१३ जेष्ठ २०८३ बुधबार
image/svg+xml
समाज

पश्चिम नेपालमा 'लू'को जोखिम कायमै : शुक्रबारदेखि केही राहत हुने अनुमान

अत्यधिक गर्मीबाट जोगिन के गर्ने ?

केही दिनयता  पश्चिम तराईसहित देशका अधिकांश स्थानमा तापक्रम वृद्धि हुँदा अत्यधिक गर्मी बढेको छ। यससँगै तराईका जिल्लामा तातो हावा (लु)को अवस्था रहेको छ।

विभागले आज (साेमबार) बिहान ८ बजे सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपालगञ्जमा ३९ देखि ४१ डिग्री सेल्सियस तापक्रम पुगेको छ। यस्तै, दिपायलमा ३८ देखि ४० डिग्री सेल्सियस, धनगढीमा ३९ देखि ४१, वीरेन्द्रनगरमा ३७-३९, घोराहीमा ३६-३८, भैरहवामा ३८-४० डिग्री सेल्सियस तमपक्रम मापन गरिएको छ। साथै, मधेस प्रदेशलगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्र तथा उपत्यका र खोँचहरूमा दिन तातो भएको विभागले जनाएको छ।

जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले पश्चिम नेपालको तराई क्षेत्रमा केही दिनयता ‘लू’ अर्थात् अत्यधिक तातो हावाको प्रभाव बढिरहेको बताएका छन्। विशेषगरी लुम्बिनी प्रदेशदेखि सुदूरपश्चिमसम्म, बुटवल क्षेत्रमा अहिले 'लू'को अवस्था रहेको उनले बताए।

उनका अनुसार नेपाल सरकारले तोकेका दुई वा दुईभन्दा बढी मौसम मापन केन्द्रमा लगातार दुई दिनभन्दा बढी ४० डिग्री सेल्सियस वा सोभन्दा माथि तापक्रम पुगेको अवस्थालाई ‘लू’ भनिन्छ। अहिले पश्चिम तराईका धेरै मौसम केन्द्रमा तापक्रम ४० डिग्री नाघेकाले लूको अवस्था पुष्टि भएको उनको भनाइ छ।

उप्रेतीले यो अवस्था तीन–चार दिनअघिदेखि सुरु भइसकेको र अब बिहीबारसम्म यस्तै रहने बताए। 'पश्चिम तराईमा अहिले सबैभन्दा बढी जोखिम छ, तर पूर्वी तराईमा भने लू नभए पनि अत्यधिक गर्मीको अवस्था छ,' उनले भने।

जलवायु विज्ञ उप्रेतीले अत्यधिक गर्मीको असर व्यक्तिअनुसार फरक हुने बताए। बालबालिका, सुत्केरी महिला, वृद्धवृद्धा तथा मुटुरोगीहरू बढी जोखिममा रहने भन्दै विशेष सावधानी अपनाउन आग्रह गरे।

गर्मीबाट जोगिन उनले प्रशस्त झोल पदार्थ सेवन गर्न सुझाव दिएका छन्। 'मोही, दही, सरबत, पुदिनाको पानी र सफा पानी धेरै पिउनुपर्छ,' उनले सुझाए। कफी, मदिराजस्ता क्याफिनयुक्त तथा शरीरलाई थप तातो बनाउने पदार्थ सेवन नगर्न पनि उनले आग्रह गरे।

उनले दिउँसो १२ देखि ३ बजेसम्मको समय सबैभन्दा जोखिमपूर्ण हुने भन्दै सकेसम्म बाहिरी काम नगर्न सुझाव समेत दिन्छन्। खेतबारी, उद्योग तथा इँटा भट्टामा काम गर्ने मजदुरलाई बिहान र साँझ काममा लगाई दिउँसो आरामको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ। साथै कुलर, पंखा वा एसीयुक्त ‘कुलिङ सेन्टर’को व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए।

विद्यालयमा अध्ययनरत बालबालिकाका लागि पनि सावधानी आवश्यक रहेको उप्रेतीले बताए। बिहान कक्षा सञ्चालन भए पनि १२ बजेतिर घर फर्किने बेला अत्यधिक गर्मी हुने भएकाले छाता प्रयोग गर्ने, प्रशस्त पानी पिउने र विद्यालयमै चिसो वातावरणको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ।

स्थानीय तहले सार्वजनिक स्थानमा पिउने पानीको पर्याप्त व्यवस्था गर्नुपर्नेमा पनि विज्ञ उप्रेतिले जोड दिएका छन्। 'पानीको अभाव हुँदा गर्मीबाट ज्यानै जान सक्ने जोखिम हुन्छ,' उनले चेतावनी दिए। उप्रेतीका अनुसार पश्चिम नेपालका केही क्षेत्रमा तापक्रम ४१ देखि ४२ डिग्री सेल्सियससम्म पुग्न सक्ने सम्भावना छ। यद्यपि भारतको उत्तर प्रदेश क्षेत्रमा भने ४७ डिग्रीसम्म तापक्रम पुगेको जानकारी उनले दिए।

उनले शुक्रबारदेखि गर्मी केही कम हुने र जेठ २० गतेपछि वर्षाको सम्भावना बढ्दै जाँदा उखरमाउलो मौसम घट्ने अनुमान गरिएको बताए। तर अर्को साता पुनः गर्मी बढ्न सक्ने सम्भावना पनि रहेको उनको भनाइ छ। विद्यालयहरू अत्यधिक जोखिममा पर्ने अवस्था रहेकाले तराईका क्षेत्रमा आवश्यक परे अस्थायी रूपमा विद्यालय बन्द गर्नुपर्ने अवस्था आउन सक्ने पनि उनले संकेत गरेका छन्।

त्यस्तै, गर्मी छल्न नदी वा खोलामा जाँदा डुब्ने घटनासमेत बढ्न सक्ने भएकाले सुरक्षित तरिकाले मात्रै पौडी खेल्न र नदीमा प्रवेश गर्न उनले आग्रह गरेका छन्।

कसरी जोगिने ?

मौसमविद्‍हरू ‘लू’ बाट जोगिन दिउँसो सकेसम्म घरबाहिर ननिस्कन, प्रशस्त पानी तथा फलफूलको रस पिउन, अत्यधिक पसिना आएमा ‘जीवनजल’ सेवन गर्न सुझाव दिएको छ। बाहिर निस्कनै परे टाउको छोप्ने, छाता प्रयोग गर्ने, चिसो पानीले नुहाउने तथा खेतबारीमा बिहान वा बेलुका मात्र काम गर्न सल्लाह दिएको छ। यसका साथै मदिरा सेवन नगर्न, क्याफिनयुक्त पेय पदार्थ (चिया, कफी, सोडा) कम प्रयोग गर्न र चिनी बढी भएको झोल पदार्थ नपिउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ।

के हो लू ?

अत्यधिक गर्मी वा तातो हावाको लहरका लागि पूर्वतयारी, पूर्वकार्य तथा शीघ्र प्रतिकार्य कार्ययोजनाका अनुसार अत्यधिक गर्मीका कारण सिर्जना हुने मौसमी अवस्थालाई तातो हावाको लहर (लू) भनिन्छ। नेपालको सङ्घीय तथा प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐनमा यसलाई ‘तातो हावाको लहर’ भनेर उल्लेख गरिएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार चैतदेखि भदौ महिनासम्मको अवधिमा तापक्रमका आधारमा तातो दिनहरू छुट्याइन्छन्। अधिकतम तापक्रम विगत ३० वर्षको ९० प्रतिशतभन्दा माथि पुगेमा त्यसलाई तातो दिन भनिन्छ। कार्यविधिमा भनिएको छ, 'जब लगातार तीन वा बढी दिनसम्म तातो दिन रहन्छ भने हल्का तातो लहर, धेरै तातो दिनको अवस्था रहेमा मध्यम तातो लहर र अत्यधिक तातो दिन भइरहे अत्यधिक तातो लहरको रूपमा वर्गीकृत गरिन्छ।'

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

जेठ ११ गते (सोमबार)  

दिउँसो : कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ। मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशको तराई लगायत बाँकी प्रदेशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू-भागमा मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेश केही स्थानहरूमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा तथा  मधेश प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा तातो दिन तथा तराई भू–भागमा तातो लहर हुने सम्भावना रहेको छ।  

राति : कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत बाँकी हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ। बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ तथा बाँकी तराई भू-भागमा मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ।  

जेठ १२ गते (मंगलबार) 

दिउँसो : कोशी प्रदेश लगायत बाँकी हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ तथा बाँकी तराई भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा, मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा र लुम्बिनी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई  भू–भागमा तातो दिन हुने सम्भावना रहेको छ। मधेश तथा कोशी, बागमती र गण्डकी प्रदेशको  तराई  भू–भागका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।

राति : कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत बाँकी हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ। बाँकी पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ र  बाँकी तराई भू-भागमा मुख्यतया सफा रहनेछ। कोशी र  मधेश प्रदेशका केही स्थानहरूमा, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मध्यमसम्म वर्षा/हिमपातको सम्भावना रहेको छ। लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भू-भाग तथा सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।  

जेठ १३ गते (बुधबार)  

दिउँसो : कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ, मधेश प्रदेश लगायत बाँकी हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी तराई भू-भागमा मुख्यतया सफा रहनेछ। कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेश हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा, मधेश लगायत लुम्बिनी प्रदेशको  हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भाग र बागमती र गण्डकी प्रदेशका तराईका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तातो दिन हुने सम्भावना रहेको छ।  

राति : कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ। मधेश प्रदेश तथा बाँकी हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी तराई भू-भागमा मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा  मधेश प्रदेश लगायत लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।

प्रकाशित: ११ जेष्ठ २०८३ ०९:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App