कोरोना परीक्षणको दायरा बढाउने योजना स्वरुप ताप्लेजुङका लागि ५ सय थान र्यापिड डाईग्नोस्टिक टेष्ट(आरडिटी) किट र २ सय ५० थान स्वाब संकलन गर्ने भाईल सोमवार(आज) आई पुग्ने भएको छ ।
कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिको अनुरोधमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले स्वास्थ्य मन्त्रालयसंग समन्वय गरी आरडिटी, स्वाब संकलन भाईल व्यक्तिगत स्वास्थ्य सुरक्षाका सामग्री फुङ्लिङ पठाएका हुन् ।
पर्यटनमन्त्री भट्टराई प्रमुख स्वकीय सचिव प्रेम गुरागाँईले ताप्लेजुङबाट काठमाडौ पुगेको सवारीमा ति स्वास्थ्य सामग्री पठाइएको जानकारी दिए । साथमा एन–९५ मास्क तथा व्यक्तिगत स्वास्थ्य सुरक्षाका सामग्री(पीपीई) पनि रहेको छ । मन्त्री भट्टराईले समन्वय गरी ताप्लेजुङका सञ्चारकर्मीका लागि २५ थान प्रेश ज्याकेटका साथमा स्वास्थ्य सुरक्षाका सामग्री पनि पठाएका छन् । यसअघि १ नं प्रदेश सरकारबाट प्राप्त भएका ५ सय २० थान आरडिटी किटमध्ये अधिकांश परीक्षणका क्रममा प्रयोग भईसकेपछि परीक्षणको दायरा बढाउन समस्या परेको भन्दै थप किट माग गरिएको थियो । चीनको स्वशासित क्षेत्र तिब्बतको डिङ्जी काउन्टीले यहाँका लागि १ हजार २ साथ आरडिटी किट दिने घोषणा गरिसकेको छ ।
मोटो परिमाणका व्यक्तिगत स्वास्थ्य सुरक्षा सामग्री(पीपीई)समेत दिने भएपछि डिङ्जी काउन्टीलका अधिकारीबाट बुझेर नेपालतर्फ ल्याउन सहायक प्रमुख जिल्ला अधिकारी केशव खतिवडा तथा जिल्ला समन्वय समितिका शाखा अधिकृत गणेश अधिकारीसहितको टोली सोमबार बिहान टिपतालातर्फ लागेको छ । टिपताला नेपाल–तिब्बत सीमानाका हो । चीनको स्वशासित क्षेत्र तिब्बतको डिङ्जी काउन्टीका अधिकारीले २१ तारेख अर्थात् आउँदो बिहीबार टिपतालामा ति सामग्री नेपाली अधिकारीलाई हस्तान्त्रण गर्ने मिति तय भएको छ ।
प्रकाशित: ५ जेष्ठ २०७७ ०६:०० सोमबार