११ जेष्ठ २०८३ सोमबार
image/svg+xml
शिक्षा

आइतबारे बिदाले थप्यो तनाव

कालिमाटीकी पविता श्रेष्ठ आइतबार बिदाले तनाव बढाएको अनुभव सुनाइन्। ‘मेरा दुई सन्तान कक्षा ७ र कक्षा ६ मा बाफलस्थित ज्ञानोदय माविमा अध्ययन गर्छन्। म निजी कार्यालयमा कामकाजी महिला हुँ’, पविता आइतबार तनाव पोखिन्, ‘शनिबार त बिदा ठिकै थियो। थप आइतबारे तनाव झेल्ने मुस्किल भयो। मेरा दुई बच्चा दिनभरि मोबाइल चलाएर गेम खेलेर बसेको देख्दा कतै उनीहरूमा व्यावहारिक परिवर्तनको समस्या आउने चिन्ता बढाएको छ।’

उता विद्यार्थीसँग कुराकानी गर्दा बिदामा घरमा पढ्नै मन नलाग्ने बताउँछन्। कक्षा ७ का विद्यार्थी आयुष जोगीले बिदामा दिएको गृहकार्य शनिबार नै सकिन्छ अनि आइतबार मोबाइलमा गेम खेल्ने गरेको हाँस्दै बताए। ‘बिदा भएपछि घरमा खेल्न मन लाग्छ। हामी डेरामा बस्छौं। खेल्ने चौर छैन’, आयुशले भने, ‘शनिबार र आइतबार दुई दिन बिदाले घरमा बस्न बोर लाग्छ।’

१३ वर्षीय आयुषले आफ्नो घर बस्दाको मनोविज्ञान पोखे, ‘ममी काममा जानुहुन्छ। म र बहिनी मोबाइल खेलेर बस्छौं। बरु आइतबार स्कुल जान पाए राम्रो हुन्थ्यो।’

उनका अनुसार स्कुलले आइतबारको गृहकार्यका लागि अनिवार्य गणित विषयमा धेरै गृहकार्य दिएकाले पनि उनलाई गृहकार्यले मानसिक तनाव दिइरहेको छ।

नेपालमा दुईदिने बिदाको विषय अझै पनि बहसको केन्द्र बनेको छ। यसो त साताको दुई दिन बिदा दिने सरकारी निर्णय निजामती कर्मचारीको सवालमा सकारात्मक होला तर नेपाली शिक्षा क्षेत्रमा भने साताको दुई दिन बिदाले शिक्षक, विद्यार्थी, अभिभावक र विद्यालयलाई केही हदसम्म तनाव दिएको छ।

केही दिनअघि मात्र सरकारले शनिबारसँगै आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेपछि विद्यालयमा ‘दुईदिने बिदा’ को बहस चलेको हो। सरकारले पूर्वतयारीविना कार्यान्वयनमा ल्याएको दुईदिने बिदाले शिक्षा प्रणालीमा सकारात्मक प्रभाव पार्छ कि नकारात्मक? यसमा सबैको चासो बढेको छ।

काठमाडौंको लाजिम्पाटस्थित रानीबारीमा रहेको रानीदेवी माविका प्रधानाध्यापक नारायण गौतमका अनुसार सरकारले भएकै पाठ्यक्रममा आधारित रहेर साताको दुई दिन बिदामा पाठ्यक्रमले निर्देशन गरेको कोर्स पूरा गराउन खोज्दा विद्यालय र शिक्षकमाथि चुनौती थपिएको हो। ‘बर्खे/हिउँदे ४५ दिने बिदा कटाएर ३० दिनमा झारेर थप गरेको आइतबारे बिदा मिलान गर्न खोजेको देखियो’, प्रअ गौतमले नागरिकसँग भने, ‘आइतबार विद्यालयले विद्यार्थीलाई परियोजना कार्य दिएको छ। विद्यार्थीले परियोजना कार्य गरेर बुझाएका छन्, तर शिक्षकलाइै थोरै समयमा कोर्स पूरा गर्नुपर्ने साथै राम्रो नतिजा पनि दिनुपर्ने ठूलो चुनौती छ।’

उनले यही परियोजना कार्यलाई नै निरन्तर मूल्यांकन गर्दै आन्तरिक परीक्षाका रूपमा लिने बताए।

डिल्लीबजारमा रहेको पद्मकन्या विद्याश्रम माविकी प्रअ रीता तिवारीका अनुसार काठमाडौं महानगरले शुक्रबार कार्यान्वयन गर्दै आएको बुकफ्री फ्राइडे पनि व्यवस्थापन गर्न खोजेको छ। ‘विद्यार्थी र अभिभावकको चाहना बरु आइतबार बिदा नभइदिए हुन्थ्यो’, प्रअ तिवारीले भनिन्, ‘केन्द्र सरकारले शुक्रबार पूरै चार बजेसम्म पठनपाठनको समय तोकेको छ तर काठमाडौं महानगरको सफल कार्यक्रम बुकफ्री फ्राइडेबारे के गर्ने छलफल भइहेको छ।’

बूढानीलकण्ठ नगरपालिकामा रहेको जोसेफ हाइस्कुलका प्रिन्सिपल एवं राष्ट्रिय निजी तथा अवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) का वरिष्ठ उपाध्यक्ष सूर्यबहादुर अधिकारीले सरकारले आइतबारे बिदाभन्दा पनि महिनाको पहिलो र अन्तिम आइतबार बिदा दिने निर्णय बढी प्रभावकारी बन्ने सुझाए। उनले बूढानीलकण्ठ नगरपालिकाले दुईदिने बिदा पूर्णतः कार्यान्वयन नगरेको समेत स्पष्ट पारे।

‘सरकारले कार्यान्वयन गरेको थप आइतबारे बिदा सरकारी कार्यालयहरूमा मात्र लागु छ, तर निजी कम्पनी, कार्यालय र व्यवसायमा कार्यान्वयन नभएकाले अभिभावकलाई आइतबारे बिदाले तनाव बढायो’, वरिष्ठ उपाध्यक्ष अधिकारीले भने, ‘दुईदिने बिदामा बालबालिका घरमा पढ्न नमान्ने र मोबाइल तथा ग्याजेटहरू बढी प्रयोग गर्ने गरेको अभिभावकको गुनासो आएको छ।’

उनले थपे, ‘यसले कतै बालबालिकामा मानसिक समस्या पो थपिने हो कि भन्ने तनाव अभिभावकमा रहेको पाइएको छ।’

नेपालको अवस्था

नेपालका अधिकांश विद्यालय परम्परागत रूपमा शनिबार मात्रै बिदा दिने प्रणालीको अभ्यासमा चलिरहेका छन् तर केही निजी तथा अन्तर्राष्ट्रिय विद्यालयहरूले शनिबार र आइतबार दुवै दिन बिदा दिने अभ्यास पनि गरेका छन्।

विशेषगरी अन्तर्राष्ट्रिय पाठ्यक्रम ए–लेभल, आइबी, सिबिएसइलगायतले साताको शनिबार र आइतबार बिदा दिने अभ्यास पनि नेपालमा कायम छ। विज्ञहरूका अनुसार दुई दिन बिदा तुलनात्मक रूपमा शिक्षा क्षेत्रका लागि बढी र व्यावहारिक छैन। शिक्षाविद् विद्यानाथ कोइरालाले दुईदिने बिदाले विद्यार्थी र शिक्षक दुवैलाई बोझ दिन्छ। ‘विदेशमा दुई दिन बिदा कार्यान्वयन छ तर विकसित देशहरूको विद्यालयको पाठ्यक्रम त्यहीअनुसारको छ’, शिक्षाविद् कोइरालाले भने, ‘नेपालमा पाठ्यक्रमको भार, सीमित शैक्षिक दिन तथा परीक्षाकेन्द्रित पद्धतिका कारण दुईदिने बिदा कार्यान्वयनमा चुनौती थपिएको हो।’

सरकारले विद्यार्थीको मानसिक स्वास्थ्यमा सुधार, शिक्षकको कार्यक्षमतामा वृद्धि, अतिरिक्त क्रियाकलापको अवसर र अन्तर्राष्ट्रिय अभ्याससँग मेल गराउन साताको दुई दिन बिदाको निर्णय गरेको बताउँदै आएको छ तर दुई दिन बिदाले पाठ्यक्रम पूरा गर्न कठिनाइ, ग्रामीण क्षेत्रका विद्यालयमा नकारात्मक असर, बालबालिकामा डिजिटल दुरुपयोगको जोखिम बढ्ने र निजी विद्यालयहरूमा अतिरिक्त क्रियाकलापवापतको अतिरिक्त शुल्क वृद्धि हुनेलगायतका नकारात्मक असर पर्ने विज्ञहरूको विश्लेषण छ।

विश्व परिवेशमा अमेरिका, बेलायत, फिनल्यान्ड, जापानमा शनिबार र आइतबार बिदा दिने शैक्षिक प्रणाली छ तर अमेरिकाले परियोजनामा आधारित सिकाइमा जोड दिएको छ भने बेलायतले कम गृहकार्य र बढी व्यावहारिक शिक्षामा जोड दिएको छ। फिनल्यान्ड विश्वकै उत्कृष्ट शिक्षा प्रणालीमध्येको एक हो भने जापानले अनुसन्धान र क्लब गतिविधिमा केन्द्रित भएर शिक्षण सिकाइ प्रणाली अपनाएको छ। यसकारण नेपालमा दुईदिने बिदा कार्यान्वयन गर्न राज्यले पाठ्यक्रम पुनर्संरचना गर्नुपर्ने, सिकाइ समय व्यवस्थापनमा जोड, गृहकार्य प्रणालीमा सुधार, डिजिटल शिक्षणको विस्तार र अतिरिक्त गतिविधिमा सुधार आवश्यक देखिन्छ।

प्रकाशित: ११ जेष्ठ २०८३ १०:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App