१ माघ २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

देशैभरका १७ लाख किशोरीलाई ‘एचपीभी’ खोप दिइने

फाइल।

नेपाल सरकारले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एचपीभी खोप देशभरका १७ लाख किशोरीलाई लगाउने तयारी गरेको छ। यो खोप अभियान आगामी माघ २२ देखि फागुन २६ सम्म सञ्चालन हुनेछ।

खोप अभियानका क्रममा कक्षा ६ देखि १० सम्मका विद्यालयमा अध्ययनरत किशोरीहरूलाई विद्यालयमै खोप केन्द्र स्थापना गरेर खोप दिइनेछ। विद्यालय बाहिरका १० देखि १४ वर्षका किशोरीहरूलाई अन्य केन्द्रमार्फत खोप लगाइनेछ।

स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाको खोप शाखा प्रमुख डा. अभियान गौतमका अनुसार, देशभरका १६ लाख ८८ हजार ७६८ किशोरीलाई खोप दिने लक्ष्य राखिएको छ।

खोपका लागि ८,२०० विद्यालयहरू खोप केन्द्रका रूपमा चयन भएका छन्। यसका लागि २७ हजार ८० स्वास्थ्यकर्मी र ५४ हजार १६० स्वयंसेवक परिचालन गरिनेछ। साथै १५ हजार ६७४ सुपरिवेक्षक खटाइनेछ।

खोपले ९०-९५ प्रतिशत सम्म पाठेघरको मुखको क्यान्सरबाट सुरक्षा प्रदान गर्ने बताइएको छ। नेपालमा यो क्यान्सरका कारण प्रत्येक दिन चारजनाको मृत्यु हुने गरेको तथ्यांक छ।

महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर नेपालमा पहिलो स्थानमा पर्छ, जबकि विश्वव्यापी रूपमा यो चौथो स्थानमा छ।

भक्तपुर जिल्लामा खोप अभियानलाई सफल बनाउन विभिन्न तहका संयोजन र तयारी भइरहेको छ। भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल र जिल्ला समन्वय समितिका सभापति ईश्वरबहादुर थापाले सबै तहबाट अभियान सफल बनाउन आह्वान गरेका छन्।

जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख शान्तिराम खतिवडाका अनुसार, जिल्लामा १६ हजार ६२८ विद्यालयभित्रका र १,०६३ विद्यालय बाहिरका किशोरीलाई खोप लगाउने लक्ष्य छ।

अभियान विश्व क्यान्सर दिवस (फेब्रुअरी ४) को सन्दर्भ पारेर सञ्चालन गरिन लागेको हो। स्वास्थ्य सेवा विभागका डा. अभियान गौतमले यो अभियान सरकारको पाठेघरको मुखको क्यान्सर निवारण प्राथमिकता अन्तर्गत रहेको बताए।

प्रकाशित: २९ पुस २०८१ १८:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App