१ आश्विन २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

आत्महत्याको प्रमुख कारणमध्ये ‘डिप्रेसन’ एक, जानौँ रोकथामका उपायबारे

कुनै घातक विधि अपनाएर आफूले आफ्नै ज्यान वा प्राण लिनु आत्महत्या हो।घातक विधि भन्नाले विष सेवन गर्नु, हतियार प्रयोग गर्नु, झुण्डिनु आदि पर्दछन्। नेपालमा सरदर प्रतिवर्ष सात हजार मानिसले वर्षेनी आत्महत्या गरेको देखिन्छ। विस्तृत रुपमा हेर्दा विगत ३ आर्थिक वर्षको आत्महत्याको तथ्यांक हेर्दा यस्तो पाईन्छ।

आ.व. २०७८/०७९ –   ६८३०

आ.व. २०७९/०८० –   ६९९३

आ.व. २०८०/०८१ –   ७२२१

माथिको तथ्याङ्क हेर्दा प्रत्येक वर्ष आत्महत्याको दर बढ्दै गइरहेको छ। गत आ.व. को तथ्याङ्कलाई हेर्दा सबैभन्दा बढी झुण्डिएर आत्महत्या गरेको पाईन्छ। गत आ.व.को आत्महत्याको दरलाई निम्नअनुसार प्रस्तुत गरिएको छ:

झुण्डिएर – ८५ प्रतिशत

विषखाएर – १३ प्रतिशत

हामफालेर – ०.७ प्रतिशत

डुबेर – ०.६६ प्रतिशत

हातहतियार प्रयोग गरेर – ०.२५ प्रतिशत

आगोलगाएर – ०.०९ प्रतिशत

करेन्टलगाएर – ०.०१ प्रतिशत

महिलाहरुमा आत्महत्याको सोचाई धेरै आएको देखिएपनि आत्महत्या गर्ने पुरुषको संख्या महिलाको संख्याभन्दा दोब्बर देखिएको छ।

मानिसहरु किन आत्महत्या गर्छन् ?

मानिसहरुले आत्महत्या गर्ने कारणहरु धेरै छन्। तर सबैभन्दा महत्वपूर्ण कारणका रुपमा डिप्रेसनलाई लिन सकिन्छ। लगभग८० प्रतिशत आत्महत्याको कारण डिप्रेसन हुनेगर्दछ। त्यसैले समयमै डिप्रेसनलाई चिन्न सकेमा धेरै आत्महत्याका घटनाहरु रोक्न सकिन्छ।

डिप्रेसनका प्रमुख ३ लक्षणहरुमा मन खुशी नहुने,  रमाइलो लाग्ने कुराहरुमा पनि मन नलाग्ने र शरिर थकित महसुस हुने गर्दछ। अरु लक्षणहरुमा निन्द्रा नलाग्नु, खाना रुची नहुनु, कुनै कुराको पश्चाताप हुनु, आत्मविश्वास गुम्नु आदि पर्दछन्।

डिप्रेसन किन हुन्छ ?

१) आर्थिक समस्या

अहिले कोभिडपछिको समयमा मानिसको आम्दानी घट्नु, बैँकको ऋण तिर्न नसक्नु, घर खर्च चलाउन नसक्नु लगायतका कारणले डिप्रेसन भएको पाईन्छ।

२) पारिवारिक कलह

श्रीमानश्रीमती, प्रेमीप्रेमिकाको बीचमा कुरा नमिल्नु, झगडा भइरहनु, सम्बन्ध बिग्रेर जानु पनि डिप्रेसनको कारण हुनसक्छ।

३) कडा रोगको शिकार हुनु

ब्रेनस्टोक, क्यान्सर जस्ता रोगले ग्रस्तभएमा पनि डिप्रेसन हुनसक्छ।

४) सोचे जस्तो गर्न नसक्नु

परीक्षा वा कुनै काममाआफूले सोचे जस्तो गर्न नसक्नु वा अरुले त्यसको कदर नगर्नुले पनि डिप्रेसन गराउन सक्छ।

स्क्रिजोफ्रेनिया, रक्सीको कुलत, एन्टोसोसियल, पर्सनालिटी डिस्अर्डर जस्ता रोगहरुमा पनि आत्महत्या गरेको देखिएको छ।

कसैले आत्महत्या गर्दैछ भनेर कसरी थाहा पाउने ?

–कसैले आत्महत्या गर्छ की गर्दैन भनेर पक्का भन्न त सकिँदैन तर कहिलेकाँही हामीले यस्ता संकेतहरु पाउन सक्छौँ, जसलाई ध्यान दिनसके आत्महत्या रोक्न सकिन्छ।

–यदी कसैले मलाई मर्न मन लागेको छ वा म आत्महत्या गर्छु भन्छ भने त्यसलाई हल्का रुपमा लिनु हुँदैन। उसलाई कुन समस्याले यस्तो भयो त्यो बुझ्ने कोशिष गर्नुपर्छ।

–कोही परिवारभन्दा अलग बस्न थाल्यो, सानासाना कुरामा पनि रिसाउन थाल्यो, रुन थाल्यो भने पनि उसलाई केही समस्या छ भनेर बुझ्नुपर्छ।

–कसैले सामाजिक सञ्जाल फेसबुक, टिकटकमा निराशाजनक अभिव्यक्तिहरु राख्छ भने पनि त्यसलाई ध्यान दिनुपर्छ।

–हालसालै कठिन परिस्थितीबाट गुज्रिएको छ भने जस्तै, नजिकको मानिसको मृत्यु भएको वा आफूबाट टाढा भएको भए।

–आफूलाई मन पर्ने कुराहरु पनि अरुलाई दिएको, पुराना कुराहरुमा क्षमा मागेको, इन्टरनेटमा मर्ने तरिकाहरुको बारेमा खोज गरेको र भविश्यको बारेमा कुनैपनि योजना नबनाएको छ भने पनि याद गर्नुपर्ने हुन्छ।

के आत्महत्या रोक्न सकिन्छ ?

माथिका संकेतहरु बुझेर उपचारमा लागियो भने धेरै मात्रामा आत्महत्या रोक्न सकिन्छ।

मनोचिकित्सकसंग भेट र मनोपरामर्श

मनोचिकित्सक भन्नाले मानसिक रोगजस्तैस् डिप्रसन, स्क्रिजोफ्रेनिया, रक्सी, गाँजाको कुलत आदिको सहि पहिचान र उपचार गर्न सक्ने विशेषज्ञ हुन्। मनोचिकित्सकले विरामीको समस्याको बारेमा बुझेरआवश्यक औषधीहरु र उचित परामर्श दिने काम गर्दछन्।

मनोविद्ले पनि साईकोथेरापीको माध्यामबाट विरामीको मनोवल उच्च गर्ने काम गर्दछन्। नेपाल सरकारले आत्महत्याको सोच आएमा त्यसमा आवश्यक मद्दत लिनका लागि एउटा निःशुल्क नम्बर उपलब्ध गराएको छ। पाटन मानसिक अस्पतालबाट सञ्चालित ११६६ नम्बरमा फोन गरेर समस्या कसरी समाधान गर्ने सल्लाह लिन सकिन्छ।

मानसिक रोगहरुमा मानिसहरु अस्पताल जान नखोज्ने प्रवृत्ति पनि आत्महत्या वृद्धि हुने एउटा कारण हो। त्यसकारण घरका सबै सदस्य सचेत हुनुपर्छ भने साथीभाई पनि सचेत हुन आवश्यक छ। र, यस्ता कुनैपनि लक्षण देखिएमा तत्काल संवादको पहल थाल्ने र मनोपरामर्श दातासँग सम्पर्क गर्नुपर्छ।

प्रकाशित: २५ भाद्र २०८१ १३:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App