१ आश्विन २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

मनसुन सुरु भएयता देशभर जापानिज इन्सेफलाइटिसबाट नौ जनाको मृत्यु

मनसुन सुरु भएयता देशभरिमा जापानिज इन्सेफलाइटिसबाट नौ जनाको मृत्यु भएको छ। परिवार कल्याण महाशाखाको तथ्यांकअनुसार यो रोगबाट कैलालीमा तीन र सुनसरीमा दुई तथा सर्लाही, पाल्पा, चितवन र कपिलवस्तुमा एकएक जना गरी नौ जनाको मृत्यु भएको हो। यो वर्ष भदौको अन्तिम सातासम्म ५३ जनामा यो रोगको संक्रमण देखिएको छ। गत वर्ष यो रोगका कारण ६ जनाको मृत्यु भएको थियो भने एक सय सात जनामा संक्रमण पुष्टि भएको थियो। तथ्यांकअनुसार गत वर्षको तुलनामा यो वर्ष धेरैको मृत्यु भएको हो।

गत वर्षको तुलनामा यो वर्ष कम संक्रमित भएको तथ्यांकले औंल्याए पनि मृत्यु संख्या भने यो वर्ष बढेको परिवार कल्याण महाशाखा खोप शाखाका प्रमुख डा. अभियान गौतमले बताए। मृत्यु हुनेमा धेरैजसो जापानिज इन्सेफलाइटिसविरुद्धको खोप नलिएकाहरू हुन्। संक्रमितमध्ये २९ जना १५ वर्षमुनिका छन्। प्रतिरक्षा क्षमता कमजोर भएकाले बालबालिका बढी संक्रमित हुने र खोप नलिएका अन्य उमेरका मानिस पनि संक्रमित हुने बताइएको छ। धेरै जनाको मृत्यु भएपछि महाशाखाले बैठक राखेर खोप व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा छलफलचलाइरहेको जनाइएको छ।

चिकित्सकका अनुसार जापानिज इन्सेफलाइटिस संक्रमति लामखुट्टेले टोके मानिसमा यो रोगको संक्रमण हुन्छ । क्युलेक्स प्रजातिको लामखुट्टेले यो रोग सार्छ। यो भाइरस भने सुँगुर, बंगुर, हाँसजस्ता घरपालुवा पशुपन्छीको शरीरमा लामो समय रहिरहन्छ । यस्ता पशुपन्छीलाई लामखुट्टेले टोकेर मानिसलाई पनि टोके यो रोग सर्छ। तर मानिसबाट मानिसमा यो रोग सर्दैन। यो रोगको संक्रमण भए कडा गरी टाउको दुख्ने, कडा ज्वरो आउने र मस्तिष्क सुन्निएर मानिस बिरामी बेहोससमेत हुन्छन। बेहोस भएकामध्ये कतिपय बिरामीको मृत्युसमेत हुन सक्छ। लक्षणअनुसार यसको उपचार गरिन्छ। उपचारपछि निको भए पनि पक्षाघात भई अपांगताको समस्या रहिरहन्छ।

यो रोग लागिसकेपछि निको नहुने र लागेकामध्ये ३० प्रतिशतको मृत्यु हुने जोखिम हुन्छ । तर यो रोगविरुद्धको खोप लिए यो रोगको जोखिम हुँदैन। नेपालले जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान चलाइसके पनि छुटेकाहरूमा संक्रमण भई मृत्यु भएको गौतमले बताए। अहिले छुटेकालाई खोप दिए पनि खोप शरीरमा पुगेर काम गर्न एक महिना लाग्ने भएकाले खोपको औचित्य नरहेको तर अर्को वर्षका लागि अहिल्यै खोप लिन सकिने डा. गौतमले बताए।

 सरकारले पहिला नै यो रोगविरुद्ध अभियान चलाइसकेको भएकाले बुस्टर डोज खोप दिन नसक्ने तर छुटेका बालबालिकाका हकमा नजिकको खोप केन्द्रबाट खोप लिन सक्ने व्यवस्था भएकाले एक वर्षभित्रका बालबालिकालाई नजिकको खोप केन्द्रमा गई खोप लिन उनले सुझाए। अन्य उमेर समूहको हकमा भने निजी क्लिनिकबाट किनेर यो रोगविरुद्धको खोप लिन सक्नेछन्। अहिले पनि गर्मी कायम रहेकाले थप एक महिना जापानिज इन्सेफलाटिस संक्रमणको जोखिम रहेकाले कुनै पनि लामखुट्टेको टोकाइबाट बच्न चिकित्सकको सुझाव छ। यो लामखुट्टेको टोकाइबाट बच्न झुलको प्रयोग गर्ने, पूरा शरिर छोप्ने लुगा लगाउनेजस्ता उपाय अपनाउन सकिन्छ।

प्रकाशित: २६ भाद्र २०८१ ०६:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App