लमजुङको प्रदेश अस्पतालले दिएको औषधिका कारण बिरामीको ‘स्वास्थ्य अवस्था गम्भीर’ बनेको भन्दै सामाजिक सञ्जालमा भाइरल बनेको भिडियो प्रकरणमा अस्पतालले उपचारमा कुनै त्रुटि नभएको, र बिरामीमा अत्यन्तै दुर्लभ ‘साइड इफेक्ट’ देखिएको स्पष्टीकरण दिएको छ।
पोर्चुगलमा रहेकी निर्मला श्रीले आफ्ना बुवा बेसीशहर-८ का दिलबहादुर दमाईलाई अस्पतालले कोलेस्ट्रोलको गलत औषधि दिएका कारण अनुहार र संवेदनशील अङ्गमा गम्भीर असर परेको दाबीसहित भिडियो सार्वजनिक गरेकी थिइन्।

उक्त भिडियोमा दिलबहादुरको शरीरभरि कालो धब्बाजस्ता दागहरू र फोका देख्न सकिन्छ। निर्मलाले आफन्तको सहयोगमा प्राप्त उक्त भिडियो सामाजिक सञ्जालमा राखेपछि अस्पताल प्रति तीव्र आलोचना भइरहेको छ।
यस विषयमा अस्पतालका प्रमुख डा. शिशिर देवकोटा, बिरामीलाई गलत औषधि नभई, दिइएको औषधिको ‘साइड इफेक्ट’ देखिएको बताउँछन्। उनका अनुसार, जेठ १९ गते अस्पताल भर्ना भएका दिलबहादुरको जाँच गर्दा पिसाबमा संक्रमण, मिर्गौलामा पत्थरी र रगतमा ट्राइग्लिसराइडको मात्रा बढेको पाइएको थियो।
‘बिरामी पक्षले दाबी गरेजस्तो कोलेस्ट्रोलको औषधि चलाइएको होइन,’ डा. देवकोटाले नागरिक न्युजसँग भने, ‘पिसाब संक्रमणको लक्षणका आधारमा चिकित्सकले ‘सिप्रोफ्लोक्सासिन’ नामक एन्टिबायोटिक चलाउनुभएको थियो, जुन स्थापित चिकित्सकीय प्रोटोकलभित्रै पर्छ।’
डा. देवकोटाका अनुसार, उक्त एन्टिबायोटिकले बिरामीको शरीरमा ‘फिक्स्ड ड्रग इरप्सन’ नामक दुर्लभ प्रतिक्रिया देखाएका थियो। जसका कारण शरीरमा पानीका फोकाहरू पनि देखिएका थिए।
‘यो दश-बीस हजार बिरामीमध्ये एक जनामा देखिने अत्यन्तै दुर्लभ असर हो,’ उनी भन्छन्, ‘दुर्भाग्यवश उहाँमा यो असर देखियो। यो गलत उपचार नभई, सही औषधिको अप्रत्याशित दुष्प्रभाव हो।’
साइड इफेक्ट देखिनासाथ अस्पतालले तत्काल उक्त एन्टिबायोटिक रोकेर एलर्जीको औषधि दिई थप उपचारका लागि भरतपुरस्थित चितवन मेडिकल कलेज (सीएमसी) रिफर गरेको थियो।

बिरामी पक्षले सीएमसीका डाक्टरले नै ‘गलत औषधि’ भनेको दाबी गरे पनि सीएमसीका सूचना अधिकारी पारस अधिकारीले त्यसलाई बुझाइको फरक भनेका छन्।
‘हाम्रा चिकित्सकले गलत औषधि भन्नुभएको होइन, दिइएको औषधिको साइड इफेक्ट भन्नुभएको होला,’ अधिकारीले स्पष्ट पारे, ‘सामान्य सिटामोलले पनि ‘साइड इफेक्ट’ देखाउन सक्छ। कसैलाई देखाउँछ, कसैलाई देखाउँदैन, यो बुझाइमा फरक परेको हुनसक्छ।’
सीएमसीका सूचना अधिकारी पारसले यस्ता केसहरू अस्पतालमा आइरहेन बताए। ‘सीएमसीमा धेरै बिरामीहरू औषधिको साइड इफेक्टका कारण भर्ना हुने गरेका छन्। यहाँसम्म कि सामान्य सिटामोलको पनि साइड इफेक्ट हुन सक्छ। दिलबहादुर जीको केसमा औषधि गलत भनेर भन्दा पनि, दिइएको औषधिले उहाँमा साइड इफेक्ट देखिएको भन्ने ठिक हुन्छ। एन्टिबायोटिक आफैं गलत हुँदैन, तर केही बिरामीमा यसको असर बढी देखिन सक्छ। यस्तो देखिएपछि त्यो औषधि तत्काल रोक्नुपर्छ।’ उनले सुनाए।
प्रकाशित: २६ जेष्ठ २०८२ २०:०६ सोमबार