आज मार्च २४, विश्वभर अन्तर्राष्ट्रिय क्षयरोग दिवस मनाइँदैछ। क्षयरोगविरुद्ध जनचेतना जगाउने, सहज उपचारको व्यवस्था गर्ने उद्देश्यले यो दिवस मनाइन्छ। यस वर्षको नारा ‘हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौं। लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चितता, आजको आवश्यकता’ तय गरिएको छ। यो दिवसले क्षयरोग महामारी अन्त्यका लागि गरिएका प्रतिबद्धता, प्रयास र उपलब्धिलाई सम्झने अवसर पनि दिन्छ।
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले जनचेतनामूलक कार्यक्रमको तयारी गरेको छ। नेपालमा यो रोगले हजारौँ मानिसलाई प्रभावित बनाइरहेको छ। केन्द्रका निर्देशक डा. श्रीराम तिवारीले जारी विज्ञप्तिमा क्षयरोग विश्वभर लाखौँलाई प्रभावित गर्ने र नेपालमा जनस्वास्थ्य समस्याको रूपमा रहेको बताए। सन् २०२३ मा विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा ६८ हजार नयाँ क्षयरोगी थिए, जुन प्रति एक लाख जनसङ्ख्यामा २२९ हो। यस रोगबाट १६ हजारको मृत्यु भएको अनुमान छ, मृत्युदर प्रति एक लाखमा ५४ छ।
सोही अवधिमा राष्ट्रिय क्षयरोग कार्यक्रमले ४० हजार ७७६ क्षयरोगीलाई उपचारका लागि दर्ता गरेको थियो। तीमध्ये ३९ प्रतिशत महिला र ६१ प्रतिशत पुरुष थिए। औषधि प्रतिरोधी क्षयरोगी ७५६ जना थिए। दर्ता भएकामध्ये ७२ प्रतिशत फोक्सोको र २८ प्रतिशत अन्य अङ्गको क्षयरोगी थिए। उपचार सफलता दर ९२ प्रतिशत छ। तर, ४० प्रतिशत अनुमानित क्षयरोगीलाई उपचारको दायरामा ल्याउन नसकिएको केन्द्रले जनाएको छ।
‘राष्ट्रिय क्षयरोग रणनीतिक योजना २०२१/२२–२०२५/२६’ अनुसार पाँच वर्षका लागि १९२ मिलियन डलर बजेट चाहिनेमा ११० मिलियन मात्र उपलब्ध छ, जुन ४३ प्रतिशत अभाव हो। ‘क्षयरोग बिरामी लगत सर्वेक्षण–२०२४’ ले ५१ प्रतिशत प्रभावित र परिवारलाई आर्थिक भार परेको देखाएको छ। रोग अन्त्यका लागि सबै क्षेत्रको सहकार्य नहुँदा प्रगति प्रभावित भएको छ।
केन्द्रले ६ हजार २४१ स्वास्थ्य संस्थामा उपचार र ८०० मा निदान सेवा निःशुल्क दिइरहेको छ। द्रूत परीक्षण ६७ जिल्लाका ११७ संस्थामा पुगेको छ। औषधि प्रतिरोधी क्षयरोगको उपचार २९ केन्द्र र ९८ उपकेन्द्रबाट दिइन्छ। यस्ता बिरामीलाई छ महिने इन्जेक्सनरहित उपचार उपलब्ध छ। ‘क्षयरोग मुक्त नेपाल अभियान’ १४९ स्थानीय तहमा विस्तार भएको छ। एआई जडित डिजिटल एक्सरेले समुदायमा रोगी खोजी सुरु भएको छ।
छैटौँ औषधि प्रतिरोध सर्वेक्षण र पहिलो बिरामी लगत सर्वेक्षण सम्पन्न भएका छन्। हरेक वर्ष रोकथाम, निदान र उपचारसम्बन्धी तालिम चलाइएको छ। सन् २०३० सम्म क्षयरोग महामारी अन्त्य र २०५० सम्म क्षयरोग मुक्त नेपालको लक्ष्य छ। विश्वमा हरेक वर्ष ८० लाख नयाँ क्षयरोगी थपिन्छन् भने २० लाखको मृत्यु हुन्छ।
तीन हप्ताभन्दा बढी खोकी, खकारमा रगत, सास फेर्न गाह्रो, तौल घट्ने, थकान बढी भएमा नजिकको स्वास्थ्य चौकीमा जाँच गर्नुपर्छ। यो रोगको निःशुल्क उपचार उपलब्ध छ। रोग प्रतिरोधी क्षमता कम भएका, चुरोट–रक्सी प्रयोग गर्ने वा औषधिको पूर्ण मात्रा नलिनेमा पुनः सङ्क्रमण हुन सक्छ। नियमित औषधि सेवनले रोग निको हुने चिकित्सकको भनाइ छ। रासस
प्रकाशित: ११ चैत्र २०८१ १०:३० सोमबार