२० पुस २०८२ आइतबार
image/svg+xml
स्वास्थ्य

मस्तिष्क मृत व्यक्तिबाट प्राप्त मिर्गौला र कलेजोको एकै व्यक्तिमा सफल प्रत्यारोपण

नेपालमा पहिलो पटक मस्तिष्क मृत व्यक्तिबाट प्राप्त मिर्गौला र कलेजो एकै व्यक्तिमा सफलतापूर्वक प्रत्यारोपण गरिएको छ। शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र दूधपाटी भक्तपुरले मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त मिर्गोला र कलेजो प्रत्यारोपण नेपाली विज्ञहरुबाटै एकै व्यक्तिमा सफलतापूर्वक प्रत्यारोपण गरेर इतिहास रच्न सफल भएको जनाएको हो ।

संसारकै सबैभन्दा जटिल शल्यक्रियामध्येको एक मानिने उक्त कार्य संसारमै बिरलै हुने गरेको छ । केन्द्रले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले एकै व्यक्तिमा मस्तिष्क मृत व्यक्तिबाट प्राप्त कलेजो र मिर्गौला प्रत्यारोपण नेपाली टोलीबाटै सफल हुनाले चिकित्सा क्षेत्रले ठूलो फड्को मार्न सम्भब भएको बताए ।

मिर्गौला र कलेजो एक ४२ वर्षिया महिलामा प्रत्यारोपण गरिएको उनले जनाए । प्रत्यारोपित व्यक्तिले स्वास्थ्य लाभ गरिरहेको र केही दिनमै डिस्चार्ज हुने तयारीमा अस्पतालको छ।

प्रत्यारोपण शल्य चिकित्सक डा.पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा उक्त प्रयारोपणमा कलेजोतर्फ डा.रोशन घिमिरे र डा.प्रविण महर्जनले सघाएको र मिर्गौलातर्फ डा.दिपेश श्रेष्ठ, डा.रुपेशकुमार झा, डा.हरिप्रसाद बराल, डा.रोजन अधिकारी, डा.विकास खड्कालगायतले सघाएको जनाइएको छ ।  

काठमाण्डौ मेडिकल कलेज, सिनामंगल, काठमाडौमा जेठ १ गते मस्तिष्क मृत्यु भएका १८ वर्षीय युवकबाट दुई मिर्गौला र एक कलेजो प्राप्त भएको थियो । उक्त अंगदान कार्य सफल गर्न सोही अस्पतालका सञ्चालक सांसदसमेत रहेका सुनिल शर्मा, सर्जन डा.रोशन घिमिरे, नेफ्रोलोजिष्ट डा.सुरेश महर्जन, एनेस्थेसियोलोजिष्ट डा.विजय के.सी., पोष्ट मार्टम विशेषज्ञ डा.आहना श्रेष्ठ, लगायतबाट सकरात्मक सहयोग प्राप्त भएको केन्द्रले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मस्तिष्क मृत्यु पश्चात हुने अंगदान जस्तो पवित्र कार्यलाई थप प्रोत्साहान प्रदान गर्न अंगदाताको परिवारलाई आर्थिक सहयोग वृद्धि गरी रु २ लाख तथा अंगदाता अस्पताललाई रु ७५ हजार सहयोग गर्ने घोषणा गरेकाले यस कार्यले अब गति लिने विस्वास केन्द्रले गरेको छ ।  

अंग फेल भएका व्यक्तिहरु अंग प्राप्त गर्नका लागि समन्वय इकाइमा सम्पर्क राखी प्रतीक्षाको सूचीमा आफ्नो नाम लेखाउन र ३-३ महिनामा अद्यावधिक गर्न पत्रकार सम्मेलनमा आग्रह गरियो । आफ्नो मृत्यु पश्चात अंग गर्न चाहने जोसुकैले घरमा बसीबसी अनलाइन मार्फत वा मोवाइल एम्सबाट फारम भर्न सकिने तथा भौतिक रुपमा केन्द्रमा आई अगदान सम्बन्धी मन्जुरीनामा दर्ता गर्ने व्यवस्था समेत मिलाइको केन्द्रले जनाएको छ ।

देशको सातवटै प्रदेशमा प्रत्यारोण सेवा विस्तार गर्ने योजना बनाएको केन्द्रले चार वटा प्रदेशमा प्रत्यारोपण सेवा सुरु गरिसकेको छ ।  

बागमती, गण्डकी, कर्णली, लुम्बिनी र बाँकी तीन बाटा प्रदेशमा पनि निकट भविष्यमा प्रत्यारोपण गर्ने योजना बनाएको जनाएको छ । तर प्रत्याारोण सेवा विस्तारका लागि आवश्यक विशेषज्ञ जनशक्ति उत्पादन गर्न केन्द्रलाई प्रत्यारोपण स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने नेपाल सरकारको घोषणा कार्यान्वयनमा विलम्ब भइरहेको छ भने उपयुक्त जग्गाको प्राप्त नहुँदा केन्द्र आफ्नै स्रोतबाट ३०० देखि ५०० बेड क्षमताको भवन बनाउने योजना अलपत्र परेको पत्रकार सम्मेलनमा जनाइयो । 

प्रकाशित: ११ जेष्ठ २०८२ १५:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App