५ वैशाख २०८१ बुधबार
स्वास्थ्य

घरमै गरौं योगा र व्यायाम

विश्वभर फैलिएको कोरोना भाइरस ( कोभिड १९) नेपालमा पनि फैलिन नदिन देश नै लकडाउन भएसँगै मानिसहरु शरीर मेन्टेन गर्न जिम, जुम्बा, एरोबिक , फिटनेसका लागि बाहिर निस्कन पाएका छैनन् । 

धेरै दिनसम्म घरमै बस्दा आफ्नो शरीर मेनटेनमा असर पुग्ने पो हो कि भन्नेमा धेरैलाई चिन्ता छ । त्यस्तै स्वस्थ शरीरका निम्ति नियमित रुपमा व्यायाम गर्न बाहिरनेहरुलाई पनि लामो घरमै बस्दा शरीरमा थप अरु समस्या देखिएला भन्नेमा चिन्ता लागेको छ ।  

बनेपाकी रजिना श्रेष्ठ, बिहानको ६ नबज्दै एरोबिक सेन्टर पुग्छिन् । स्वस्थ शरीरको लागि एरोबिकमा पुग्नु उनको दिनचर्या बनेको छ । कोरोना रोकथामका लागि देश लकडाउन भए पनि नियमित रुपमा उनले गर्ने जुम्बा र एरोबिक भने रोकिएको छैन । ‘यो समयमा हामी घरमा बस्दा हामीले हाम्रो स्वास्थयलाई पनि विशेष ध्यान दिनुपर्छ,’ उनले भनिन्,‘यो हामीले एउटा सानो कोठामा बसेर एक्लै पनि गर्न मिल्छ । 

हामीले जुम्बा र एरोबिक सेन्टरमा सिकेको कुरा अहिले परिवारलाई पनि सिकाउने यो अवसर मिलेको छ ।’ उनका अनुसार जुम्बा र एरोबिकले हाम्रो शरीरलाई स्वस्थ बनाउनुको साथै रोग लाग्नबाट बचाउन मद्दत गर्छ ।

बानेश्वरका ४३ वर्षीय सम्पूर्ण श्रेष्ठ, आफ्नो उच्च रक्तचापलाई नियन्त्रण गर्न नियमित रुपमा मर्निङवाक गर्न बाहिरिन्थे । तर देश लकडाउन भएसँगै मर्निङ वाक गर्न बाहिरन पारुएका छैनन् । 

‘मर्निङ वाक गर्दा, माइन्ड र शरीर दुवै फ्रेस हुन्थे,’ उनले भने, ‘तर अहिले हामी बाहिर निस्किन पाएका छैनौं । आफ्नो स्वास्थ्यको ख्याल गर्दै उच्च रक्तचाप मेनटेन गर्न खानपिनमा विशेष ध्यान दिने गरेको छु ।’

चाबहिलका गणेशबहादुर लामा स्वस्थ शरीरका लागि शारीरिक व्यायाम गर्न पशुपतिसम्म पुग्ने गर्थे । तर केही दिनदेखि उनको व्यायाम गर्ने कार्यतालिका परिर्वतन भएको छ । 

पशुपतिसम्म पुगेर गर्ने शारीरिक व्यायाम उनी अचेल घरमै बसेर गर्छन् । ‘त्यहाँ गर्ने व्यायाम र घरमै गर्ने व्यायाममा खासै फरक रहेनछ,’ ‘अहिलेको स्थितिलाई बुझेर हामीले घरमै बसेर पनि शारीरिक व्यायाम गर्न सक्छौँ । व्यायाम गर्न बाहिरै जान भने नपर्ने रहेछ,’ उनले भने ।  

केही दिन अघिसम्म धुलिखेलस्थित इमाथेका मोहनबहादुर गजुरेल बिहानको ५ नबज्दै धुलिखेल योग साधना केन्द्रमा पुग्ने गर्थे । दिनको दुई घण्टा उनले त्यहाँ योग गर्थे भने अहिले आफ्नै घरमा योग गर्ने गरेको उनले बताए । उनका अनुसार योगा गर्नु स्वास्थ्यको लागि धेरै राम्रो हो । 

‘योगले मानसिक र एरोबिक दुवै हिसाबले राम्रो मानिन्छ,’ उनले भने, ‘कोरोनाको त्रासको समयमा योग गर्दा हाम्रो शरीरलाई धेरै फाइदा मिल्छ । योग गर्दा मष्तिस्कमा सकारात्मक कुराहरु आउने भएकाले दिनको एक घण्टा योग गर्दा राम्रो हुने रहेछ ।’ हाम्रो घरको आँगन, बगैँचा, कौसीमा बसेर पनि योगा गर्न सकिने उनले बताए ।

स्वस्थ शरीरसँगै शरीर फिटनेसको लागि जिम सेन्टर, जुम्बा , एरोबिक जस्ता ठाउँमा नपुगी घरमै बसेर पनि गर्न सकिने वरिष्ठ मुटु रोग विशेषज्ञ डा. दिवाकर शर्मा बताउँछन् । यी कार्य घरमा पनि गर्न मिल्ने भएकाले यो महामारीको समयमा घरबाट बाहिर ननिस्कन उनी सुझाउँछन् ।

‘शरीरलाई स्वस्थ राख्न हामीले गर्ने एरोबिक व्यायाम हामीले हाम्रै घरको बगैँचाको फ्रेसमा पनि गर्न सक्छौँ,’ उनले थपे, ‘त्यस्तै घरको खुला ठाउँ जस्तै छत र आँगनमा बसेर पनि यी कार्य सकिन्छ । आफ्नो शरीरलाई स्वस्थ राख्न अरु धेरै केही गर्नै पर्दैन । आफ्नो फुर्सदमा घरको छत, बगैंचा, कौसीमा दिनमा ५० राउन्ड मात्र लगाए पनि पुग्छ ।’ डा. शर्माका अनुसार सबै बिरामीले एकै खाले व्यायाम गर्नु हुँदैन, चिकित्सकले सुझाएअनुसारको व्यायाम गर्नुपर्छ । यसका साथै यो समयमा खानेकुरामा पनि विशेष ध्यान दिन उनी सुझाउँछन् ।  

फुर्सदको समयमा मिष्ठान्न परिकार पकाएर खाने गरिन्छ । यो समयमा हामीले खाएको खाना थोरै मात्र ऊर्जामा परिणत हुने हुदाँ खाना पनि विशेष ख्याल गर्नुपर्छ । धेरै मात्रामा चिल्लो पदार्थ बढी भएका खानेकुरा खान नहुने डा. शर्मा बताउँछन् । ‘यो समयमा मानिसहरुले धेरै मोबाइल, इन्टरनेट र टिभी हेर्दा शरीरमा व्यायामको कमी हुन्छ र यसले गर्दा शरीरमा अरु समस्या निम्तिन सक्छ,’ उनले भने, ‘त्यसकारण पनि सिर्जनात्मक काम गरेर समयको सदुपयोग गर्नुपर्छ ।’

रोग नलाग्नको लागि योगले महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा, यो महामारीको समयमा स्वस्थ शरीरको लागि योग गर्नु धेरै राम्रो हुने पतंजली योग समिति धुलिखेल नगरका संयोजक राजु श्रेष्ठ बताउँछन् । उनका अनुसार योगले शरीरलाई स्वास्थ राख्न र आयु लम्ब्याउने काम गर्नुको साथै मस्तिष्कलाई सफा बनाउने काम गर्छ । मन स्वास्थ भएमा हरेक कुराहरु सकारात्मक रुपमा अगाडि बढ्ने उनले बताए । कोरोनाले मानिसहरुको मष्तिस्कमा त्रास फैलाएको अवस्थामा योगले मानिसलाई मनोबल बढाउने र उत्साह जगाउने काम गर्ने उनले थपे ।  

योग सबै व्यक्तिले गर्न आवश्यक रहेको उनले बताए । उनका अनुसार योगको लागि दिनमा ३० देखि ४५ मिनेटसम्म समय खर्च गर्दा राम्रो हुन्छ । ‘नियमित योगले खानपान र निन्द्रा राम्रो हुन्छ,’ उनले भने, ‘हार्ड जोर्नीहरु बलियो हुन थाल्छन् । योग गर्दा १० मिनेट फिजिकल, १० मिनेट श्वासप्रश्वास र १० मिनेट मनलाई आनन्द बनाउने ध्यान गर्न सकिन्छ । मिलाएर योग गर्न सकियो भने स्वास्थ्यको लागि राम्रो हुन्छ ।’ योग गुरु राजु श्रेष्ठका अनुसार योग खुला ठाउँमा मात्र गर्दा शरीरलाई फाइदा हुन्छ । यो समयमा हामीले हाम्रो बगैँचा, छत र कौसीमा योग गर्न सक्छौं । उनका अनुसार इन्टरनेट र टिभीको पहुँच हुनेले ती माध्यमबाट योग सिक्न सक्नु हुनेछ भने पहुँच नहुने घरमै बसेर योगी जगिङ, सेटअप, पुसअप, पिटी लगायत पनि गरेर शरीरलाई स्वस्थ राख्न सकिनेछ ।

बिहानको खाली पेटमा योग गर्नु राम्रो

योगीहरुका अनुसार योग बिहानको खाली पेटमा गर्दा राम्रो मानिन्छ । श्वासप्रश्वास सम्बन्धी प्राणायम बिहानको समयमा गर्दा राम्रो हुन्छ । आसन, प्राणायम र केही योग क्रियाहरु बिहान गर्दा दिनभरिका लागि राम्रो हुन्छ र आनन्द पनि हुन्छ । योग गर्ने समय नभएकमा भने खाना खाएको ३ घण्टापछि र खाना खानुभन्दा १५ देखि २० मिनेट पहिला गर्दा फाइदाजनक हुने योग गुरु राजुले बताए । ‘सबै उमेरका व्यक्तिले यो गर्न सक्छन्,’ उनले भने, ‘योग गर्न कुनै निश्चित उमेर तोकिएको हँुदैन । योगले बालबालिकाको बौद्धिक क्षमता वृद्धि गर्ने भएकाले ३ देखि ४ वर्षको उमेरबाट नै योग सुरु गराउन सकिन्छ ।’ रोगले सिकिस्त भएकाहरुले पनि योग गर्न मिल्ने उनले बताए ।  

योगले मानव शरीरलाई स्वस्थ राख्न धेरै मद्दत गर्छ । मनलाई खुशी र मानसिक समस्या हटाउन योगको ठूलो भूमिका हुन्छ । तनावको कारण पनि शरीरमा रोग लाग्छ । तनाव भयो भने त्यसले अल्सर हुन सक्छ । दीर्घकालीन रोगहरु जस्तै मधुमेह, ब्लड प्रेसर, हृदयघात, क्यान्सर हुने समस्या पनि हुन सक्छ । योगले मानिसलाई यी समस्याबाट टाढै राख्ने योगीहरु बताउँछन् ।  

योग गर्नुको फाइदा

- योगले शरीरको जोर्नीहरुलाई खुकुलो बनाउँछ । जसले गर्दा शरीरमा युरिक एसिड, बाथजस्ता रोगहरुलाई नियन्त्रण गर्छ ।

- शरीरका रक्तसंचार प्रणालीलाई व्यवस्थित गर्छ ।

-  मुटु र रगतका नलीलाई सफा गर्ने काम गर्छ ।  

-  मस्तिष्कलाई सफा बनाउँने काम गर्छ । मन स्वास्थ भएमा हरेक कुराहरु सकारात्मक रुपमा अगाडि बढ्छ ।

- शरीरमा धेरै क्यालोरी छ भने योग गर्दा घट्छ ।  

- पाचन क्षमता बढाउँछ ।  

प्रकाशित: ७ जेष्ठ २०७७ १०:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App