३१ वैशाख २०८३ बिहीबार
image/svg+xml
स्वास्थ्य

क्रुज जहाजमा हान्टाभाइरस फैलिएपछि विश्वभर त्रास, नेपालमा जोखिम न्यून

नेपालको राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रले हालसम्म नेपालमा हान्टा भाइरसको जोखिम नभएको जनाएको छ । हालसम्म नेपालमा यो भाइरसको संक्रमण पुष्टि नभएको भन्दै तत्काल हान्टा भाइरसको जोखिम नरहेको जनाएको हो । साथै, जोखिम अति न्यून रहेको पनि उल्लेख गरेको छ ।

दुई साता अघि अर्थात् मे ४ मा हिन्द महासागर क्षेत्रमा सञ्चालित क्रुज जहाजमा यात्रा गरेका यात्रुहरूमा हान्टा भाइरस पुष्टि भई केहीको मृत्यु भइसकेको छ । जहाजमा विभिन्न देशका १ सय ५० जना यात्रु सवार थिए । जहाजमा देखिएको संक्रमणपछि विश्वभर त्रास उत्पन्न भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पनि नेपालमा हान्टा भाइरसको जोखिम न्यून रहेको जनाएको छ । महाशाखाका जुनोटिक तथा महामारी व्यवस्थापन शाखाका प्रमुख डा. अमृत पोखरेलले पानी जहाजमा देखिएका र अत्यन्त नजिकको सम्पर्कमा रहेकाहरूमा मात्र हान्टा भाइरसको संक्रमण पुष्टि भएकोले नेपालमा तत्काल उच्च जोखिम नरहेको बताए ।

‘पानी जहाजमा रहेका यात्रुहरूमा कुनै पनि नेपाली नागरिक नरहेको र उनीहरू नेपालतिर नआएको कारण जोखिम न्यून देखिन्छ,’ उनले भने ।

हाल देखा परेको हान्टा भाइरस मानिसदेखि मानिसमा सर्ने भएकाले छिमेकी राष्ट्रहरूमा देखा परेमा वा कुनै बिरामीमा लक्षण देखिएमा नेपालमा जोखिम बढ्न सक्ने उनको भनाइ छ । हालको जोखिम न्यून भएकोले नेपालस्थित विश्व स्वास्थ्य संगठनले पनि कुनै संक्रमित छिमेकी राष्ट्रमा भेटिएपछि परीक्षणका लागि किट उपलब्ध गराउने जानकारी दिएको उनले बताए ।

दक्षिणपूर्वी एशियाली मुलुकमा देखा परेको हान्टा भाइरसको प्रजाति पनि नेपालमा पुष्टि नभएकोले यसको तत्काल जोखिम नरहेको उनले बताए । नेपालमा दक्षिणपूर्वी एशियामा देखा परेको हान्टा भाइरसको विषयमा हालसम्म अनुसन्धान नभएको पनि उनले बताए ।

चिकित्सकका अनुसार हान्टाभाइरस एक दुर्लभ भाइरल रोग हो, जुन मुख्यतया संक्रमित मुसाको पिसाब, दिसा, र्‍याल वा तिनले दूषित बनाएको वातावरणसँगको सम्पर्कमा आउँदा मानिसमा संक्रमण हुन सक्छ । मानिसमा संक्रमण भइसकेपछि सीमित रूपमा संक्रमण फैलिन सक्छ । अति नजिकको सम्पर्कमा आएमा मानिसमा संक्रमण हुने सम्भावना रहन्छ ।

भाइरस संक्रमण भएमा ज्वरो, अत्यधिक थकाइ, मांसपेशी तथा पेट दुखाइ, बान्ता, पखाला र सास फेर्न गाह्रो हुने जस्ता लक्षणहरू देखिन सक्छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान शाखाका प्रमुख डा. शेरबहादुर पुनले सन् २०१७ मा नेपाल भ्रमण गरी फर्केका स्पेनी पर्यटकमा हान्टा भाइरस पुष्टि भएको बताएका छन् । तर यसको बारेमा नेपालले थप अनुसन्धान नगरेकाले जोखिम कायमै रहेको र नियमित परीक्षण तथा अनुसन्धानबाट यकिन गर्न सकिने उनले बताए ।

‘नेपालमा नियमित परीक्षण भएको छैन, अनुसन्धान पनि भएको देखिँदैन,’ उनले भने ।

यो भाइरसको संक्रमणबाट बच्न घर तथा वरपरको वातावरण सफा राख्ने, मुसा प्रवेश गर्ने सम्भावित स्थान बन्द गर्ने, मुसाको फोहोर सफा गर्दा मास्क तथा पन्जाको प्रयोग गर्ने, साबुनपानीले नियमित हात धुने बानी बसाल्ने गर्न सूचना केन्द्रले सुझाव दिएको छ । साथै, श्वासप्रश्वासमा समस्या वा अन्य असामान्य लक्षण देखिए नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न पनि आग्रह गरिएको छ ।

तर अफवाहमा नपर्न र अनावश्यक आतंक सिर्जना नगर्न पनि सुझाव दिइएको छ । कुनै शंकास्पद अवस्था रहेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निःशुल्क हटलाइन १११५ मा सम्पर्क गर्न अपिल गरिएको छ ।

प्रकाशित: ३० वैशाख २०८३ १८:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App