४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

डाक्टर तीन हप्तामै फर्किए, कोरोना परीक्षण गर्न किट अभाव

दशरथचन्द नगरपालिकाको क्वारेन्टिनमा बसेका स्थानीयको आरडिटी परीक्षण गर्दै स्वास्थ्यकर्मी । तस्बिर : बिरा/नागरिक

कोरोनाको उपचारमा सहयोग पुर्याउन सरकारले बैतडी पठाएका तीनजना डाक्टर तीन हप्तामै फर्किएका छन् । संघीय सरकारले ३३ जना चिकित्सकलाई सुदूरपश्चिममा खटाएसँगै वैशाख ७ गते बैतडी पुगेका डाक्टर मंगलबार फर्किका हुन् । बैतडी खटाइएका डा. विकास शहनी, डा. विहन्त शाह र डा. प्रकाश दर्जी तीन हप्तापछि फर्किएको जिल्ला अस्पताले जनाएको छ ।

अस्पतालमा बसेर उनीहरूले कोरोनासम्बन्धी सचेतनाका साथै अन्य सेवाहरू दिएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले बताए । डाक्टरहरू जिल्लामा रहँदा लकडाउनका बेला समस्यामा परेका नागरिकले सहज रूपमा स्वास्थ्य सेवा पाएका थिए । सुगर, हड्डी भाँचिएकोलगायत सेवा स्थानीयले जिल्लामै पाएका थिए । तर, डाक्टरहरू फर्किएपछि जिल्लामा विशेषज्ञ डाक्टरको अभावमा अन्यत्र रिफर गर्नुपरेको डा. जोशीले बताए । स्वास्थ्य संस्थामा जनरल सेवा दिने गरी सरकारले बैतडी पठाएका डाक्टरसमेत एक महिना नपुग्दै फर्किएपछि बैतडीको स्वास्थ्य अवस्था दयनीय बन्न पुगेको छ ।  

लामो समयदेखि डाक्टरविहीन जिल्ला अस्पतालमा डाक्टर आइपुगेपछि बैतडीवासी खुसी बनेका थिए । तीन हप्तामै डाक्टर गएपछि बैतडीवासी निराश बनेका छन् । तीनैजना २२ दिन बसेर असारमा परीक्षा भएकाले काठमाडौं फर्किएको जिल्ला अस्पताल प्रमुख डा. जोशीले जानकारी दिए ।

प्रदेश सरकारले बैतडीमा ल्याब स्थापना र जिल्ला अस्पताल बैतडीमा भेन्टिलेटर जडान गर्ने निर्णय गरे पनि प्रक्रिया अघि बढ्न सकेको छैन । जिल्ला अस्पताल बैतडीमा तीनजना डाक्टरको दरबन्दी भए पनि अहिले दरबन्दीका एक जना पनि कार्यरत छैनन् । करारका दुई जनामध्ये एक जनाको अवधि सकिएको र आफू एक्लै कार्यरत रहेको डा. जोशी बताउँछन् । जिल्ला अस्पतालमा एक जना नवौं तह र दुई जना आठौं तहका डाक्टरको दरबन्दी छ । तर, ती सबै दरबन्दी खाली रहेका छन् । जिल्ला अस्पतालमा दरबन्दीका चिकित्सक नहुँदा समस्या हुँदै आएको छ । गएको ७ महिनायता जिल्ला अस्पताल दरबन्दीका डाक्टरविहीन बनेको हो ।  

यता भारतबाट आएर क्वारेन्टिनमा बसेकाहरूको द्रुत परीक्षण गर्न किट सकिएपछि प्रदेश सरकारसँग माग गरिएको स्वास्थ्य कार्यालय बैतडीका स्वास्थ्य प्रमुख योगेशप्रसाद भट्टले बताए । सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा भारतबाट आएका २ हजार ६ सय ६८ जना क्वारेन्टिनमा छन् । तीमध्ये बैतडीमा मात्र १ हजार ३ सय ४५ जना छन् । तर, उनीहरूको स्वास्थ्य परीक्षण गर्न किट अभाव भएको छ ।

गत वैशाख १८ गते सीमानाका झुलाघाट र धार्चुलाबाट स्वदेश फर्किएका नागरिकको कोरोना परीक्षण गर्न किटको अभाव भएको हो । जिल्लाका विभिन्न स्थानीय तहका क्वारेन्टिनमा रहेकामध्ये २ सय ६५ जनाका लागि किटको अभाव भएको स्वास्थ्य कार्यालय प्रमुख भट्टले बताए ।

स्वास्थ्य कार्यालयसँग भएको १ हजार १ सय किट पुर्चौडी नगरपालिका र डिलासैनीमा पठाइसकिएको छ भने अन्य स्थानीय तहमा पठाउने किटको अभाव भएको हो । पुर्चौडी नगरपालिकाका २९ वटा क्वारेन्टिनमा बसेका ९ सय ११ जनाको आरडिटीका लागि किट पठाइएको छ भने डिलासैनी गाउँपालिकाका क्वारेन्टिनमा बसेका नागरिकको कोरोना परीक्षणका लागि पनि किट पठाइएको छ ।

जिल्लामा आरडिटी किटको अभाव भएको बारेमा प्रदेश सरकारलाई जानकारी गराए पनि अहिलेसम्म किट उपलब्ध हुन नसकेको स्वास्थ्य कार्यालयका प्रमुख भट्टले जानकारी दिए । भारतबाट फर्केकाहरू क्वारेन्टिनमा बसेको १४ दिन पुग्न लाग्दासमेत किट अभाव हुँदा परीक्षण गर्न समस्या भएको छ । 

प्रकाशित: १ जेष्ठ २०७७ १८:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App