१८ मंसिर २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

स्वास्थ्य बिमाको दायरालाई फराकिलो बनाउनुपर्छ: कार्यकारी निर्देशक बसौला

<br>

स्वास्थ्य बिमा विभागका कार्यकारी निर्देशक डा दामोदर बसौलाले स्वास्थ्य बिमाको दायरालाई फराकिलो बनाउनुपर्ने बताएका छन्।

मंगलवार आफू बोर्डको कार्यकारी निर्देशक भएपछिको ४ वर्षमा गरेका कामहरूको बारेमा जानकारी दिँदै उनले स्वास्थ्य बिमाको दायरालाई फराकिलो बनाउनुपर्ने आवश्यकता औँल्याएका हुन।

उनले सरकारको बजेटले तय गरे अनुरूपका आमा सुरक्षा कार्यक्रम, एड्स तथा यौन रोग, क्षयरोग, नवजात शिशु कार्यक्रम, गरिब तथा असहाय बिरामीहरूलाई निःशुल्क उपचार तथा आहार, १५ वर्ष मुनिका क्यान्सर पीडित र मुटु रोगी बालबालिकाहरूको निःशुल्क उपचार, ७५ वर्षमाथिका मुटु रोगीको निःशुल्क उपचार, बाथरोगीहरु, निःशुल्क भल्भ, रिड तथा शल्यक्रिया जस्ता सबै प्रकारका निःशुल्क कार्यक्रमहरूलाई एकद्वार प्रणालीमा व्यवस्थित गरी  स्वास्थ्य बिमा कार्यक्रममा अनिवार्य आबद्ध गर्नुपर्ने सुझाव दिए।उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वार्षिक बजेटमा सरकारले यस्ता कार्यक्रममा ठुलो रकम विनियोजन गरेको र यस्ता दोहोरो कार्यक्रमलाई अनिवार्य स्वास्थ्य बिमामा आबद्ध गरी एकद्वार प्रणाली अपनाउन सुझाव दिए। 

आफ्नो ४ वर्षे कार्यकालमा २०७७ को कार्तिक २६ गतेदेखि स्वास्थ्य बिमामा जनसंख्या अनुसारको आबद्धता १२।७९ प्रतिशतबाट ३० प्रतिशतमा पुर्‍याएको, परिवारको आबद्धता १४ प्रतिशतबाट ४० प्रतिशत, नवीकरण दर ५० प्रतिशतबाट ७९ प्रतिशत, सेवा उपभोग ३४ प्रतिशतबाट ४९ प्रतिशतमा पु¥याएको दाबी गरे।

त्यस्तै कानुन निर्माणमा आफूले नेतृत्व सम्हालेअघि स्वास्थ्य बिमा ऐन, २०७४ र नियमावली, २०७५ मात्रै रहेकोमा आफ्नो नेतृत्वपछि स्वास्थ्य बिमा ऐनले दिएका अधिकारका आधारमा १८ वटा कार्यविधि बनाइएको उनले बताए।

उनले पब्लिक प्राइभेट पार्टनरसिपको सिद्धान्तलाई अवलम्बन गराउने उद्देश्यले निजी सेवा प्रदायक स्वास्थ्य संस्थाहरूले नजिकको सरकारी सेवा प्रदायक स्वास्थ्य संस्थामा गई ओपिडी सेवा दिने व्यवस्था सुरु गरेको, डिजिटल कार्डहरूमार्फत बीमितलाई सेवा प्रदान गर्ने व्यवस्था गरेको, स्वास्थ्य बिमामा राष्ट्रिय परिचयपत्रमार्फत अनलाइन बिमा दर्ता तथा नवीकरण गर्न सक्ने व्यवस्था लागू गर्न सम्झौता गरेको र नागरिकले आफैँले घरबाटै अनलाइन नवीकरण गर्न सक्ने व्यवस्था गरिएको जानकारी दिए।

उनले आफूले स्वास्थ्य बिमा बोर्डको दरबन्दी स्वीकृति गराई दरबन्दीअनुसारको कर्मचारीबाट कार्य गर्ने व्यवस्था गरेको बताए। २०७७ को कार्तिक २६ गतेदेखि हालसम्म २ करोड ३८ लाख २९ हजार १६४ वटा दाबी फर्छ्यौट गरेको र सेवा प्रदायक स्वास्थ्य संस्थाहरूले एपिआईको माध्यमबाट रियल टाइम दाबी गर्न सक्ने व्यवस्था गरेको उनले दाबी गरे। 

कार्यकारी निर्देशक बसौलाका अनुसार २०७७ सालको कार्तिक २६ गतेसम्म अति गरिब बीमित जनसंख्या ४ लाख ४० हजार ८०९ रहेकामा आफ्नो नेतृत्वपछि ५ लाख २ हजार ८४० पु¥याएको, ३ लाख ८२ हजार २८१ ज्येष्ठ नागरिक बीमित रहेकोमा २०८१ सम्म १० लाख ४० हजार ४०९, एचआइभी सङ्क्रमित बीमितको संख्या १० हजार ७९० बाट ३९ हजार ३८२ पु¥याएको, अनि अशक्त अपाङ्ग बीमितको संख्या ५६ हजार ३०७ बाट १ लाख ५६ हजार ६४६, कुष्ठरोग सङ्क्रमित बीमितको संख्या १ हजार ७२२ बाट ४ हजार ५२, एमडिआर/एक्सडिआर टिबी बीमितको संख्या १ हजार ३१४ बाट ३ हजार ६६४ र महिला स्वास्थ्य स्वयंसेविका बीमितको संख्या ६६ हजार ७८८ बाट १ लाख ४५ हजार ६१ पु¥याएको बताए। आफूले नेतृत्व गर्नु पूर्व ५८ जिल्लामा सीमित स्वास्थ्य बिमा कार्यक्रमलाई आफू नेतृत्वमा आएपछि ७७ जिल्लाको ७५३ वटै स्थानीय तहमा सञ्चालन गरेको बताए।

कार्यकारी निर्देशक बसौलाले स्वास्थ्य बिमा कार्यक्रमको नियम विपरीत जाने २८ वटा अस्पताललाई बोर्डले स्वास्थ्य बिमा कार्यक्रमको सूचिबाट हटाएको बताए। उनले स्वास्थ्य बिमा ऐन, नियमावली, बिमाले तयार पारेको बेनिफिट प्याकेज र सेवा प्रदायकहरूसँग गरिएको सम्झौता विपरीत काम गर्ने २८ अस्पताललाई सूचिबाट हटाएको जानकारी दिए। सूचिबाट हटाइसकेपछि कहिले पनि बिमामा आबद्ध हुन नपाउने भन्ने नहुने भन्दै सुधार गर्दै गएको खण्डमा पुनः बिमामा सूचिकृत गर्न सकिने बताए।

स्वास्थ्य बिमा बोर्डमा कार्यकारी निर्देशक बसौलाको ४ वर्षे कार्यकाल मंसिर २५ गतेबाट सकिँदैछ । स्वास्थ्य बिमा बोर्डको स्वास्थ्य बिमा रणनीति मार्गचित्र तयार गरी स्वीकृत गरिसकेको बताए। जसमा २०२४ देखि २०३० सम्म गर्ने स्वास्थ्य बिमाका क्रियाकलाप समेटिएको कार्यकारी निर्देशक बसौलाले बताए। 

प्रकाशित: २० कार्तिक २०८१ १५:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App