जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये छ सय छ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको छ।
जनस्वास्थ्य कार्यालय चितवनका अनुसार साउनयता तीन हजार दुई सय १७ जनामा परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।
कार्यालयका जनस्वास्थ्य अधिकृत बिमल पटेलका अनुसार सङ्क्रमितमध्ये तीन सय छ जना चितवनका हुन् भने तीन सयजना जिल्ला बाहिरका रहेका छन्।
जिल्लामा सङ्क्रमितमध्ये सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका एक सय ४६ जना र सबैभन्दा कम माडी नगरपालिकाका आठजना रहेका छन्।
यस्तै, रत्ननगर नगरपालिकाका ४५ जना, खैरहनी नगरपालिकाका ३० जना, राप्ती र कालिका नगरपालिकाका २७/२७ जना र इच्छाकामना गाउँपालिकाका २३ जना रहेका छन्।
सङ्क्रमितमध्ये एक जनाको मृत्यु भएको छ। साउनयता आएका बिरामीमध्ये तीन हजार दुई सय ८० जनामा डेङ्गीको संक्रमण पुष्टि भएको छ। १० हजार ५७३ जनाको परीक्षणका क्रममा उनीहरूमा डेङ्गीको संक्रमण पुष्टि भएको हो।
जसमध्ये दुई हजार पाँच सय २० जना चितवनका रहेका छन् भने सात सय ६० जना जिल्ला बाहिरका रहेका छन्। जिल्लामा सङ्क्रमितमध्ये दुई जनाको मृत्यु भएको छ।
प्रकाशित: २६ कार्तिक २०८१ १६:०४ सोमबार