३ माघ २०८२ शनिबार
image/svg+xml
स्वास्थ्य

मान्यता नपाएका व्यक्तिलाई उपचार सेवामा संलग्न नगराउन अनुगमन समितिको निर्देशन

अनुगमन समितिले सम्बन्धित निकायबाट मान्यता नपाएका व्यक्तिलाई उपचार गर्ने गराउने कार्यमा संलग्न नगराउन ताप्लेजुङका मेडिकल, पोलियो क्लिनिक तथा डेन्टलहरूलाई निर्देशन दिएको छ।

स्वास्थ्य कार्यालय ताप्लेजुङको संयोजनमा सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्कासहितको टोलीले फुङलिङमा सञ्चालित मेडिकलहरूको अनुगमन गर्दै यस्तो निर्देशन दिएको हो। अनुगमन संयोजक तथा स्वास्थ्य कार्यालय ताप्लेजुङका प्रमुख कूलबहादुर पौडेलले फुङलिङका ६ वटा मेडिकल, पोलियो क्लिनिक तथा डेन्टल क्लिनिकहरूको अनुगमन गरिएको जानकारी दिए।

उनका अनुसार पहिलो चरणमा लाइफलाइन होमियो फार्मेसी तथा क्लिनिक प्रालि, एपोलो मेडिकल, पुजा मेडिकल हल, मानव डेन्टल क्लिनिक, कावेली फार्मेसी र चौधरी मेडिकल हलको अनुगमन गरिएको छ। अनुगमनलाई निरन्तरता दिने समेत पौडेलले बताए।

पहिलो चरणको अनुगमनका क्रममा केही क्लिनिकहरूमा उपचार गर्ने गराउने कार्यमा संलग्न व्यक्ति आधिकारिक निकायबाट मान्यता प्राप्त नदेखिएकाले मान्यता नपाएका व्यक्तिलाई उपचारमा संलग्न नहुन निर्देशन गरिएको समेत पौडेलले बताए। लाइफलाइन होमियो फार्मेसी तथा क्लिनिक प्रालिमा यस्तो समस्या देखिएको उनको भनाइ छ।

केही मेडिकलहरूले परिवार नियोजनका साधनको बिक्री र प्रयोग बारेको प्रतिवेदन सम्बन्धित निकायमा बुझाउनुपर्नेमा सो नबुझाएको, मेडिकल हलमा देखिएको विसर्जनयोग्य फोहोर व्यवस्थापन मापदण्ड अनुसार नभएको, कतिपय मेडिकलहलहरू दर्ताका सबै प्रकृया पूरा नभएको देखिएकाले तत्काल सम्बन्धित समस्या सुधार गर्न निर्देशन दिइएको समेत अनुगमन टोलीले बताएको छ।

अनुगमनका क्रममा केही मेडिकलहलहरूले सबै मापदण्ड र प्रकृया पूरा गरेको देखिएकाले यो कार्यलाई निरन्तरता दिन सुझाव दिइएको समेत पौडेलले बताए।

सहायक प्रमुख जिल्ला अधिकारी खड्काले अनुगमनका क्रममा कैफियत देखिएका मेडिकलहरूलाई समस्या सुल्झाउन अनुगमन समितिले निश्चित समय प्रदान गरेको र अबको अनुगमनका क्रममा अहिले देखिएका त्रुटी सच्चिने विश्वास व्यक्त गरिन्। उनले अनुगमन कार्यलाई निरन्तरता दिन अनुगमन कार्यतालिका बनाई प्रभावकारी कार्यान्वयन गर्ने योजना रहेको समेत सुनाइन्।

प्रकाशित: १२ पुस २०८१ ११:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App