बिपी कोइराला नेत्र अध्ययन केन्द्र महाराजगंञ्जमा नेपालमै पहिलो पटक आँखाको शल्यक्रिया गर्नको लागि रोबोटिक उपकरण (आइसी फेको एण्ड रेटिना सर्जरी सिमुलेटर) भित्र्याइएको छ। हालै ३ करोड रुपैयाँमा खरिद गरी सो मेशिन ल्याइएको केन्द्रले जनाएको छ। यो उपकरण मोतीबिन्दु र रेटिनाको शल्यक्रिया सिक्नको लागि यो उपकरणको प्रयोग हुने छ।
केन्द्रका प्राध्यपक नेत्र विशेषज्ञ डा. आशिष राज पन्तका अनुसार यो उपकरण अन्तर्राष्ट्रिय चर्चित विश्वविद्यालयमा प्रयोग हुने उपकरण हो। हरआर्ड, क्याम्ब्रिज तथा अक्साफोर्ड विश्वविद्यालयहरूमा समेत यस्तै रोबोटिक सर्जरी उपकरण प्रयोग गरी नेत्र विषय प्रशिक्षार्थी चिकित्सकलाई अभ्यास आँखाको शल्यक्रिया अभ्यास गरिन्छ। यो माइक्रोस्कोपमा रोबोटिक उपकरण हुन्छ। त्यसमा डमी (कृत्रिम) आँखा हुन्छ।
कृत्रिम आँखामा यो उपकरण प्रयोग गरी अभ्यासरत चिकित्सकले शल्यक्रिया गर्छन्। शल्यक्रियाको क्रममा यो उपकरणले जोखिम ठाउँमा गएको, बिग्रेको र सही भएको र अब यस्तो गर्नु भनी सबै निर्देशन दिन्छ, त्यही अनुसार प्रशिक्षार्थी डाक्टरले शल्यक्रिया गर्छन्। यस्तो शल्यक्रियामा सफलता प्राप्त गरे अनुसार रोबर्टले नम्बर पनि दिन्छ। यो मेशिनले स्टेप स्टेप निर्देशन दिने भएकोले रियल आँखामा अप्रेशन गरेजस्तै अनुभव हुने चिकित्सक बताउँछन्।
रोबोटिक उपकरणको सहयोगले आँखाको शल्यक्रियाको अभ्यास गर्दा शल्यक्रियाका क्रममा खास मानिसको आँखा बिग्रिने जोखिम कम हुने र यस्तो कृत्रिम आँखामा धेरै पटक शल्यक्रिया गर्न मिल्ने हुनाले प्रशिक्षार्थी चिकित्सकहरूमा सर्जरी कुशलता बढी हुने डा. पन्त बताउँछन्।
उनका अनुसार नेपालमा आजसम्म सबै नेत्र अध्ययन केन्द्रहरूमा सीमित बिग्रिने जोखिमको कारण तीन वर्षको अध्ययन कालमा १० देखि २० वटा मात्र अप्रेशन गर्न पाउँछन्। यो अप्रेशन पनि विज्ञ सर्जनको निगरानीमा मात्र हुन्छ। सीमित संख्यामा हुने अप्रेशनले एकातिर प्रशिक्षार्थी चिकित्सकका शल्यक्रियामा दक्षता बन्दैन। अर्कोतिर अध्ययनपछि काममा जाँदा यस्ता चिकित्सकले गर्ने शल्यक्रियामा आँखा बिग्रिने जोखिम हुन्छ। सीमित संख्यामा शल्यक्रिया गरी अध्ययन सकेका सबैजसो चिकित्सकलाई कामकै अवधिमा पनि शल्यक्रिया तालिमको आवश्यक पर्ने भएकोले नेपालमा नेत्र सर्जनको कमी भएको पन्त बताउँछन्।
यी दुवै समस्यालाई हल गर्ने एक मात्र उपाय रोबोटिक सर्जरीको अध्ययन अभ्यास भएकाले अबको तीन वर्षभित्रमा नेपालमा धेरै दक्ष आँखा सर्जन उत्पादन हुने सम्भावना बढेको छ।
प्रकाशित: २३ वैशाख २०८२ १२:०३ मंगलबार





