९ पुस २०८२ बुधबार
image/svg+xml
स्वास्थ्य

कटारी अस्पताल यसपटक पनि उत्कृष्ट

उदयपुरको कटारी नगर अस्पताल यस वर्ष पनि देशभरिकै उत्कृष्ट साबित भएको छ । यसअघि पनि स्थानीय तह अन्तर्गत उत्कृष्टमा परेको कटारी नगर अस्पताल यो पटक पनि देशभरका ३३ वटामध्ये उत्कृष्ट बन्न सफल भएको हो ।

स्वास्थ्य मन्त्रालयले तोकेको न्यूनतम सेवा मापदण्डको प्रदेश सरकारका प्रतिनिधिसमेत संलग्न संयुक्त टोलीले गरेको अनुगमनमा १ सय अङ्क भारमध्ये ८८ नम्बर पाउँदै उत्कृष्ट अस्पतालमा गनिएको हो । प्रदेश स्वास्थ्य निर्देशनालयले हरेक ६–६ महिनामा न्यूनतम सेवा मापदण्ड लेखाजोखामार्फत मापन गर्दै आएको छ ।

जस अनुसार यसपटक पनि कटारी अस्पतालले देशभरिका नगर अस्पतालमध्ये सर्वाधिक नं. लिँदै पहिलोमा दरिन पुगेको अस्पताल प्रमुख मेडिकल सुपरिटेण्डेन्ट (मेसु) गौरव साहले बताए । उनका अनुसार ३३ स्थानीय अस्पतालमध्ये देशभर सञ्चालित स्थानीय तह मातहतका ३३ मध्ये कटारी अस्पताल ८८ नम्बरका साथ उत्कृष्ट भएको हो । यो स्थान पाएसँगै अस्पताललाई हरियो क्षेत्र ‘ग्रीन जोन’मा राखिएको प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका अधिकृत पशुपति खनालले बताए ।

खनालका अनुसार ६ महिनाअघि मापदण्डको लेखाजोखा गर्दा कटारी अस्पतालले ८३ अङ्क पाएको थियो । त्यो बेला पनि पहिलो स्थान लिन सफल भएको अस्पतालले यसपटक ५ अङ्क थप्दै ८८ पाएर उत्कृष्ट बन्न पुगेको हो । खनालका अनुसार नगर अस्पतालले दिने न्यूनतम सेवा सुधारसँगै तोकिएका विभिन्न सूचकहरूको लेखाजोखा गर्दा अस्पतालले ८८ नम्बर पाएको हो ।

पछिल्लो आधा दशकयता कटारी अस्पतालले गुणस्तरीय उपचार सेवा दिँदै आएको छ । ०७६ सालदेखि नगरपालिका मातहत ल्याइएको अस्पतालले सेवा प्रभावकारी दिन थालेपछि सेवाग्राही पनि ह्वात्तै बढेका छन् । १५ शैय्याको स्वीकृत अस्पतालले आन्तरिक स्रोतबाटै थप १० बेड जोडेर २५ शैय्यामा उपचार सेवा दिँदै आएको छ । हरेक दिन ५ सयभन्दा बढीले उपचार सेवा लिँदै आएको डा. साह बताउँछन् ।

‘हामी एकपछि अर्को सफल हुँदै आएका छौँ, यो सहित दोस्रो पटक देशमै उत्कृष्ट अस्पताल बन्न सफल भयौँ’ मेसु डा. साहले भने ‘यसले हामीलाई थप जाँगर बढेको छ, काम गरौँ, राम्रो गर्दै जाउँ भन्ने मनोबल बढेको छ । यो निश्चय नै कटारीबासीका लागि खुसीको कुरा हो ।’ अस्पतालमा हाल साधारणतर्फका सबैखाले उपचार सेवा उपलब्ध रहेको छ । जेनेरल उपचार सबैखाले हुने तथा प्रसूतितर्फ जटिल खाले गर्भवतीको शल्यक्रिया (सिएस)मार्फत बच्चा जन्माउने सेवा बढी प्रभावकारी रहेको डा. साहले बताएका छन्। 

प्रकाशित: ७ वैशाख २०८२ ११:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App