८ मंसिर २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

मुटुकाे चाल गडबडी?

मुटुमा विद्युत बग्ने नसासम्बन्धी रोगका कारणले चालमा गडबडी हुन्छ। समयमा उपचार पाएन भने मानिसको ज्यान जोखिममा पर्दछ।

चिकित्सकका अनुसार प्रतिहजार मानिसमा एकजनालाई मुटुको चाल गडबडीसम्बन्धी रोग ‘कार्डियाक एरिदमिया’ हुन्छ। वृद्धवृद्धालाई मात्र नभई बढ्दो उमेरका युवा तथा बालबालिकामा समेत यो रोग लागेको पाइन्छ।

कतिपय मानिसमा यो रोग जन्मजात हुन्छ। पछिल्लो समय शारीरिक व्यायाम, खेलकुद, अस्वस्थ खानपान तथा कडा परिश्रम नगर्ने मानिसमा मुटुको चाल गडबडीको समस्या देखिएको छ। प्रविधिको सहायताले रोग सजिलै पहिचान तथा उपचार सम्भव भएको छ।

शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका मुटु रोग तथा मुटुको चालसम्बन्धी वरिष्ठ विशेषज्ञ डा. रोशन राउतका अनुसार विश्वमा मुटुको चालसम्बन्धी रोगी ०.१ प्रतिशत छन्। छिमेकी मुलुक भारत र चीनमा पनि त्यति नै प्रतिशतको हाराहारीमा छन्। नेपालमा पनि त्यही आँकडाको हाराहारी हुनुपर्दछ भन्ने हाम्रो मान्यता छ, उनी भन्छन्, प्रत्येक ओपीडीमा प्रतिदिन १०/१५ जना आउँछन्।’

उनका अनुसार जटिल खाले मुटुको चालसम्बन्धी रोगको उपचार गर्ने विशषज्ञ चिकित्सकको अभाव छ। दुईजनाले सबैखाले मुटुको उपचार गर्न परेको डा. राउत भन्छन्। त्यसो त, सबै प्रकारका मुटुको चालसम्बन्धी उपचार गर्ने उनी एक मात्र चिकित्सक मानिन्छन्। उनले ३ हजार बढीलाई उपचार गराइसकेको छन्। जटिल प्रकारका एक सय बढी उपचार गराइसकेको उनी बताउँछन्।

विश्वस्वास्थ्य संगठनको तथ्यांकअनुसार नेपालमा मुटु तथा रक्तनलीहरूमा हुने रोगबाट कुल मृत्यु संख्याको ३० प्रतिशत अर्थात् १ लाख ८३ हजारमा ५४ हजार ९ सय छन्।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को पछिल्लो अनुसन्धानका आधारमा २ दशमलब ९ प्रतिशत मुटु रोगी भएको अनुसन्धानकर्ता डा. मेघनाथ धिमाल बताउँछन्।’ त्यतिखेर सन् २०१६ देखि २०१८ सम्म १३ हजार २ सय मानिसमा, ३० वर्ष उमेर समूहभन्दा माथि अनुसन्धान गरिएको थियो,’ डा. धिमाल भन्छन्, ‘ग्लोबल बर्डन डिजिज’मा मुटुसम्बन्धी रोग पहिलोमा पर्दछ। नेपालमा १ सय जनामा ३ जना मुटु रोगी देखिन्छन्।’

त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा पनि मुटुको चालसम्बन्धी सम्पूर्ण उपचार हुँदैन। त्यस्तै वीर अस्पतालमा मुटु रोगका लागि सम्पूर्ण उपचार हुँदैन। वीर अस्पतालका कार्डियोलजी विभागका प्रमुख प्राडा. रामकिशोर साह प्रतिदिन एक सय मुटुको बिरामी वीरमा आउने गरेको औंल्याउँछन्। ‘सुविधा तथा जनशक्ति कम भएकोले मुटुको चालसम्बन्धी उपचार वीर अस्पतालमा हुँदैन,’ डा. साह भन्छन्,  मुटुको उपचार सीमित कोटामा हुन्छ, अनि कहाँबाट हुन्छ उपचार?

चाल कति?
स्वस्थ मानिसमा मुटुको चाल प्रतिमिनेट ६०–१०० हुनुपर्दछ। खेलकुद वा शारीरिक व्यायाम गरिरहेको अवस्थामा मुटुको चाल स्वतः बढ्ने हुन्छ। त्यसलाई ‘फिजियोलोजिकल’ अर्थात् स्वाभाविक मानिन्छ। उपचारको आवश्यकता पर्दैन भन्छन् चिकित्सकहरू। यदि व्यायाम नगरेको बेला मुटुको चाल अत्यधिक भएमा रोग लागेको बुझ्नु पर्दछ। मुटुको चाल अचानक बढ्यो भने त्यो अस्वाभाविक वा असाधारणलाई ‘प्याथोलोजिकल’ मानिन्छ। यसको समयमा उपचार हुन आवश्यक हुन्छ।

चिकित्सा भाषामा मुटुको धड्कन प्रतिमिनेट ६० त्योभन्दा कम वा सुस्त हुनुलाई ‘ब्रेडीकार्डिया वा कम चाल’ भएको भनिन्छ। छिटो हुनुलाई ‘टेचिकार्डिया’ भनिन्छ।

‘कतिपय अवस्थामा मुटुको चालमा गडबडी आइहालेमा तत्कालै चिकित्सकको सल्लाह लिनु पर्दछ भने कतिपय अवस्थामा उपचार पद्धति  अपनाउनु पर्दैन। तर मुटुमा असर गरिरहेको छ भने छिट्टै उपचार गर्नु पर्ने हुन्छ,’ भन्छन् डा. राउत।

उनका अनुसार मुटुको विद्युत बग्ने नसासम्बन्धी रोग भएको कारणले जटिल खाले चाल गडबडी भएका मानिसले तुरुन्त उपचार पाएन भने ज्यान जाने खतरा हुन्छ।

मुटु कसरी चल्छ ?
मानिस जीवित रहन मुटु चल्नु पर्दछ। मुटु चल्न मुटुमा विद्युत बग्नु पर्दछ। विद्युत बग्न मुटुमा भित्रै विद्युत उत्पादन हुनुपर्दछ। त्यो स्थानलाई ‘साइनस नोड’  भन्छन् डा. रोशन राउत। उनका अनुसार ‘साइन्स नोड’ बाट मुटुमा विशेष बाटो वा तारहरू फैलिएका हुन्छन्। त्यसबाट विद्युत बहन थालेपछि मुटु चल्न थाल्दछ।

मुटुको चाल गडबडी
रोग लागेको मानिसमा ‘साइनस नोड’ भन्दा बाहेक मुटुको अन्यत्र भागमा विद्युत उत्पादन भएमा वा विद्युत प्रवाह हुने बाटो वा रेशामा भन्दा अन्य बाटोमा भएमा पनि मुटुको चाल अत्यधिक हुने डा. रोशन राउत बताउँछन्। उनका अनुसार ‘मुटुको चाल गडबडी हुने कारण कतिपयमा जन्मजात पनि हुन सक्छ। केहीमा उमेर बढ्दै जाँदा हुन्छ। हृदयाघातपछि हुन्छन्। मुटुमा संक्रमण भएको अवस्थामा पनि हुनेछन्। कतिपयको कारण थाहा पाउन नसकिने हुन्छ।’

‘मुटुको चाल कम वा बढी हुन्छ। मुटुको चाल कम हुँदा चक्कर लाग्ने, छाती दुख्ने, हिँड्न गाह्रो हुने जस्ता लक्षण देखा पर्दछन्। त्यस्तो अवस्थामा मुटुको चाल बढी गर्ने तन्तुलाई निकालेर उपचार गरिन्छ, डा. रोशन राउत भन्छन्, ‘चिकित्सा भाषामा त्यसलाई ‘इलेक्ट्रोफिजिकल स्टडी एण्ड एब्लेसन’ भनिन्छ। त्यो विधिद्वारा समस्या पत्ता लगाउँछौं। त्यसपछि त्यसलाई नस्ट गरिन्छ। रोग सधँैका लागि निको हुनेछ।’
यदि रिंगटा लागेर मानिस बेहोस भएमा एक्कासि मृत्यु पनि हुन सक्छ।

उपचारः
पहिलो उपचार विधि भनेको औषधि सेवन गर्ने हो। औषधि जिन्दगीभरि खानु पर्दछ। औषधिले निको नहुन सक्छ। यसले साइड इफेक्ट पनि हुन्छ। औषधिले काम नगर्ने अवस्था आएपछि चिकित्सकले पेसमेकर राख्ने सल्लाह दिन्छन्।

डा. रोशनका अनुसार ‘नेपालका केही ठूला अस्पतालहरूमा साधारण खाले पेसमेकर राख्ने सुविधा पाइन्छ। पेसमेकर स्वचालित यन्त्र हो। यो मानिसको छातीमा राखिन्छ। साधारण खालको मुटुको चाल अनियमित छ भने सरल उपचार गरिन्छ। यो एक घण्टा समयमा पूरा हुनेछ। साधारण मुटु चालको विद्युतीय गडबडी ‘इलेक्ट्रो फिजियोलजी (इपी) मेसिनद्वारा परीक्षण सुविधा सम्पन्न क्याथल्याब’मा गरिन्छ। यो सुविधा उपत्यकाका अस्पतालहरू शहिद गंगालाल, ह्याम्स र नोबल विराटनगरमा छन्।’

साधारण खालको मुटुको चालको उपचारका लागि औषधि खाइरहनु पर्दैन। यो विधि पछिल्लो समय उपचार पद्धतिको निर्देशिकामा आइसकेको छ। साधारण खालको उपचार विधिका लागि शहिद गंगालालमा करिब ५० हजार रुपैयाँ पर्दछ। निजी अस्पतालमा करिब ७० हजार रुपैयाँ लाग्ने छ।

साधारण किसिमको मुटुको चालमा गडबडी भएमा पेसमेकर राखेर उपचार गर्दछन्। यो सुविधा अधिकांश ठूला अस्पतालमा छन्। जटिल खालका समस्या आएमा शहिद गंगालालमा मात्र उपचार हुन्छ।

जटिल उपचारः थ्रीडी म्यापिङ प्रविधि
मुटुको चालसम्बन्धी जटिल समस्या थ्रीडी म्यापिङ प्रविधि गंगालालमा भित्रिसकेको छ। जटिल मुटुको चाल गडबडी भएमा थ्रीडी म्यापिङ प्रविधि प्रयोग गरिन्छ। यो उपचार गर्न तीन घण्टा लाग्छ। यो सुविधा गंगालालबाहेक निजी अस्पताल ह्याम्समा पनि छ।

मुटुको चालसम्बन्धी जटिल उपचार गर्नु परेमा दुवै अस्पतालमा डा. रोशन राउत जान्छन्। उनी भन्छन्, ‘जनशक्तिको अभाव छ। दुईजना चिकित्सहरू छन्। अन्यत्र मैले सहयोग गर्ने गरेको छु।’

डा. राउतका अनुसार थ्रीडी म्यापिङ प्रविधिको सहयोगमा ‘थ्रीडी एनाटोमी’ अर्थात् मुटुको थ्रीडी इमेज बनाइन्छ। त्यसबाट मुटुमा सक्रिय रहेको विद्युतीय चार्ज प्रवाह गर्ने पथहरू थ्रीडी सचित्रमा प्रस्ट देखिन्छ। जसका कारण जटिल उपचार पनि सम्भव हुन्छ। 

‘यो प्रविधिको सहयोगले औसतमा तीन घण्टा उपचार गर्न समय लाग्छ। बिरामीलाई बेहोस गर्नु पर्दैन। यो विधिमा मुटुको शल्यक्रिया गर्न पर्दैन। साधारणतया त्यही दिन नै बिरामी हिँडडुल गर्न सक्ने,’ डा. रोशन बताउँछन्।

सीआरटी पेसमेकर
कार्डियाक रिसिन्क्रोनाइजेसन थेरापी (सीआरटी) पेसमेकर मुटुको चाल बढी वा घटी भएर राख्ने होइन। मुटुले काम गर्ने शक्ति कम भएर बिरामीलाई श्वास फेर्न गाह्रो हुने वा काम गर्न अपठेरो हुने र बारम्बार अस्पतालमा भर्ना हुनुपर्ने अवस्थामा विशेष किसिमको ‘सीआरटी पेसमेकर’ राखिन्छ।

यसलाई तीन तारे पेस मेकर भनिन्छ। त्यो राखेपछि बिरामीको काम गर्ने क्षमतामा सुधार हुन्छ। श्वास फेर्न सजिलो हुन्छ। अस्पतालमा भर्ना हुने समस्या आउँदैन। सिआरटी उपचार सुविधा गंगालाल अस्पतालमा मात्र छ। त्यो सीआरटी पेसमेकर डा. राउतले मात्र राख्ने गरेको उनी बताउँछन्। उनका अनुसार करिब ५ लाख रुपैयाँ उपचार खर्च लाग्नेछ।

अत्यधिक मुटुको चालले ज्यानै जाने खतरा भएमा विशेष किसिमको ‘आइसिडी पेसमेकर’ राखिन्छ। त्यसले चालमा गडबडी हुने बित्तिकै थाहा पाउने गर्दछ। त्यसले करेन्ट दिएर ठीक पार्छन्। ज्यान जोखिम कम गर्दछ।

जनचेतना र जनशक्ति कमी
एक्कासि मानिस मृत्युको कुरा आएमा ‘हार्ट अट्याक’ भन्ने गरिन्छ। यद्यपि अधिकांशमा मुटुको चाल गडबडी भएर मृत्यु भएको देखिएको छ, डा. राउत भन्छन्, ‘हार्ट अट्यार्क हुु पनि सक्छ, नहुन पनि सक्छ। एक्कासि हुनु भनेको मुटुको चाल गडबडी भएर भएको हो।’

पछिल्लो समय रोगको उपचारसँगै मुटुको चालमा गडबडी पाइएपछि अन्यत्रबाट रिफर भएका बिरामी गंगालालमा आउने गर्दछन्। उनीहरूमा कोलस्ट्रोल, उच्च रक्तचाप, सुगर, मुटु संक्रमण, खानपान, शारीरिक तथा मोटोपना व्यायाममा कमीजस्ता समस्याले मुटुको चालमा समस्या आउने गरको डा. रोशन राउत बताउँछन्।

नेपालभर मुटुको चालसम्बन्धी विशेषज्ञ दुईजना छन्। ती दुईमध्ये सबै खाले मुटुको चाल गडबडीको उपचार गर्नेमा डा. राउत मात्र छन्। सरकारले थप जनशक्ति तयार पार्न सकेको छैन। जसले गर्दा जटिल खालको उपचार पाउन गंगालालमा एक वर्ष कम्तीमा कुर्न पर्दछ। डा. राउत भन्छन्, ‘सरकारले विपन्न, १५ वर्षमुनिका, र ७५ वर्षभन्दा माथिका मानिसलाई मुटुरोगमा सहुलियत दिएको छ। यद्यपि उपचार गर्ने जनशक्ति गंगालाल अस्पतालबाहेक अन्यत्र व्यवस्थापन गर्न सकेको छैन। कम्तीमा सातै प्रदेशमा १/१ उपचारकेन्द्र भएमा बिरामीलाई सहज हुनेछ।’

प्रकाशित: ११ असार २०७६ १२:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App