२३ पुस २०८२ बुधबार
image/svg+xml
स्वास्थ्य

रेडियोग्राफरहरूको आन्दोलन फिर्ता, माग सम्बोधन गर्ने मन्त्रालयको प्रतिबद्धता

पेसागत मागहरू सम्बोधनका लागि आन्दोलनरत रेडियोग्राफरहरूले आफ्ना सम्पूर्ण विरोधका कार्यक्रमहरू फिर्ता लिएका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उनीहरूका मागहरूलाई संगठन तथा व्यवस्थापन (ओएनएम) सर्वेक्षणमा समावेश गर्ने स्पष्ट प्रतिबद्धता जनाएपछि सरकारी रेडियोग्राफी संघ र नेपाल रेडियोलोजिकल सोसाइटीले संयुक्त विज्ञप्ति जारी गर्दै आन्दोलन फिर्ता लिएको घोषणा गरेका हुन्।

बिहीबार स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य सचिव डा. विकास देवकोटा, सहसचिव भीमप्रसाद सापकोटा तथा दुवै संस्थाका अध्यक्ष र महासचिवहरूसहित भएको औपचारिक संवादमा उक्त सहमति जुटेको हो।

संवादपछि जारी विज्ञप्तिअनुसार, अर्थ मन्त्रालयलगायत अन्य निकायहरूले समेत रेडियोग्राफी क्षेत्रका मागहरू समावेश गर्न निर्देशन दिँदै प्रस्तावित ओएनएम सर्वेक्षणलाई स्वास्थ्य मन्त्रालयमा फिर्ता पठाएका थिए।

स्वास्थ्य सचिव डा. देवकोटाले मागहरूलाई यथासम्भव सम्बोधन गरी संशोधन प्रक्रिया छिट्टै अघि बढाइने आश्वासन दिएका छन्।

यस उपलब्धिलाई सरकारी रेडियोग्राफी संघका अध्यक्ष दामोदर रोक्काले पेसाको आत्मसम्मान, पहिचान र भविष्यको ऐतिहासिक विजयको संज्ञा दिएका छन्।

‘यो केवल एउटा प्रशासनिक निर्णय होइन, यो रेडियोग्राफी पेसाको आत्मसम्मान, पहिचान र भविष्यका लागि गरिएको सङ्घर्षको ऐतिहासिक विजय हो। देशभरका अस्पतालहरूमा खटिएका हाम्रा साथीहरू जसले कालो पट्टी लगाएर शान्तिपूर्ण तर अत्यन्त प्रभावशाली रूपमा काम गरिरहनुभयो। म तपाईंहरूको आँखा, पीडा, समर्पण र आशालाई सम्झन्छु। तपाईंहरूको ऐक्यबद्धता नै आजको सफलताको मेरुदण्ड हो। यो विजय हरेक कार्यरत रेडियोग्राफरको हो, हरेक विद्यार्थीको हो, र हरेक त्यो आवाजको हो जसले ‘हामी पनि महत्त्वपूर्ण छौं’ भन्ने सन्देश दिन हिम्मत गर्‍यो।’ उनले भने।

साथै, आजैदेखि सम्पूर्ण विरोधका कार्यक्रमहरू फिर्ता लिई सबै पेसाकर्मीहरूलाई नियमित काममा फर्कन आग्रह गरिएको छ।

प्रकाशित: १२ असार २०८२ १६:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App