२५ असार २०८२ बुधबार
image/svg+xml
स्वास्थ्य

टिचिङमा ‘मेल हेल्थ क्लिनिक’ खुल्दै

पुरुषमा पनि विभिन्न खाले प्रजनन समस्या हुन्छन्। यौन दुर्बलता, पिसाबमा संक्रमण, वीर्यको गुणस्तर कमजोर, यौन उत्तेजना नहुने जस्ता समस्या हुन्छन्, तर यी समस्याको सही विशेषज्ञ या क्लिनिक थिएन। यो उपचारको टिचिङ अस्पताल महाराजगन्जले नेपालमै पहिलोपटक ‘मेल हेल्थ क्लिनिक’ अर्थात् पुरुष स्वास्थ्य क्लिनिक सुरु गर्न लागेको छ।

अस्पतालका युरोलोजिस्ट डा. भोजराज लुइँटेलका अनुसार गत वर्षदेखि युरोलोजी युनिटले यो सेवा प्रदान गर्दै आएको भए पनि व्यवस्थित रूपमा यो सेवा सञ्चालनमा ल्याउन लागेको हो। ‘मैले प्रस्ताव गरें, उपकुलपतिको कार्यालय र अस्पतालका निर्देशकसहित दुई चरणको बैठक बसिसकेका छौं’, उनले भने।

छुट्टै क्लिनिक सञ्चालन गर्ने कुरा गत वर्षदेखि नै भए पनि अस्पतालमा ठाउँको अभावमा ढिलाइ भएको डा. लुइँटेलले बताए। मेल हेल्थ क्लिनिक आउँदो भदौभित्र सुरु हुने गरी तयारी भइरहेको छ। मेन हेल्थ क्लिनिकमार्फत पुरुष प्रजनन स्वास्थ्यमा आवश्यक पर्ने विभिन्न सेवाका लागि आवश्यक चिकित्सक तथा उपकरणसहित सेवा प्रदान गरिने छ।

यो सेवाका लागि मानसिक रोग चिकित्सक, रगतजन्य रोग, उच्च रक्तचाप, मधुमेह तथा मुटुजन्य रोग हेर्ने चिकित्सक, सर्जन तथा युरोलोजिस्टसहितको टोलीद्वारा एकै ठाउँमा सेवा प्र्रदान हुनेछ। यो सेवा प्रदान भएमा सेवाग्राहीका लागि छरितो र समयमै समस्या पहिचान हुने डा. लुइँटेल बताउँछन्। ‘प्रजनन तथा यौन समस्या हेर्न एउटा मात्र चिकित्सकले हुँदैन, यो मानसिक समस्याले पनि हुन्छ, त्यसको लागि मानसिक रोग विशेषज्ञ नै क्लिनिकमा हुन्छन्’, उनले भने।

चिकित्सकका अनुसार हाल युरोलोजी युनिटमार्फत सातामा दुईपटक यो सेवा दिइरहेकोमा औसत २० जना पुरुष समस्या लिएर आउँछन्। एकीकृत उपचार गर्ने ठाउँको अभावमा विभिन्न ठाउँमा भौंतारिएर मात्र आउने गरेको र कतिपय ढिला गरी उपचारमा पुग्ने गरेका छन्। विकसित देशमा वर्षौं पहिलादेखि नै यो सेवा सञ्चालनमा रहेकोमा नेपालमा भने एकीकृत रूपमा टिचिङले सुरु गर्न लागेको डा. लुइँटेल बताउँछन्। ‘ब्राजिल, अस्टे«लिया जस्ता देशमा एकीकृत मेल हेल्थ क्लिनिक पहिलादेखि नै रहेकाले यस्ता समस्याको उपचार समयमै हुन्छ’, उनले भने।

हालै सार्वजनिक राष्ट्रिय सर्वेक्षणअनुसार नेपालमा ७० प्रतिशत ३० वर्षमाथिका विवाहित जोडीमा यौन दुर्वलता समस्या पाइएको छ। यौन दुर्वलता हुनेमध्येमा ७२ प्रतिशत पुरुष र ६७ प्रतिशत महिला छन्। अध्ययनले गरिबी, तनाव, नसर्ने रोग उच्च रक्तचाप, मधुमेहका कारणले यौन दुर्वलता आउँछ। तीमध्ये ९० प्रतिशत तनावका कारण यौन दुर्वलता हुने गरेको तथ्यांक छ। अध्ययनले महिला स्वास्थ्यका लागि स्वास्थ्य सेवा नेपालभरि भए पनि पुरुष स्वास्थ्यको छुट्टै क्लिनिक नभएकाले एकीकृत पुरुष स्वास्थ्य क्लिनिक हुनुपर्नेमा अध्ययनले सुझाएको थियो।

प्रकाशित: ५ असार २०८२ ०७:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App