म्याग्दीको सदरमुकाम बेनीबजारमा आएका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल ४ पटक म्याद थप्दा पनि अझै लथालिङ अवस्थामा रहेको बेनी अस्पतालको ५० सैयाको भवनको अवलोकन नगरी फर्किएका छन्।
निर्माणकार्य सुरू भएको ९ वर्ष वितिसक्दा पनि अझै भवनले पूर्णता नपाएको अवस्थामा स्वास्थ्यमन्त्री पौडेलले अस्पताल प्राङ्गनमा प्रवेश नै गरेनन्। नेपाली कांग्रेस म्याग्दीले गण्डकी प्रदेश सभा सदस्य एवं नेपाली कांग्रेस म्याग्दीको नेतृ विमला गौचनप्रति श्रद्धाञ्जली दिन मंगलबार साँझ आएका मन्त्री पौडेल गलेश्वरमा रहेको होटल याकमा एक रात विताएर विहानै फर्किएको उनी निकट स्रोतले जनाएको छ।
आफ्ना निकट प्रदेशसभा सदस्य सहित नेताहरूसँग म्याग्दी प्रवेश गरेका स्वास्थ्यमन्त्री पौडेलले भवन नबन्दा सर्वसाधारणले दिनहुँ भोग्नुपरेको सास्तीका बारेमा छलफल गर्न समय छुटाएनन्। बि.स. २०७२ सालमा ठेक्का सुरू गरेपनि भुक्तानी र ठेकेदारको अटेरीले भवन नबन्दा बिरामीको उपचारमा समस्या भइरहेको छ।
मन्त्री पौडेल बेनी आएर फर्किएको सूचना पाएपछि नेपाली कांग्रेस म्याग्दीका सभापति एवम् प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले फोनबाटै चर्को असन्तुष्टी पोखेका छन्। ‘अस्पतालको भवनका बारेमा उहाँलाई राम्रोसँग जानकारी छ, यहाँ आएर अवलोकन नगरी फर्किएपछि मैले चर्को असहमित जनाइसकेको छु, यसका बारेमा भेटेर थप गुनासो गर्छु’ सांसद गर्बुजाले भने।
नेपाली कांग्रेसको नेता तथा सांसद हुदाँ बेनी अस्पतालको भबनका बारेमा चासो देखाएका पौडेल मन्त्री भएपछि बेनीमा प्रवेश गर्दा समेत अवलोकन नगरेपछि अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्रप्रसाद सुबेदीले समेत आश्चर्य प्रकट गरे। ‘उहाँ आएर गएको पत्तै भएन, हामीले होटलमा बसेको जानकारी पाएपनि त्यही पुगेर स्वागत गर्ने थियौं, भवनसम्म पुगेको भए ठेकेदारलाई दबाब हुनेथियो’ अध्यक्ष सुबेदीले भने। उनका अनुसार अस्पतालले समयमै भवन नबन्दा धेरै अवसर गुमाएको र संघीय सरकारमा माग गरिएका उपकरण सहित जनशक्ती समेत नपाएको बताए।
यता मन्त्रीका सचिवालयले भने बागलुङमा निर्धारित कार्यतालिका भएकाले ब्यक्तिगत भेटघाटमा सहभागी हुने गरी म्याग्दीमा आएको जनाएको छ। मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रको सुधारका लागि दर्जनौ कार्ययोजना बनाएपनि बेनी अस्पतालको सुस्त गतिमा काम भइरहेको भवन सहित जिल्लाको स्वास्थ्य क्षेत्रको अवस्थाका बारेमा सरोकारवालासँग छोटो जानकारी लिने तालिका नबनाउनु ‘लाजको पसारो’भन्दै सत्ता गठबन्धनकै नेताहरूले ब्यंग्य गरेका छन्। अस्पतालका मुख्य ठेकेदार नेपाल निर्माण व्यवसायी महासंघ अध्यक्ष रवीसिंह हुन्।
उनी सत्तागठबन्धन नेपाली कांग्रेस निकट भएकाले अहिलेसम्म पहुँचको भरमा विभिन्न बाहना बनाउँदै भवनको काम ढिलासुस्ती गरिरहेका छन्। बेनी अस्पतालको भवन तत्कालीन सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङसँग २१ पुस २०७३ मा महादेव खिम्ती, गल्वा रफिना जेभीले १८ करोड ८४ लाख ८ हजार ८९ मा ठेक्का सम्झौता गरेको थियो। २० मंसिर २०७६ भित्र निर्माण कार्य सम्पन्न गर्ने सम्झौता रहेको अवस्थामा भौतिक पूर्वाधार ७३ प्रतिशतको प्रगति देखाइएपनि अहिलेकै जनशक्तीले अझै ३ बर्षसम्म पनि सम्पन्न गर्न सकिने अवस्था छैन। बेनी अस्पतालमा म्याग्दीसँगै पर्वतको जलजला गाउँपालिका, मुस्ताङ र बागलुङको पश्चिम क्षेत्र लगायत गरी वार्षिक ६० हजारभन्दा बढीले सेवा लिन्छन्।
धौलागिरि अस्पताल निरीक्षण
म्याग्दीमा आएर बास बसेका मन्त्री पौडेलको नजर बेनी अस्पतालको भवनमा नपरेपनि बागलुङमा रहेको धौलागिरि अस्पताल निरीक्षण गरेका छन्। मन्त्री पौडेलले अस्पतालको सेवा प्रवाह, जनशक्ति तथा वर्तमान अवस्थाबारे जानकारी लिए। अस्पताल सुधारका लागि विभिन्न निर्देशन दिए। उनले अस्पतालमा भर्ना भएका बिरामीलाई समेत सेवाका विषयमा अस्पतालमा भर्ना भएका बिरामीबाट समेत जानकारी लिएका थिए।
आकस्मिक कक्ष, बहिरङ्ग सेवा, अन्तरङ्ग सेवा, डायलासिस सेवाकक्षलगायतको अवलोकन गरेको मेडिकल सुपरीटेन्डेन्ट डा किरण तिवारीले बताए। सोही अवसरमा ५० श्ययाको अनुमति रहेको अस्पतालको स्तवृद्धि गरी एक सय श्यया बनाउन सहजीकरण गर्ने मन्त्री पौडेलले प्रतिबद्धता समेत जनाएका थिए।
प्रकाशित: ६ मंसिर २०८१ १०:३१ बिहीबार