४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

त्रियुगा नगर अस्पताल सञ्चालनमा

संविधान दिवसको अवसर पारेर सदरमुकाम त्रियुगा नगरपालिकाले ‘त्रियुगा नगर अस्पताल’ सञ्चालनमा ल्याएको छ। नगरपालिकाको वडा नं ५ देउरीस्थित स्वास्थ्य चौकीलाई स्तरोन्नति गर्दै नगर अस्पताल सञ्चालनमा ल्याइएको हो।

बिहीवार ‘संविधान दिवस’को अवसरमा आयोजित एक कार्यक्रमकाबीच नगरप्रमुख बसन्त बस्नेतले अस्पतालको उद्घाटन गरे। सो अवसरमा बोल्दै मेयर बस्नेतले नगरका वडा नं. ४, ५, ६ र ७ तथा ८ को केही भेगका नगरबासीलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उदेश्यले नगर अस्पताल सञ्चालनमा ल्याइएको बताए।

वडा नं. १० बोक्सेस्थित सदरमुकाममा रहेको जिल्ला अस्पतालदेखि सेवा पाउन टाढा परेका वडाबासी नागरिकलाई लक्षित गर्दै नगर अस्पताल सञ्चालनमा ल्याइएको उनको भनाइ थियो। ‘सदरमुकाम गाईघाट बोक्सेमा रहेको जिल्ला अस्पताल जहिल्यै भिडभाड हुने तथा यताका नगरबासीलाई टाढा पनि पर्ने भएकाले नगर अस्पताल सञ्चालन गरिएको हो’ मेयर बस्नेतको अपेक्षा छ ‘पक्कै पनि यो अस्पतालले ४, ५, ६ र ७ नं. वडाबासीलाई सहज स्वास्थ्य सेवा दिने आसा लिएको छु।’

साविक देउरी गाविस हुँदैदेखि सञ्चालनमा रहेको स्वास्थ्य चौकीलाई स्तरन्नोति गरी जनशक्ति र यन्त्र उपकरणसहित नगर अस्पताल सञ्चालनमा ल्याइएको बताउँदै मेयर बस्नेतले हरेक नगरबासीको स्वास्थ्य सेवाप्रति समर्पित भएर काम गर्न यो अस्पतालको स्थापना गरिएको बताए।

मेयर बस्नेतले नगर अस्पताललाई जिल्ला अस्पतालको सहयोगी संस्थाको रुपमा अगाडि बढाइने बताए। दक्ष स्वास्थ्यकर्मीको अभाव हुन नदिई संविधानले दिएको जनताको स्वास्थ्योपचारको आधारभूत अधिकार सुनिश्चित गराउन नगर  अस्पताल सञ्चालनमा ल्याइएको बस्नेतको भनाइ छ।

नगरबासीलाई २४ घन्टा स्वास्थ्य सेवा उपलब्ध गराउने, गाउँघरसम्म पुगेर उपचार गर्ने उदेश्यले नगर अस्पताल सञ्चालन भएको पनि उनले बताए।

कार्यक्रममा उपप्रमुख महेश्वरी राईले नगरपालिकाले स्वास्थ्य र शिक्षालाई प्रमुख प्राथमिकता दिएर अघि बढिरहेको बताइन्।

नगरबासीको स्वास्थ्य र शिक्षाप्रति जिम्मेबार बन्ने क्रममा नगर अस्पतालको जन्म भएको भन्दै उपमेयर राईले यसबाट १६ मध्ये ४ वडाबासी नागरिक लाभान्वित हुने बताइन्।

मानव स्वास्थ्यलाई आफुहरुले प्रमुख प्राथमिक्ताभित्र पारेको भन्दै उपमेयर राईले नगर अस्पतालले नागरिकको जनस्वास्थ्यमा गम्भीर भएर सेवा प्रवाह गर्न आग्रह गरिन्।

अस्पतालमा एमबिबिएस चिकित्सकसहित १० जना स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको नगर जनस्वास्थ्य अधिकृत उपेन्द्र कार्कीले बताए। उनका अनुसार २४ सै घण्टा आकस्मिक (इमरजेन्सी), ओपिडी, ल्याव टेस्ट, एक्स–रे र गर्भवति महिलालाई सुत्केरी गराउने (बर्थिङ) सेवा अस्पतालमा उपलब्ध हुने व्यवस्था मिलाइएको छ।

५ नं. वडाध्यक्ष उद्धव थापाले नियमित सेवासँगै समय समयमा दक्ष जनशक्ति झिकाएर विशेषज्ञ सेवासमेत दिने लक्ष्य लिइएको छ। कार्यक्रम अगाडि अस्पतालमा आँखा जाँच शिविर पनि सञ्चालन गरिएको थियो। सिराहाको लाहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालसँगको साझेदारीमा सञ्चालित आँखा विविरमा नगरभरीका नागरिकको निःशूल्क जाँच गराइएको आयोजकले जनाएको छ।

शिविरमा भेटिएका मोतियाविन्दुका विरामीको आँखा निशूल्क रुपमा शल्यक्रिया (अप्रेसन) गरिदिने गरी चौधरी आँखा अस्पतालसँग नगरपािलकाले दोहोरो सम्झौता गरेको छ। त्यसैगरी नगरपालिकाले नेपाल रेडक्रस सोसाइटीसँगको साझेदारीमा नगरभित्रका सम्पूर्ण नागरिकलाई आवश्यक परेको रगत निःशूल्क उपलब्ध गराउने सम्झौता पनि यसअघि नै गरिसकेको छ।

प्रकाशित: ४ आश्विन २०८१ ०८:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App