२० मंसिर २०८२ शनिबार
image/svg+xml
स्वास्थ्य

नेपालमा नसर्ने रोगबाट २० प्रतिशतको अल्पायुमै मृत्यु

पछिल्लो समय नेपालमा नसर्ने रोगको भार बढ्दै गएको छ। नसर्ने रोगले नेपालमा कुल मृत्युको ७१ प्रतिशत हिस्सा ओगटेको छ। तीमध्ये २० प्रतिशतको अल्पायुमै मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठन स्टेप हेल्थ सर्भेको तथ्यांक छ। यो स्थितिलाई प्राथमिक तहकै स्वास्थ्य केन्द्रमा व्यवस्थापन गर्ने हो भने मात्र अहिलेको मृत्युदर घटाउने सकिने विज्ञ चिकित्सकहरूले बताएका छन्।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको केएचडिसी कार्यक्रम, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र जेनेभा युनिभर्सिटी जेनेभाको संयुक्त आयोजनामा शुक्रबार सम्पन्न विज्ञहरूको बैठकमा नसर्ने रोगको उचित व्यवस्थापनको माध्यमबारे गहन छलफल भएको थियो।

बैठकमा स्वास्थ्य सेवा विभाग नसर्ने रोग तथा मानसिक रोग शाखाका प्रमुख डा. पोमवती थापाले नेपालमा नसर्ने रोगको भारले मानिसहरूको अल्पायुमै मृत्यु हुने क्रम बढिरहेको बताइन्। ‘कुल नसर्ने रोगले हुने कुल मृत्युमध्ये २० प्रतिशत मानिसको अल्पायुमै मृत्यु भइरहेको छ,’ उनले भनिन्।

नेपालमा बढ्दो सहरीकरण, सवारीसाधनको पहुँच र अस्वस्थ जीवनशैलीका कारण उच्च रक्तचाप, मुटु तथा रक्तनलीजन्य रोगहरू मधुमेह, मिर्गौला, क्यान्सरजस्ता रोगहरूको वृद्धि भई नसर्ने रोगको कारणले हुने मृत्यु बढेको उनले जानकारी दिइन्। मदिरा, धूमपान, प्रदूषण, व्यायामको कमी, श्वासप्रश्वाससम्बन्धी रोग, क्यान्सर, स्नायुसम्बन्धी रोगहरू, मधुमेह, मुटु तथा रक्तनलीजन्य रोगहरू र अस्वस्थ खानपान नसर्ने रोगको प्रमुख कारक रहेको उनको भनाइ थियो।

नसर्ने रोगहरूले सुरुमै लक्षण नदेखाउने तर भित्रभित्रै अंगहरूमा असर गरी एक्कासि मृत्यु हुने कारण यी रोगहरूको उचित व्यवस्थापनमा ध्यान दिनुपर्ने बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मिर्गौला रोग विशेषज्ञ तथा केएचडिसी कार्यक्रमका संयोजक डा. सञ्जीवकुुमार शर्माले बताए। ‘औषधि खाए पनि नखाए पनि लक्षण देखाउँदैनन् तर भित्रभित्रै मुटुका भल्भहरू बन्द भइरहेका हुन्छन्। मिर्गौला बिग्रिरहेको हुन्छ,’ उनले भने।

यी रोग बढिसकेपछि सहज उपचार सम्भव नहुने र भए पनि अत्यन्त धेरै आर्थिक भार पर्ने हुनाले नसर्ने रोगबारे जानकारी दिने व्यवस्था नागरिक तहमै अर्थात् आधारभूत अस्पतालमै गर्न सके मात्र यस्ता रोगबाट हुने मृत्यु घटाउन सकिने र यसको जनस्वास्थ्यमा पर्ने असरसमेत कम गर्न सकिने डा. शर्मा बताउँछन्।

‘नसर्ने रोगले असर गर्नुअघि नै नागरिकलाई सूचना प्रवाह गर्ने, समुदायस्तरमा सचेतना वृद्धि गर्ने, उपचारमा पहुँच पुर्‍याउने, औषधि उपलब्ध गराउने र आवश्यक परे टर्सरी अस्पतालमा रेफर गर्ने हो,’ उनले भने।

यी रोगले सुरुमै लक्षण नदेखाउने हुनाले स्वास्थ्यकर्मी नै समुदायको नजिक पुगेर जनेचतना प्रवाह गर्ने र खोज गरी स्वास्थ्य सेवा प्रवाह गर्ने प्रणाली रहेको उनले बताए। यो प्रणालीले नसर्ने रोगको मृत्यु घटाउन बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले २०६० सालदेखि नै प्राथमिक स्वास्थ्य केन्द्रमा नसर्ने रोग सुदृढीकरण कार्यक्रम मेची नगरपालिका, फुप्लिङ नगरपालिका र दमक नगरपालिकामा सञ्चालन गरेको हो।

यो कार्यक्रमअन्तर्गत आवश्यक उपकरण व्यवस्थापन, स्वास्थ्यकर्मीको दक्षता अभिवृद्धिका लागि तालिम, औषधिको व्यवस्थापन र आवश्यकताअनुसार अनलाइन तथा टेलिमेडिसन सेवामार्फत सहकार्य गरेको डा. शर्माले जानकारी दिए।

सरकारले नसर्ने रोग सदृढीकरण कार्यक्रम ‘पेन’ २०१६ देखि सुरु गरे पनि समयसापेक्ष प्रभावकारी बन्न नसकेको स्वास्थ्य सेवा विभाग नसर्ने रोग विभागकी प्रमुख डा. थापाले बताइन्।

हाल ७७ वटै जिल्लामा यो कार्यक्रम सञ्चालन भइरहेको भए पनि नीतिगत जटिलता, औषधि खरिद प्रक्रियाको झंझट, बजेटको स्पष्ट जिम्मेवारी र जनशक्ति व्यवस्थापन हुन नसक्दा अपेक्षित सुधार हुन नसकेको डा. थापाले बताइन्। ‘कार्यक्रम हालसम्म ७७ वटा जिल्लामा पुगेको छ। स्वास्थ्यकर्मीलाई तालिम मात्र दिइएकोछ, फलोअप गर्न सकिएको छैन,’ उनले भनिन्, ‘औषधि छैन। औषधि खरिद प्रक्रिया झन्झटिलो बन्यो।’

प्रदेश सरकारलाई औषधि खरिद गरी स्थानीय तहमा पठाउनुपर्ने यो काम राम्रोसँग हुन नसकेको, केन्द्र सरकारले पठाउने बजेटको सीमितता रहेकाले नसर्ने रोगको बजेटको जिम्मेवारी स्थानीय सरकारले लिन सके सम्भव हुने र तालिमप्राप्त जनशक्तिलाई फलोअप तालिम दिए कार्यक्रम प्रभावकारी हुने उनले सुझाइन्।

नसर्ने रोग सुदृढीकरण कार्यक्रम विभिन्न निकायले आ–आफ्नो तरिकाले सञ्चालन गर्दा स्रोतसाधनको अन्योल, मापदण्डमा दोहोरोपना भएकाले यसको एकीकृत र एकरूपताको व्यवस्थापनले मात्र सुधार गर्न सम्भव हुने डा. शर्माको सुझाव छ।

‘आआफ्नो ढंगले नसर्ने रोगको कार्यक्रम सञ्चालन हुनुभन्दा नेपाल सरकारको स्थानीय तहलाई जिम्मेवारी हुने गरी सहयोग र मापदण्ड हुनुपर्छ,’ उनले भने।

सो क्रममा नेपाल सरकारका जिम्मेवार विभाग, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको केएडिसी कार्यक्रम, विज्ञ चिकित्सक र जेनेभा युनिभर्सिटी हस्पिटलका चिकित्सकहरूले प्राथमिक तहमा नसर्ने रोग सुदृढीकरण नमुनाहरूको प्रस्तुति गरेका हुन्।

हरेक नागरिकलाई समुदायमै सहभागी बनाएर नसर्ने रोगबारे सचेतना जगाउन सके नसर्ने रोगलाई नियन्त्रणमा राख्न सकिने डा. शर्माको सुझाव दिए। ‘मुख्य कुरा नियमित व्यायाम, स्वस्थ भोजन, नियमित स्वास्थ्य परीक्षण गरे मिर्गौला, मुटु बिग्रिनबाट बच्न सकिन्छ,’ उनले भने।

कार्यक्रमको थप व्यवस्थापनका लागि नसर्ने रोगको उपचारलाई बलियो बनाउने, नसर्ने रोगको व्यवस्थापनका लागि स्थानीय तहलाई जवाफदेही बनाउने, नसर्ने रोगको लागि स्पष्ट बजेट विनियोजन गर्ने, नसर्ने रोगको तथ्यांकीय व्यवस्थापन गर्नुपर्ने, नसर्ने रोग भएका बिरामीको सूचकका आधारमा कार्ड बनाएर प्रभावकारी व्यवस्थापन गर्न सकिने डा. थापाको सुझाव छ।

कार्यक्रममा जेनेभा युनिर्भर्सिटी अस्पतालका चिकित्सकहरू, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग र अन्य अस्पतालका विशेषज्ञ चिकित्सकहरूले प्रस्तुति दिएका थिए। उनीहरूले नसर्ने रोगलाई समुदाय स्तरमै व्यवस्थापन नियन्त्रणका लागि उचित नमुना भएको औंल्याए।

प्रकाशित: २० मंसिर २०८२ ११:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App