११ चैत्र २०८१ सोमबार
image/svg+xml ०:१४ पूर्वाह्न
स्वास्थ्य

काठमाडौं महानगरले स्तन र पाठेघरको क्यान्सर निःशुल्क जाँच्ने

काठमाडौँ महानगरपालिकाले चैत १२ गतेदेखि प्रजनन उमेरका महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण र प्रारम्भिक उपचार सुरु गर्ने भएको छ। महानगरको स्वास्थ्य विभागले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालसँग मिलेर यो कार्यक्रम सञ्चालन गर्नेछ।

गत वर्ष वैशाख १२ मा भएको परीक्षणमा छुटेका र पोजेटिभ देखिएका प्रजनन उमेरका महिलालाई लक्षित गरेर यो वर्ष पनि कार्यक्रमलाई निरन्तरता दिइएको कार्यक्रमका फोकल पर्सन चन्द्रा भट्टले बताए।

उनका अनुसार परीक्षणअघि नजिकको स्वास्थ्य प्रवर्द्धन केन्द्रमा गएर विवरण टिपाउनुपर्छ। विवरण टिपाएपछि केन्द्रबाट ‘रेफरल’ टिकट पाइन्छ। यो टिकट लिएर वीर अस्पतालको सर्जिकल भवनको भुइँ तलामा जाँच गर्न सकिन्छ। भट्टले भने, ‘स्वास्थ्य प्रवर्द्धन केन्द्रमा टिपिएको विवरण जाँच गर्ने ठाउँमा हेर्न सकिन्छ। यसले लाइनमा बस्नुपर्ने झन्झट हट्छ र जाँच प्रक्रिया सहज हुन्छ।’

परीक्षणमा महिलाको स्तनको क्लिनिकल जाँच हुन्छ। शङ्का लागेमा अल्ट्रासाउन्ड र मेमोग्राफी गरिन्छ। पाठेघरको मुखको क्यान्सरका लागि ३० देखि ६० वर्ष उमेर समूहका महिलाको एचपिभी डिएनए पिसीआर (ह्युमन प्यापिलोमा भाइरस) परीक्षण हुन्छ। पोजेटिभ देखिएमा कल्पोस्कोपी र बायोप्सी गरिन्छ। 

महानगरका मेडिकल अधिकृत डा. दिवस न्यौपानेले ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) पाँचदेखि १० वर्षसम्म रह्यो भने पाठेघरको मुखमा क्यान्सरको जोखिम बढ्ने बताए। ३० देखि ६० वर्षका महिलाले हरेक पाँच वर्षमा यो परीक्षण गर्नुपर्ने उनको सुझाव छ।

उनले एकभन्दा बढी पुरुषसँग यौन सम्पर्क भएका, १६ वर्षभन्दा कम उमेरमा वा महिनावारीको पहिलो वर्षभित्र यौन सम्पर्क भएका, एचआइभीजस्ता यौनजन्य सङ्क्रमण भएका, एचपिभी सङ्क्रमण देखिएका, धुमपान गर्ने, प्रतिरक्षा प्रणाली कमजोर भएका, धेरै पटक गर्भवती भएका र कहिल्यै जाँच नगरेका महिलामा पाठेघरको मुखको क्यान्सरको जोखिम हुने बताए। महानगरले गत वैशाखमा पनि यस्तो निःशुल्क परीक्षण सञ्चालन गरेको थियो। 

प्रकाशित: ९ चैत्र २०८१ ०७:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App