११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

भेरी अस्पतालमा एमडी र एमएस पढाई हुने बाटो खुल्यो

सम्झौता पत्रमा हस्ताक्षरपछि प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा. भुपेन्द्र बस्नेत र भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा. निराजन सुवेदी लगायत। तस्बिर: अर्जुन ओली/नागरिक

पश्चिम नेपालको रेफरल अस्पतालका रुपमा रहेको भेरी अस्पतालमा एमडी र एमएस पढाई हुने बाटो खुलेको छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स) र भेरी अस्पतालबिच शुक्रबार भएको सम्झौतासँगै पढाइका लागि बाटो खुलेको हो।

प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा. भुपेन्द्र बस्नेत र भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा. निराजन सुबेदीबिच काठमाडौँमा सम्झौता भएको हो। सम्झौता पश्चात् न्याम्सको आगामी साता बस्न लागेको सिनेट बैठकमा उक्त प्रस्ताव पेश हुने र सोही बैठकबाट पारित गर्ने तयारी छ।

‘न्याम्स र भेरी अस्पतालबिच औपचारिक रुपमा सम्झौता भयो, यसले भेरीमा एमडी र एमएस पढाई हुने बाटो खुलेको छ,’ प्रमुख मेसु सुवेदीले नागरिकसँग भने ‘आगामी साता बस्न लागेको न्याम्सको सिनेट बैठकले पास गरेपछि कुन–कुन फ्याकेल्टीको पढाई सञ्चालन गर्ने भन्ने कुराको निश्चित पनि हुन्छ।’

एमडी र एमएस विषयको अध्ययन सुरु भएपछि भेरी अस्पतालको सेवा प्रवाह अझ राम्रो हुने उनले बताए। ‘अस्पतालमा अब उपचार सेवासँगै शैक्षिक गतिविधि पनि बढ्ने भएकाले स्वभाविक रूपले यसको स्तर ह्वात्तै माथि उठ्छ,’ डा. सुवेदीले भने। भेरी अस्पतालमा वर्षौँअघि देखी एमडी र एमएस विषयको पढाई सञ्चालन गर्ने प्रयास भएपनि सार्थकता पाउन सकेको थिएन। उक्त विषयको पढाई सञ्चालन गर्न स्वीकृति दिएपछि न्याम्सले विभिन्न मापदण्ड निर्धारण गर्नेछ।

भेरी अस्पतालमा मेडिसिन, सर्जरी, अर्थोपेडिक, गाईनोक्लोजिष्ट, पिडियाट्रिक, एनेस्थोलोजिष्ट, रेडियोलोजी, इएनटी र एमडिजिपीमा एमडी र एमएस विषयको पढाई सञ्चालन गर्ने प्रस्ताव गरिएको छ। पढाई सञ्चालनमा आएपछि भेरी अस्पताल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को आङ्गिक अस्पतालका रुपमा रहनेछ । सङ्घीय सरकारको मातहतमा रहेको अस्पतालमा साबिक मध्य र सुदूरपश्चिम क्षेत्रका २४ जिल्लाका बिरामी उपचारका लागि आउँछन्।

अस्पताल विकास समितिका अध्यक्ष बीरेन्द्रबहादुर शाहले एमडी र एमएस विषयको पढाई सञ्चालन हुने भएपछि भेरी अस्पतालको उचाइ थप वृद्धि हुने बताए। आफू नेतृत्वमा आएपछि अस्पताल भित्रका थुप्रै कुरा सुधार उन्मुख रहेको दाबी गर्दै अध्यक्ष शाहले भने, ‘यहाँ अब एमडी र एमएस विषयको पढाई हुने भएपछि अस्पतालले थप उचाइ हासिल गर्नेछ।’ सम्झौताका क्रममा न्याम्सका शिक्षा अध्यक्ष प्रा.डा. लोचन कार्की, डिन डा. अशिष ढुंगाना, सहायक डिन डा. विकास विक्रम अधिकारी र डा. राजेन्द्र श्रेष्ठ लगायत उपस्थित थिए। 

प्रकाशित: ११ आश्विन २०८१ १३:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App