वीरगन्जमा पुल बनाउन खनिएको खाल्डोमा परेर दुई बालिकाको मृत्यु भएको छ।
पर्साको वीरगन्ज महानगरपालिका–२६ सुगौलीको चक्रदहमा निर्माणाधीन पुल नजिक खाल्डोमा जमेको पानीमा डुबेको अवस्थामा दुई बालिका मृत फेला परेका हुन्।
वीरगन्ज महानगरपालिका–२६ सुगौलीका प्रभु ठाकुरकी ५ वर्षीय छोरी पुच्की ठाकुर र ३ वर्षीय छोरी घघरी ठाकुर मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ।
दुवैजना सोमबार आफ्ना हजुरबुवा किशोरी ठाकुरसँग चक्रदहस्थित खेतमा गएका थिए। खेतबाट दुवैजना हराएका थिए। बालिकाहरू खेतबाट हराएका भोलिपल्ट पानीमा डुबेको अवस्थामा मृत फेला परेका हुन्।
सोमबार हजुरबुवाले उनीहरूलाई खेतमै छाडेर घर आएका थिए। घर आएर पुनः खेतमा जाँदा दुवै बालिका नभेटिएको प्रहरीले जनाएका छ।
परिवारले खेत, छिमेक, आफन्त तथा सम्भावित स्थानमा खोजी गर्दा पनि बालिकाको अवस्था अज्ञात भएपछि सोमबार राति करिब ११ बजेर ५ मिनेटमा उनकी आमा अन्तिमा देवीले इलाका प्रहरी कार्यालय सुगौली बिर्तामा छोरीहरू हराएको जानकारी गराएकी थिइन्।
त्यसपछि प्रहरी नायब निरीक्षक जागेश्वर महतोको नेतृत्वमा टोली परिचालन गरी खोजी सुरु गरिएको थियो। खोजीका क्रममा मंगलबार बिहान करिब सवा ६ बजे हराएको स्थानबाट करिब ५ सय मिटर पूर्व खाल्डोबाट उनीहरूको शव फेला परेको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको पर्सा प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर मल्लले जानकारी दिए। दुवै जनाको शव पोस्टमार्टमको लागि नारायणी अस्पतालमा राखिएको छ।
प्रकाशित: १२ श्रावण २०८३ १५:१० मंगलबार





