नेपाल प्रहरी अस्पतालमा स्नातकोत्तर (पीजी) अध्ययन गर्ने चिकित्सक तथा नर्सहरूको संख्या वृद्धि गर्न चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) र नेपाल प्रहरी अस्पतालबीच सम्झौता भएको छ। सम्झौतासँगै हाल १२७ जनाले गरिरहेको पीजी अध्ययनको संख्या बढेर २५० पुग्ने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको अध्यक्षतामा बसेको न्याम्स कार्यकारी परिषद्को बैठकले प्रहरी अस्पतालमा फ्याकल्टी थप गर्ने निर्णय गरेपछि मंगलबार स्वास्थ्य मन्त्रालयमा दुई संस्थाबीच औपचारिक सम्झौता सम्पन्न भएको हो।
मन्त्री पौडेलले दक्ष चिकित्सा जनशक्ति उत्पादन वृद्धि गर्न स्नातकोत्तर कोटा बढाउने निर्देशन दिएपछि न्याम्सले आवश्यक फ्याकल्टी थप गर्ने निर्णय गरेको थियो।
सम्झौताअनुसार न्याम्सले नेपाल प्रहरी अस्पतालमा स्नातकोत्तर अध्ययनका लागि फ्याकल्टी थप्ने अनुमति प्रदान गरेको छ। यसले अस्पतालको शैक्षिक स्तर अभिवृद्धि गर्न मद्दत गर्ने विश्वास लिइएको छ।
यस्तै, प्रहरी अस्पतालले पीजी अध्ययन गर्ने रेजिडेन्ट चिकित्सकलाई सरकारी नियमानुसार भत्ता उपलब्ध गराउने सहमति जनाएको छ। सम्झौतामा नेपाल प्रहरी अस्पतालका मेडिकल निर्देशक एआईजी डा. सुन्दरप्रसाद ह्योजु र न्याम्सका रेक्टर प्राडा लोचन कार्कीले हस्ताक्षर गरेका छन्।
सम्झौतासम्बन्धी कार्यक्रममा स्वास्थ्य मन्त्री पौडेलले देशमै दक्ष चिकित्सकको अभाव पूर्ति गर्न स्नातकोत्तर कोटा वृद्धि गरिएको जानकारी दिए।
हालसम्म चार सय विद्यार्थीका लागि पीजी अध्ययनको अवसर सिर्जना भइसकेको उल्लेख गर्दै उनले यस सम्झौताले थप दक्ष चिकित्सक उत्पादन हुने विश्वास व्यक्त गरे।
समारोहमा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर, न्याम्सका उपकुलपति प्राडा भुपेन्द्र बस्नेत लगायत स्वास्थ्य तथा प्रहरी क्षेत्रका उच्च अधिकारीहरूको उपस्थिति थियो।
प्रकाशित: २७ फाल्गुन २०८१ १५:४७ मंगलबार