१३ श्रावण २०८३ बुधबार
image/svg+xml
अर्थ

नेपालगन्ज–दिल्ली उडानको मुद्दा ओझेलमा

नेपालगन्ज विमानस्थलको नवनिर्मित टर्मिनल भवन। तस्बिर : अर्जुन/नागरिक

नेपालगन्ज–दिल्ली सिधा हवाई उडानको मुद्दा ओझेलमा परेको छ। नेपालगन्ज–दिल्ली उडानको मुद्दालाई नागरिक स्तरबाट लामो समयदेखि उठ्दै आएको थियो। नेपालगन्जस्थित नागरिक अगुवा, राजनीतिक दल, उद्योगी, व्यवसायी, जनप्रतिनिधिलगायतले नेपाल सरकारका विभिन्न निकाय, भारतीय दूतावासमा डेलिगेसन गरेर दबाब स्वरूप पटक–पटक ध्यानार्कषण गराइसकेका छन्।  

दुई देशबिच कूटनीतिक रूपमा निर्णय गरेर नेपालगन्ज–दिल्ली उडानको विषय टुंग्याउनुपर्ने यहाँका नागरिकको माग छ। पछिल्लो समय नेपालगन्ज विमानस्थलमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको टर्मिनल भवन निर्माण भएर सञ्चालनमा आएसँगै नेपालगन्ज–दिल्ली हवाई उडानको मुद्दालाई सहज बनाएको छ तर सरकारको प्राथमिकतामै परेको छैन। 

नेपालगन्ज विमानस्थल कार्यालयका प्रमुख सन्तोषकुमार पोखरेल नेपालगन्ज–दिल्ली हवाई उडानको निर्णय नितान्त दुई देशबिचको विषय भएको बताउँछन्। ‘नेपालगन्ज–दिल्लीसहित अन्तर्राष्ट्रिय उडान गर्न हामीसँग पर्याप्त पूर्वाधार बनिसकेको छ, सम्बन्धित देश बिचको निर्णयलाई तत्कालै कार्यान्वयन गर्न सक्ने हिसाबले पूर्वाधार बनेको अवस्था छ’, उनले नागरिकसँग भने, ‘सरकारको निर्णयलाई हामी तत्कालै कार्यान्वयन गर्न सक्छौं।’

नेपालगन्ज विमानस्थल कार्यालयले करिब तीन महिनादेखि नयाँ टर्मिनल भवनबाट आफ्नो सेवा दिइरहेको छ। गत वैशाख १५ गतेबाट सञ्चालनमा आएको अन्तर्राष्ट्रिय मापदण्डको तीनतले टर्मिनल भवन अन्डर ग्राउन्डसहित ५५ हजार स्क्वायर फिट छ। टर्मिनल भवनको तीन वटा ब्लकसहित जहाज पार्किङ क्षेत्र, सवारी साधन पार्किङ, गेष्ट हाउस, ढल व्यवस्थापन, बगैंचा, पैदलमार्ग, शौचालयलगायतका संरचना निर्माण गरिएको छ।  

टर्मिनल भवनमा एकै पटक ६९८ जना बस्न मिल्ने सिट क्षमता रहेको छ। नेपालगन्ज विमानस्थल कार्यालयका अनुसार काठमाडौं–नेपालगन्जका लागि अहिले दैनिक बुद्ध एयरले ४, श्री एयरले ३ र यती एयरले १ मात्र उडान गर्दै आएको छ। यसबाहेक पहाडी क्षेत्रका लागि समिट एयरले ३, ताराले २, सिता एयरले २ जहाजमार्फत यात्रु तथा कार्गो बोक्ने गरेका छन्। यस्तै नेपाल एयरलाइन्सको जहाजले आइतबारदेखि शुक्रबारसम्म सुदूरपश्चिमका विकट पहाडी जिल्लामा उडान भर्छन्।

पश्चिम नेपालको अति नै व्यस्त हुने नेपालगन्ज विमानस्थलबाट क्षेत्रीय तथा अन्तर्राष्ट्रिय उडान गर्न सक्ने पर्याप्त पूर्वाधार हुँदाहुदै पनि सरकारको प्राथमिकतामा नपर्नु दुःखद कुरा भएको पर्यटन व्यवसायी एवम् नाट्टा बाँकेका पूर्वअध्यक्ष श्रीराम सिग्देल बताउँछन्। ‘नेपालगन्ज विमानस्थल पूर्वाधारका दृष्टिले सम्पन्न छ तर नेपालगन्ज–दिल्ली सिधा हवाई उडान गर्ने वर्षौंदेखिको मागलाई सरकारले चासो नै दिएको छैन’, उनले भने, ‘नेपालगन्जबाट दिल्लीसहित भारतका एक/दुई वटा सहरमा सिधा हवाई सेवा विस्तार गर्न सकेमा दुवै देशले लाभ लिन सक्ने अवस्था छ।’

नेपालगन्ज–दिल्ली उडानले पश्चिम नेपाललाई भारतसँग सिधै जोड्ने भएकाले भारतबाट आउने मानसरोवर तीर्थयात्रीको संख्या बढ्ने यहाँका नागरिक अगुवा बताउँछन्। नागरिक समाजका अगुवा डा. सुरेशकुमार कनोडिया नेपालगन्ज–दिल्ली हवाई उडानले पश्चिम नेपालमा पर्यटकीय गतिविधि बढाउने र यसबाट राज्यलाई नै आर्थिक रूपले फाइदा पुग्ने बताउँछन्।

‘नेपालगन्ज–दिल्ली हवाई उडानले भारतको महाराष्ट्र र गुजरातबाट नेपाल घुम्न आउने पर्यटकलाई ठुलो राहत मिल्नेछ’, उनले भने, ‘पश्चिम नेपालबाट दिल्लीसहित भारतका विभिन्न सहरमा जाने नेपालीलाई पनि धेरै सहज हुनेछ।’ राज्यले ठुलो लगानी गरेर निर्माण गरेको टर्मिनल भवनलाई सदुपयोग गर्नका लागि पनि नेपालगन्ज–दिल्ली उडान आवश्यक रहेको कनोडियाको भनाइ छ। ‘सबै सम्भावित कुरालाई नेपाल सरकारले कूटनीतिक माध्यमबाट पहल नगर्दा यो मुद्दा ओझेलमा परेको हो’, उनले थपे।  

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी बाँकेका सभापति विवेककुमार श्रेष्ठ नेपालगन्ज–दिल्ली उडानका विषयमा आफ्नो पार्टीले सरकारको नेतृत्व गरेपछि पटक–पटक आफूले नेतृत्वको ध्यानाकर्षण गराएको दाबी गर्छन्। ‘हाम्रो पार्टी सभापति रवि लामिछाने भारत भ्रमणमा जाने बेलामा मैले हाम्रो जिल्लाको मागमध्ये नेपालगन्ज–दिल्ली सिधा हवाई उडानको विषयलाई पनि प्रमुखताका साथ राखेको थिए, प्रधानमन्त्री बालेन्द्र शाह पनि भारत भ्रमणमा जाने कुरा छ, त्यो बेला पनि यो मागलाई प्रमुखताका साथ उठाउन म आग्रह गर्नेछु’, श्रेष्ठले भने। रास्वपा सभापति लामिछाने भारत भ्रमणमा गएका बेला नेपालगन्ज–दिल्ली हवाई उडानको एजेन्डा पेश भएन।  

नेपाली वायुसेवा प्रदायक कम्पनी बुद्ध एयर र श्रीयरले हाल सञ्चालनमा रहेका आफ्ना जहाजमार्फत नेपालगन्ज–दिल्ली उडान भर्न चासो देखाएका थिए। भारतीय नागरिक उड्डयन प्राधिकरणबाट भने अनुमति दिन इन्कार गरिएको बताइन्छ।

प्रकाशित: १२ श्रावण २०८३ ११:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App