा निर्भर छन् । हामी खेती बढाइरहेका छौं र प्रकृति नष्ट गरिरहेका छौं । हामी वन्यजन्तुको वासस्थान मासिरहेका छौं र तिनलाई मारिरहेका छौं ।  

उक्त प्रतिवेदनमा समस्या मात्र प्रस्तुत गरिएको छैन, आगामी दिनमा यस्ता महामारीबाट बच्न के गर्नुपर्छ भन्ने सल्लाह पनि विश्वका सरकारलाई दिइएको छ । त्यसका लागि पर्यावरणमा कम क्षति तथा जैविक विविधता संरक्षण हुने खालका खेतीपाती विस्तारमा जोड दिन विशेषज्ञले सुझाव दिएका छन् ।  

एन्डर्सन भन्छन्, ‘विज्ञानले प्रस्टसँग भनेको छ कि हामी इकोसिस्टममा खेलबाड गरिरहन्छौं, जीवजन्तु मारिरहन्छौं भने आगामी दिनमा पशुपन्छीबाट मानिसमा सर्ने रोग अझ बढ्नेछ ।’

उनका अनुसार भविष्यमा कोरोना भाइरसजस्तो खतरनाक रोग नआओस् भन्नाका लागि मानिसले वातावरण तथा वन्यजन्तु संरक्षणमा जोड दिन जरुरी छ । बिबिसी

प्रकाशित: २३ असार २०७७ १०:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App