दाँत उपचारका लागि वीर अस्पताल पुगेका राष्ट्रपतिले स्वास्थ्य सचिवसमेत रहेका उपचार संलग्न चिकित्सक डा.प्रवीण मिश्र र वीरका निमित्त निर्देशक डा.ध्रुवप्रसाद सिंहसँग यो जिज्ञासा राख्दा दुबैले प्रक्रिया कहाँ पुगेको छ भन्नेबारे स्पष्ट जवाफ दिन सकेनन्।
छ वर्षअघि नै बनिसकेको ट्रमा सेन्टर वीर अस्पताल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अर्न्तगत भएकाले कर्मचारी भर्ना र आवश्यक बजेट विनियोजन नहुँदा सञ्चालन हुन नसकेको न्याम्सका उपकुलपति डा.दामोदर पोखरेलले शनिबार साँझ नागरिकसँग भने। वीरमा हुने राजनीतिक खिचातानीले सेवा आयोग बन्न नसक्दा कर्मचारी भर्ना गर्न नसकिएकाले अस्पताल सञ्चालनमा नआएको स्रोतले बतायो। न्याम्सअर्न्तगत भए पनि यसको सञ्चालन गर्न वीरजस्तै छुट्टै निर्देशक राख्नुपर्छ।
डा.पोखरेलले यस वर्ष सरकारले बजेट छुट्याएको र कर्मचारी भर्नाका लागि सेवा आयोगसमेत बनिसकेकाले ६ महिनभित्र ट्रमा सेन्टर सञ्चालनमा आउने बताए। 'सात वर्षअघि म नै निर्देशक हुँदा निर्माण सुरू भएको हो, बीचमा कसैले चासो देखाएनन् उपकुलपति भएर आएपछि फेरि कुराकानी अगाडि बढाएको छु,' डा.पोखरेलले भने, 'आउने जनवरीमा नेपाल-भारतका स्वास्थ्य, अर्थलगायतका मन्त्रालयका उच्च पदाधिकारीसहितको कार्यक्रम अनुगमन समिति बैठक बसेर प्रक्रिया अघि बढ्छ।' भारतको सहयोगमा बनेको यो अस्पताल सञ्चालनमा आएपछि यो दक्षिण एसियामै भारतपछि आकस्मिक र ट्रमासम्बन्धी सेवा दिने दोस्रो विशेषज्ञ अस्पताल हुनेछ।
अस्पतालको शिलान्यास १८ वर्षअघि तत्कालीन भारतीय प्रधानमन्त्री आइके गुजरालले गरेका थिए। सरकारले यस वर्ष ट्रमा सेन्टर सञ्चालन गर्न ३४ करोड रुपैयाँ छुट्याएको छ। यो रकमबाट ५ सयभन्दा बढी कर्मचारी नियुक्त गरी तालिमका लागि भारत पठाइने न्याम्सले जनाएको छ। न्याम्सले कर्मचारी नियुक्ति र तालिमका लागि ६ महिना लाग्ने र त्यसबीच भारतबाट उपकरण आइपुग्ने जनाएको छ।
दुई सय शैय्याको अस्पतालका लागि आठतले पूर्ण एसीजडित अत्याधुनिक भवन तयार छ। सेन्टरमा एमआरआइ, सिटीस्क्यान, भेन्टिलेटरलगायत आधुनिक उपकरण र पाँच मुख्य तथा दुई सामान्य शल्यक्रिया कक्ष छन्। अहिले वीरमा दैनिक २ सयहाराहारी आकस्मिक केस आउँछन्। निमित्त निर्देशक डा.सिंहका अनुसार यो केन्द्र सञ्चालनमा आएपछि वीरमै भेन्टिलेटर नपाउँदा उपचार नपाउने अवस्था घट्ने र आकस्मिक सेवाको जनशक्ति अन्य सेवामा लगाउन सकिने छ।
सेन्टर निर्माण, खर्च, उपकरण र कर्मचारी तालिम गरी भारतले यो अस्पतालमा १ अर्ब ४० करोड रुपैयाँ खर्चेको छ। जडान गरेको दिनदेखि ग्यारेन्टी अवधि सुरू हुने भएकाले सबै तयारी पूरा भएपछि मात्र उपकरण राख्ने भारतीय दूतावासले बताएको डा.पोखरेलले जानकारी दिए। स्रोतका अनुसार भवन निर्माण सकिएलगतै भारतले बारम्बार पत्र काटेर हस्तान्तरण गर्ने चाहना व्यक्त गर्दै आएको छ। यसबीच कर्मचारीले गरेका विभिन्न हड्तालमा समेत ट्रमा सेन्टर सञ्चालनको माग प्रमुख रूपमा उठे पनि नेतृत्वले पहल नगरेको वीर अस्पताल कर्मचारी युनियनका सचिव दिपक मुडभरीले बताए।
राष्ट्रपतिले डा. मिश्र र अन्य वरिष्ठ चिकित्सकसँग दरबन्दी अभावको समस्याबारे पनि जिज्ञासा राखेका थिए। 'वर्षौँदेखि एउटा पदमा रहेर काम गर्नुपर्दा वरिष्ठ चिकित्सकहरू सरकारी सेवा छाड्दैछन् रे,' राष्ट्रपतिले डा. मिश्रलाई सोधेको उद्धृत गर्दै अस्पताल स्रोतले भन्यो।
'युनिटीले फोटो दुरूपयोग गर्यो'
उपचार सकिएपछि चिकित्सक एवं नर्ससँग सामूहिक तस्बिर खिचाउँदै राष्ट्रपतिले युनिटी लाइफ इन्स्योरेन्सबाट आफ्नो फोटो दुरूपयोग गरेको बताए। 'आजकल फोटो काटेर जताततै राख्दा रहेछन्,' उनले भने, 'युनिटीको नाममा पनि मेरो फोटो त्यसरी नै प्रयोग गरियो।'
युनिटी लाइफ इन्स्योरेन्सले एक कार्यक्रमको तस्बिरलाई राष्ट्रपतिबाट पुरस्कार पाएको भनी आफ्नो स्मारिकामा छापेको थियो।
प्रकाशित: ११ मंसिर २०६७ २३:११ शनिबार





