१६ चैत्र २०८० शुक्रबार
स्वास्थ्य

टाउको किन दुख्छ ?

फाइल तस्बिर

भाइबहिनी हो, तपाईंहरूलाई टाउको दुख्ने समस्या छ ? कुनै न कुनै बेला टाउको दुखेको होला। आफ्ना परिवारका सदस्यहरू बुबा, आमा, दिदी, बहिनी जो कोहीले पनि केही समस्या वा तनाव भयो भने टाउको दुख्यो भनेर गुनासो गरेको पनि सुन्नु भएको होला ! यतिबेला टाउको दुखाइ धेरैको समस्याको रूपमा देखिएको छ। यो सबै उमेरकालाई हुन सक्छ। तर दुखाइ भने मान्छेपिच्छे फरक हुन्छ। कसैलाई चर्को र कसैलाई हल्का गरी दुखेको हुन्छ। त्यसै गरी कसैलाई धेरै दिनसम्म लगातार दुखेको हुन्छ भने कसैलाई पाँचदश मिनेट दुखेर कम हुन्छ त कसैलाई रिँगटा र बान्ता हुने गरी दुख्छ। दुखाइको मापन भने गर्न सकिँदैन। कोही एक व्यक्तिलाई हल्का दुखाइ भएको त्यही दुखाइ अर्कालाई चर्को हुन सक्छ। दुखाइको कुरा मान्छेको मानसिक स्थिति र उसको स्वास्थ्य अवस्थामा भर पर्छ।

तर टाउको दुखाइ आफैंमा रोग होइन। यो अरू रोग र शरीरको अवस्थाका कारणले हुने समस्या हो। टाउको दुखाइ सामान्यदेखि जटिल समस्याको कारणले दुखेको हुन्छ। सामान्यतः सबै रोगको कारण र निवारण पनि एकै हो। अचेल एक रोगलाई मात्र विशेषका रूपमा हेरिने भएकाले धेरै रोगको कारण धेरै देखिएको पाइन्छ। किन  र के कारणले टाउको दुख्छ भन्ने  बुझ्नुअघि रोग के हो भन्ने बुझ्न जरुरी छ।

हाम्रो शरीरले हामीसँग हरपल बोलिरहेको हुन्छ तर हामी यसको बोलीलाई बुझ्दैनौं। शरीरको बोलीलाई मात्र बुझ्न सकेमा अधिकांश स्वास्थ्य समस्याबाट बच्न सकिन्छ। टाउको दुख्दा पनि शरीरले पानी कमी भयो भनेर संकेत गरेको हो। त्यसैले टाउको दुख्नेबित्तिकै आफू खुशी औषधि नखाने। धेरै दुखेको अवस्थामा आराममा बस्ने। सहनै नसक्ने गरी दुखेमा चिकित्सकको सल्लाह लिने।

रोग के हो ?
हाम्रो शरीरका अंगहरूले जुन रूपले काम गर्नुपर्ने हो त्यसमा अवरोध आउनु रोग लाग्नु हो। रोग कहाँबाट आउँछ भन्दा अधिकांश हामीले खाएको खाना नमिलेर शरीरभित्र फोहोर जम्छ। त्यही फोहोर रगतमा मिसिन्छ र रक्तसञ्चारमा अवरोध हुन्छ। जहाँ रक्तसंचारमा गडबडी भयो त्यही भागमा दुखाइ सुरु हुन्छ। त्यसैलाई रोग भनिन्छ। त्यसैले रक्तसञ्चारमा गडबडी हुनु नै रोग हो। हाम्रो स्वास्थ्यमा आउने सबै स्वास्थ्य समस्याको कारण गलत आहारविहार र विचारले हो। टाउको दुखाइ पनि हामीले गर्ने गलत खानपान, गलत विहार र गलत विचारले हुन्छ।
टाउको दुखाइ धेरै प्रकारले दुख्छ। यसलाई सजिलोसँग बुझ्न दुखाइको भाग हरेर के कारणले दुखेको भनेर बुझ्न सकिन्छ।

तालु दुख्नु – यो एसिडिटी बढेर दुख्छ। यसरी दुख्दा हाम्रो शरीरमा पित्त ¬(गर्मी) बढेको छ भन्ने बुझ्नुपर्छ। गर्मी गराउने खाना जस्तै पिरो, अमिलो, चिल्लो, त्यसै गरी चिया, कफी, हर्लिक्स, भिवा आदिकोे बढी प्रयोगले शरीरमा गर्मी बढाउँछ। जंकफुडले पनि गर्मी बढाउँछ। यसमा टाउको दुखाइका साथै रिँगटा लाग्ने र बान्तासम्म हुने हुन्छ।
अगाडि भाग निधार, आँखाको भाग दुख्नु – यो धेरै तनाव र थकानका कारण हुन्छ। यस्तो बेला खाना मिलाई मन र शरीर दुवैलाई आराम दिनुपर्छ।

नाक वरिपरि निधारसम्म दुख्नु– यो पिनासको कारणले दुख्छ। चिसो खाँदा र चिसोमा बस्दा बढी दुख्छ। टाउको दुखाइसँगै नाक बन्द हुने हुन्छ। यस्तो बेलामा निधार र छातीमा हातले सेक्दा कम हुन्छ।
टाउकोे पछाडि भारी र झम्म भएर दुख्नु – टाउकोपछाडि झम्म भएर दुखेमा रक्तचापले दुखेको हुन्छ। रक्तचाप बढेर र कम भएर पनि दुख्छ। यो दुखाइमा रिँगटा लाग्नुका साथै झम्म हुने हुन्छ। यस्तो बेला रक्तचाप जाँचेर कमीले दुखेको कि बढी भएर दुखेको हेर्नुपर्छ अनि पानी पिएर आराम गर्नुपर्छ। गर्धनदेखि माथिसम्म तन्किएर दुख्नु– गर्धनका नसा च्यापिएको छ भने गर्धनदेखि टाउकोसम्म दुख्छ। यस्तो बेला टाउकोलाई नझुकाई सिधा राख्ने।

यति मात्र होइन, अरू धेरै कारणले पनि टाउको दुख्छ। जस्तो रुघाखोकी, ज्वरो, पिनास, आँखाको कमजोरी, कान, दाँत, गर्धन र नसाको समस्याको  कारणले पनि दुख्छ। त्यसै गरी तनाव, चिन्ता, रिस, डिप्रेसन ब्रेन हेमरेज, माइग्रेन, रक्तचाप, अत्यधिक औषधि सेवन र अनिद्राका कारणले पनि दुख्छ। अपच, कब्जियत, ग्यास्ट्राइटिस जस्ता पेटका रोगहरूका कारणले पनि टाउको दुख्छ। अरू विविध कारण जस्तै दुर्घटना आदिले पनि दुख्छ।
जुनसुकै कारणले टाउको दुखे पनि उचित आहार, उचित विहार र उचित विचार गरेमा सजिलै बच्न सकिन्छ।

के र कति खाने ?
खाना –  हामी खाना भन्नेबित्तिकै एक दलीय अन्नहरू चामल, गहुँ मकै आदिले बनेका जस्तै भात, रोटी, ढिडो आदि बुझ्ने गर्छौ। तर आजकल हाम्रा अधिकांश खाना सेतोले बनेका र जिब्रोका स्वादका लागि बढी खाने गरिएको छ। त्यसैले सेतोको सट्टा ब्राउन राइस, आँटा, घरकै खानेकुरा–मकै, गहुँ आदि खानुपर्छ। यस्ता खानामा शरीरका लागि चाहिने रेसा, छोक्राबोक्रा धेरै हुन्छ र कब्जियत गराउँदैन। भाइबहिनी हो, दिनमा ३ पटकभन्दा बढी नखाने। एउटा खाना र अर्को खानेको खन्तर करिब ४ घन्टा राख्ने।

सागसब्जी– हाम्रो भान्छामा हरियो सब्जी धेरै कम हुन्छ। हरियो सागसब्जी स्वस्थ रहन प्रकृतिले दिएको राम्रो उपहार हो। सागसब्जीमा शरीरलाई चाहिने मिनिरल्सका साथै रेसा छोक्राबोक्रा प्रशस्त हुन्छ। यसले आन्द्रा सफा गर्न सहयोग गर्छ। त्यसैले खाजा र खाना खाँदा अन्नको बरोबर भाग हरिया तरकारी खानुपर्छ। बजारमा पाइने सागसब्जीमा पात भएका र पात नभएका हुन्छन्। पात भएका हरिया तरकारी जस्तै रायो साग, चम्सुर, मेथी साग, फर्सीको मुन्टा जस्ता ठूला पात भएकाबाट १ कचौरा र पात नभएका जस्तै हरियो सिमी, बोडी, परवल, बरेला जस्ता तरकारी मिसाएर एक कचौरा गरी दुई कचौरा लगभग ३ सय ग्राम तरकारी खानुपर्छ।

मरमसला– जिब्रोको स्वादका लागि मरमसला प्रयोग गरिन्छ। जति मसला र चिल्लो चिज प्रयोग हुन्छ त्यति नै शरीमा गर्मी बढाउने गर्छ जसले टाउको दुख्ने लगायत समस्या आउँछ। अर्को बुझ्नुपर्ने कुरा, एक पटक पाकिसकेको तरकारी फेरि तताएर खानु हुँदैन। यसले एसिडिटी बढाउँछ र टाउको दुखाउँछ।

फलफूल– सागसब्जी जस्तै फलफूल पनि स्वस्थ रहन प्रकृतिले दिएको श्रेष्ठतम् उपहार हो। यो चाँडै पच्ने र हलुका आहार हो। फलफूललाई खाना र खाजाको रूपमा प्रयोग गर्न सकिन्छ। खाना खानेबित्तिकै भने सलादका रूपमा फलफूल खानुपर्छ। यसले पाचन अघि बढाउन सजिलो बनाउँछ। तर सलादचाहिँ खानापछि खानु उपयुक्त हुन्छ।
यसरी एक दलीय अन्नका खाना, हरियो तरकारी र फलफूलको तीन थरी बराबर मिलाएर खाँदा कब्जियत हुँदैन र टाउको दुख्ने लगायत अरू समस्या कम हुन्छ।

पानी– भाइबहिनी हो, हाम्रो शरीरले हरपल हामीसँग बोलिरहेको हुन्छ तर हामी यसको बोलीलाई बुझ्दैनौं। टाउको दुख्दा शरीरले पानी कमी भयो भनेर संकेत गरेको हो। दैनिक जीवनमा पानीको काम सरसरती हेर्दा सरसफाइका लागि देखिन्छ। हामी लुगा फोहोर भयो भने, खाएको भाँडा पखाल्न र खानापछि हातमुख धुन पानी प्रयोग हुन्छ। पानी भएन भने सफा गर्न सकिँदैन। शरीरभित्र पनि त्यही हो। पानी कमी भयो भने शरीरभित्र पाचनपछि निस्केको फोहोर बाहिर आउन पाउँदैन र समस्या हुन्छ। त्यसैले पानी नियमित पिउनुपर्छ। तर मनलाग्दी पानी पिउनु हुँदैन।

पानी पिउने उचित विधि
– बिहान उठ्नेबित्तिकै २ देखि ३ गिलास मन तातो पानी घटघट पिउने र शौचालय जाने। बिहानको पानीले हाम्रो आन्द्रा सफाइ गरेर फोहोर निष्कासन गर्छ।

– खाना वा खाजा खाँदा पानी नपिउने, चपाईचपाई खाने।
– दिउँसो प्रतिघन्टा १५० देखि २०० एमएल पानी पिउने। हरेक ठोस आहार र पानीको अन्तर करिब आधादेखि एक घन्टाको फरक गर्ने।

– बेलुकी सुत्दा आधादेखि १ गिलास मन तातो पानी पिएर सुत्ने।
यसरी पानी पिउँदा शरीरमा चाहिने पानी पुग्छ। पानीको नियम मात्र मिलेमा पनि धेरै रोगबाट बच्न सकिन्छ। त्यसैले स्कुलमा पानी लाने बानी गरौं र समय समयमा पानी पिऔं।

टाउको किन दुख्छ ?
भाइबहिनी हो ! धेरै मोबाइल, ल्यापटप, कम्प्युटर र टिभी एकोहोरो हेर्ने बानी छ ? जंकफुड जस्तै चाउचाउ, कुरमुरे, चिप्स जस्ता प्याकेटका खानेकुरा खाने बानी छ ? स्कुल छुटेपछि पानीपुरी र चटपटे खाने बानी छ ? धेरै रिस उठ्छ ? खानामा सागसब्जी र फलफूल नखाने बानी छ ? राति ढिला खाना खाने र ढिला सुत्ने बानी छ ? पानी कत्तिको पिउने बानी छ ? अमिलो, चिल्लो र पिरो कत्तिको मन पर्छ ? कोल्ड ड्रिंक्स र तयारी पेयपदार्थका साथै चिया, कफी कत्तिको खाने बानी छ ? गृहकार्य र पढाइकोे कत्तिको तनाव छ।

यस्तै अनुचित खाना, अनुचित विहार र गलत विचारका कारण टाउको दुख्छ।

के गर्ने ?
– बिहान सबेरै उठ्ने र बेलुकी समयमै सुत्ने।
– बेलुकी ढिला खाना खाने बानी नगर्ने। बेलुकी ८ बजेभन्दा अगाडि खाना खाइसक्ने।
– हरेक बिहान १ घण्टा व्यायाम अथवा मर्निङवाक गर्ने। टाउको दुख्दा योग, व्यायाम र प्राणायामले धेरै लाभ गर्छ।
– हिँड्दा, बस्दा, उभिँदा, सुत्दा जहिले पनि ढाड सिधा राख्ने। टाउको निहुराएर नबस्ने।
– शारीरिक वेगहरू जस्तै हाछ्यूँ, खोकी, पिसाब नरोक्ने।
– जहिले पनि उचित विचार गर्ने। लोभ, मोह, ईष्र्या, रिस जस्ता अनुचित विचारबाट बच्ने।
– आफूसँग भएका चिज बाँडेर खाने। लिनेभन्दा दिने भाव मनमा राख्ने जसले मन हलुको गराउँछ।

के नखाने ?
–  मैदावाट बनेका परिकार नखाने।
–    जंकफुड, नुन बढी भएका खानाहरू जस्तै चाउचाउ, चिप्स, कुरकुरे जस्ता खानेकुरा नखाने।
–    माछामासु र अन्डाको बढी प्रयोग नगर्ने। यी चीज खाँदा सागसब्जी र फलफूल पनि अनिवार्य खाने। टाउको दुख्दा यी खानेकुरा नखाने। यी खानेकुराले दुखाइ बढाउँछ।

–    दूध, दूधबाट र चिनीबाट बनेका परिकार जस्तै चकलेट र मिठाइहरू नखाने।
–    घिउ, बढी चिल्लो, बढी मसला, गरम मसला, पिरो नखाने। साथै गोलभेडा, लसुनपोटी र अमिला अचार नखाने। गालेको र बोत्तलमा राखिएका पुराना अचारहरू नखाने। मसला वर्गले शरीरमा गर्मी बढाउँछ।
–    तारे, भुटेको र सुक्खा खानेकुरा नखाने।
–    बीचबीचमा कुचुकुचु खाने बानी नगर्ने।

–    चिया, कफी र कोल्ड ड्रिंक्स जस्तै कोक, फेन्टा, हर्लिक्स, भिवा आदि नखाने। यी पेय पदार्थमा चिनीको बढी प्रयोग हुन्छ।

–    पानीपुरी, चटपटे जस्ता खाना नखाने।
आज अधिकांश बालबालिका रङ्गीन विज्ञापनको प्रभाव र मिठोका लागि पसलका खानेकुरा खाने गर्छन्। अभिभावक पनि सजिलोका लागि पसलका तयारी खानेकुरा टिफिनमा पठाउँछन्। यस्ता खानेकुरामा बढी चिल्लो, पिरो र स्वादका लागि कृत्रिम चिज राखिएको हुन्छ जसले स्वास्थ्यलाई असर गर्छ। बालबालिका मात्र होइन, ठूलाहरू पनि स्वादका लागि यस्ता खानेकुराको पछि लाग्छन्। हाल कब्जियत, टाउको दुखाइ जस्ता समस्या यस्तै अखाध्य खानपानले भएको हो। त्यसैले अभिभावकले पनि बालबालिकाको स्वास्थ्यको ख्याल गरेर घरकै खानेकुरामा जोड दिऔँ। साथै स्कुलका पनि शिक्षकले बालबालिकालाई स्वस्थवद्र्धक खाना खान प्रेरित गरौं। बालबालिका स्वस्थ भए मात्र सही तरिकाले पढ्न सक्छन्। भाइबहिनी हो, तपाईहरूले पनि आमाबुबालाई घरकै खाजा खान्छौ भन्न सक्नुपर्छ।

ध्यान दिनुपर्ने कुरा
– टाउको दुख्नेबित्तिकै आफू खुशी औषधि नखाने।
–    धेरै दुखेको अवस्थामा आराममा बस्ने। धेरै हावा चल्ने, धेरै गर्मी र हल्ला हुने ठाउँमा नबस्ने।
–    टाउको दुख्दा गर्मीले दुखेको हो कि चिसोले थाहा पाउने। गर्मीले दुखेको हो भने टाउकोलाई चिसो पानीले खलखल पखाल्ने र आराम गर्ने। चिसोले दुखेको हो भने निधार र टाउकोमा हातले सेक्ने।
–मन र शरीर  दुवैलाई शान्त र आराम राख्ने। बिस्तारै गहिरो लामो श्वास तान्ने र बिस्तारै छोड्ने। यसरी गहिरो श्वास तान्दा शरीर भित्र सफा अक्सिजन प्रवेश गर्छ र रगत सफा हुन्छ।
–सहनै नसक्ने गरी दुखेमा वा धेरै गह्रो भएमा चिकित्सकको सल्लाह लिने।
(महर्जन प्रकृतिप्रेमी समूहसँग सम्बद्ध छिन्।)

प्रकाशित: ७ मंसिर २०७६ ०४:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App