७ असार २०८२ शनिबार
image/svg+xml
स्वास्थ्य

गाउँमै विशेषज्ञ चिकित्सकसहित स्वास्थ्य शिविरले ल्याएको खुसी

बरेङ गाउँपालिका–३ बाटाकाचौरकी ८२ वर्षीया भागीरथी लुहारले बिहीबार गाउँमै विशेषज्ञ चिकित्सक भेटिन्। पेट दुख्ने समस्याका लागि स्वास्थ्य चौकी पुगेकी उनलाई चिकित्सकले जाँचपछि औषधि दिए। परिवारको सहारामा स्वास्थ्य चौकी पुगेकी लुहार खुसी हुँदै घर फर्किन्।

सोही ठाउँकी ७० वर्षीया विष्णु थापाले पनि बिहानैदेखि बाटाकाचौर स्वास्थ्य चौकीको प्राङ्गणमा लाम लागेर कन्सल्टेन्ट फिजिसियन डा. सन्दिप सापकोटासँग स्वास्थ्य जाँच गराइन्। डाक्टरले औषधि लेखेपछि उनले औषधि वितरण कक्षबाट औषधि लिएर खुसीसाथ घर फर्किन्।

स्वास्थ्य चौकीमा आयोजित शिविरमा चिकित्सकहरू हेमन्त बाँस्तोला, सन्दिप सापकोटा, सन्दिप केसी, आशिष सापकोटालगायतले बिरामीको जाँच गरे। सन्तोष सुवेदीको नेतृत्वमा औषधि वितरण र आशिष शाक्यको नेतृत्वमा प्रयोगशाला सेवा सञ्चालित थियो। शिविरमा बिरामीको भीड लागेको थियो।

धौलागिरि प्रादेशिक अस्पताल बागलुङ र प्रादेशिक अस्पताल पर्वतका चिकित्सकको सहभागितामा बरेङ गाउँपालिकाले विशेषज्ञ सेवा उपलब्ध गराएको हो। गण्डकी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयको समन्वय, दुवै अस्पतालको प्राविधिक सहयोग र गाउँपालिका तथा वडा कार्यालयको आयोजनामा भएको शिविरबाट चार सयभन्दा बढी बिरामीले सेवा लिए।

शिविरमा आउने अधिकांश बिरामी सुगर र प्रेसरजस्ता समस्याबाट ग्रस्त थिए, डा. हेमन्त बाँस्तोलाले बताए। शिविरमा हाडजोर्नी, नशा, सामान्य चिकित्सा, बाल रोग, महिला तथा प्रसूति रोग, भिडियो एक्स-रे, प्रयोगशाला र निःशुल्क औषधि वितरणको सुविधा थियो।

शिविरमा धेरैजसो ज्येष्ठ नागरिक, महिला र बालबालिका सहभागी थिए। उनीहरूले गाउँमै प्रयोगशाला र भिडियो एक्स-रेसहित विशेषज्ञ सेवा लिए। गाउँबस्तीका बासिन्दाको स्वास्थ्य समस्या पहिचान, सर्ने र नसर्ने रोगको निदान गाउँमै गर्ने उद्देश्यले शिविर आयोजना गरिएको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए। केही समयअघि वडामा भएको शिविरमा विशेषज्ञ सेवाको माग भएपछि यो शिविर आयोजना गरिएको वडाध्यक्ष शेरबहादुर खनालले बताए।

शिविर उद्घाटन गर्दै गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले सरकार नागरिकको स्वास्थ्यप्रति जिम्मेवार रहेको बताए। उनले नागरिकलाई नजिकै विशेषज्ञ सेवा पुर्‍याउन प्रदेश सरकारले काम गरिरहेको उल्लेख गरे। रासस

प्रकाशित: १० जेष्ठ २०८२ १३:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App