१५ माघ २०८२ बिहीबार
image/svg+xml
स्वास्थ्य

१८ जिल्ला कुष्ठरोगको उच्च जोखिममा

नेपालमा अहिले पनि १८ वटा जिल्ला कुष्ठरोगको उच्च जोखिममा रहेको तथ्यांकले औंल्याएको छ। राष्ट्रिय तहमा कुष्ठरोग निवारण भए पनि तराईका जिल्लामा अझै पनि नयाँ बिरामी देखिने क्रम जारी रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार तराईका १८ जिल्ला झापा, मोरङ, सिराहा, सर्लाही, महोत्तरी, बारा, रौतहट, पर्सा, धनुषा, रूपन्देही, नवलपरासी पश्चिम, कैलाली, कपिलवस्तु, बर्दिया, बाँके, रुकुमपश्चिम, लमजुङ छन्। २०८०/८१ को तथ्यांकअनुसार नेपालमा २२ सय ७२ जना सक्रिय कुष्ठरोगी छन्।

चिकित्सकका अनुसार कुष्ठरोग आँखाले देख्न नसक्ने ‘लेप्रे’ नामक सूक्ष्म जीवाणुबाट सर्ने रोग हो। यो रोग संक्रमित व्यक्तिले खोक्दा श्वास–प्रश्वासका माध्यमबाट अर्को मानिसमा सर्छ। उपचार नगरेको कुष्ठरोग लामो समयसम्म सम्पर्कमा आउने व्यक्तिलाई मुख्यतः श्वास–प्रश्वासका माध्यमबाट सर्छ।

यो रोगले सुरुमा छाला हुँदै स्नायु प्रणालीमा असर गर्छ। कहिलेकाहीं केन्द्रीय स्नायु प्रणालीमा पनि असर गर्छ। नसा मोटो हुने, सेता तथा राता दाग देखिने, छाला लाटो हुने, मांसपेसी कमजोर हुने, आँखाका नानी संक्रमित हुने तथा आँखीभौं झर्नेजस्ता लक्षण देखिन्छन्।

कुनै पनि व्यक्ति संक्रमित भएको पाँचदेखि सात वर्षभित्रमा लक्षण देखिन सुरु हुन्छ। यसलाई ‘इन्क्युबेसन पिरियड’ भनिन्छ। रोग देखिएपछि भने तत्कालै उपचार सुरु गर्नुपर्छ।

सन् २०१९ को तुलनामा सन् २०२४ नयाँ बिरामीको संख्या २५ प्रतिशतले घटेको र बालबालिकामा कुष्ठरोग लाग्ने दर ५० प्रतिशतले घटेको राष्ट्रिय कुष्ठरोग नियन्त्रण तथा अपंगता व्यवस्थापन शाखाको तथ्यांक छ।

कोभिड १९ पछि कुष्ठरोगी खोजी कार्य तीव्र रहेको र नयाँ बिरामीसँगै उनीहरूवरपरका ४० जना जोखिममा रहेका व्यक्तिलाई समेत सुरुमै औषधी खुवाइएका कारण अरूमा सर्ने दर घटेको राष्ट्रिय कुष्ठरोग नियन्त्रण तथा अपांगता व्यवस्थापन शाखाकी डा. निष्ठा श्रष्ेठको भनाइ छ। ‘जोखिम भएकालाई पहिल्यै औषधी खुवाएपछि अरूमा सर्ने दर स्वतः घट्छ’, उनले भनिन्।

लगातार पाँच वर्षदेखि स्थानीय तहले ७० प्रतिशतभन्दा बढी स्थानीय तहले कुष्ठरोग संक्रमण शून्य रहेको रिपोर्ट गर्नुले हौसला प्रदान भएको विश्व स्वास्थ्य संगठन नेपालले जनाएको छ। राष्ट्रिय स्तरमा कुष्ठरोगका बिरामीको संख्यामा उल्लेखनीय कमी आए पनि १८ जिल्लामा उच्च जोखिम कायमै रहनु अहिलेको मुख्य चासोको विषय रहेको संगठनले जनाएको छ।

 चिकित्सकका अनुसार अहिले पनि कुष्ठरोगका विषयमा समाजमा कायम गलत धारणाका कारण समयमै उपचार हुन नपाई अरूमा संक्रमण हुने गरेको देखिन्छ। ‘मुख्य चुनौती भनेको समाजमा कुष्ठरोगलाई हेर्ने पुरानो सोचमा पूरा परिवर्तन आउन सकेको छैन’, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. यदुचन्द्र घिमिर बताउँछन्।

यसका लागि स्थानीय तहमा जनचेतना बढाउने, स्वास्थ्य शिक्षामा समावेशी नीति कार्यान्वयन गर्न आवश्यक रहेको विश्व स्वास्थ्य संगठनको सुझाव छ। समाजमा विद्यमान लाञ्छना र विभेदका लागि आजैबाट कार्यान्वयन गर्न आवश्यक रहेको संगठनले जनाएको छ। यसका साथै हामी सबै नेतृत्व वर्ग, स्वास्थ्यकर्मी र साझेदार निकाय मिलेर कुष्ठरोग निवारण गर्न र उष्ण प्रदेशीय रोगहरूको सम्बोधन गर्न सहकार्यका लागि आह्वान गरेको छ।

प्रकाशित: १४ माघ २०८१ ०७:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App