४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

सेवा विस्तार गर्दै भरतपुर आँखा अस्पताल

२०४४ सालअघि चितवनमा आँखा अस्पताल थिएन्। आँखाको उपचार गर्न काठमाडौं धाउनुबाहेक विकल्प थिएन। आँखा उपचारमा बिरामीलाई सजिलोका लागि नेत्र ज्योति संघ चितवनले भरतपुरमा आँखा अस्पताल स्थापना गर्‍यो। एक चिकित्सकसहित सुरु भएको आँखा अस्पतालले पछिल्लो वर्ष ११ हजारभन्दा बढीलाई ज्योति प्रदान गरेको छ।

‘नेत्र ज्योति संघमा लायन्समा आबद्ध भएका मानिस धेरै थिए। त्यतिखेर लायन्सले आँखा शिविर सञ्चालन गरिरहन्थ्यो। डाक्टर रामप्रसाद पोख्रेलको पहलमा आँखा अस्पताल सञ्चालन गर्ने कुरा भयो’, नेपाल नेत्र ज्योति संघ चितवन शाखाका अध्यक्ष जयराम श्रेष्ठले भने ‘अहिले भारतसम्मका बिरामीलाई सेवा दिइरहेका छौं।’

भरतपुर आँखा अस्पतालले पछिल्लो एक वर्षमा ११ हजार २५७ जनाको आँखाको शल्यक्रिया गरी गुमेको ज्योति स्थापित गरिदिएको श्रेष्ठले बताए। उनका अनुसार गत आर्थिक वर्षमा तीन लाख ४० हजार दुई सय ६२ जनालाई अस्पतालले उपचार प्रदान गरेको छ। अघिल्लो आर्थिक वर्षमा यो संख्या तीन लाख २१ हजार थियो।

बाह्य शिविरबाट ३९ हजार २३ जनालाई सेवा दिइएको छ। विद्यालयमा पुगेर ३५ हजार चार सय ८० बालबालिकाको आँखा परीक्षण गरिएको उनले बताए। यस वर्षमात्रै अस्पतालले ६ हजार ६१९ जनाको मोतिया विन्दुको शल्यक्रिया गरेको छ। शिविरमार्फत २ हजार ९४४ जनाको शल्यक्रिया भएको छ।

रेटिनाको शल्यक्रिया २ सय १, अकुलोप्लाष्टिक शल्यक्रिया ६ सय ४९, जलविन्दुको शल्यक्रिया ९५, आँखाको नानीको प्रत्यारोपण ६५८ र ९१ जना बालबालिकाको आँखाको शल्यक्रिया भएको अस्पतालको तथ्यांकमा उल्लेख छ। गत वर्ष १६ वटा शिविरमार्फत २ हजार ३८२ जना मोतिया बिन्दुका बिरामीको शल्यक्रिया गरिएको थियो।

नेत्र ज्योति संघ चितवनले सहरदेखि ग्रामीण तहसम्म सेवा विस्तार गरेको छ। छिमेकी जिल्लाहरूमा समेत आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको छ। भरतपुर आँखा अस्पतालबाहेक अन्य दुई सेकेन्डरी अस्पताल, एउटा सिटी क्लिनिक र १८ आँखा उपचार केन्द्र संघद्वारा सञ्चालित छन्।

भरतपुर अस्पतालले चितवनका सातै पालिकामा आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको छ। भरतपुर महानगरपालिकाको चनौली र शिवनगर, माडी, राप्ती, खैरहनी, रत्ननगर, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकामा यस्ता केन्द्र सञ्चालित छन्। संघद्वारा भरतपुरको नारायणगढमा ‘सिटी क्लिनिक’ सञ्चालित छ। नवलपरासी (सुस्ता बर्दघाटपूर्व) को हुप्सिकोट, मध्यबिन्दु, बौदिकाली, गैंडाकोटमा पनि केन्द्र छन्। कावासोतीमा सेकेन्डरी अस्पताल सञ्चालित छ।

धादिङको सल्यानटार र बेनिघाट, तनहुँको आँबुखैरहनी र भानु नगरपालिका, सर्लाहीको इश्वरपुर, सिन्धुलीको दुधौली र बाराको सिम्रनगढमा आँखा उपचार केन्द्र छन्। पर्साको ठोरीमा सेकेन्डरी अस्पताल छ।

आगामी दिनमा आवश्यक स्थानमा आँखा उपचार केन्द्र विस्तार गर्दै लैजाने अध्यक्ष श्रेष्ठले बताए। मुख्य अस्पताल भरतपुरमा १२ जना विशेषज्ञ चिकित्सक छन्। ८ जना अध्ययनरत आवासीय चिकित्सक, ८ जना अप्टोमेट्रिक्स (दृष्टि विशेषज्ञ), ५९ जना नेत्र सहायकसहितको टिमले उपचार दिँदै आएको छ। यहाँका चिकित्सकले जलविन्दु, मोतियाविन्दु, दृष्टिपर्दा, कर्निया, अकोलोप्लास्टिक (नक्कली आँखा राख्ने) विषयमा फेलोसिप पाएका छन्।

अस्पतालमा हीरालाल सन्तुदेवी प्रधान नेत्रविज्ञान अध्ययन संस्थानमार्फत शैक्षिक कार्यक्रम सञ्चालन गरिएको छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का विद्यार्थीहरू यहाँ आएर आँखामा एमडी तहको अध्ययन गर्छन्।

यस अस्पतालले आँखाको प्रत्यारोपणसमेत गर्न थालेको छ। अस्पतालले १ सय ५८ जनाको आँखाको नानी प्रत्यारोपण गरेको आँखा बैंककी संयोजक छाया श्रेष्ठले जानकारी दिइन्। उनका अनुसार यहाँ २०७४ सालदेखि आँखा बैंक स्थापना भएको हो।

अहिलेसम्म एक हजार २५३ जनाले आँखा दानका लागि प्रतिबद्धता जनाइसकेका छन्। २७ जनाको नानी संकलन गरिएको छ भने १३१ जनामा नानी प्रत्यारोपण गरिएको जानकारी उनले दिइन्।

२०४४ चैत्र १८ गते स्थापना भएको यो अस्पताल भवन पाकिस्तानको विसिआई संस्थाले निर्माण गरिदिएको हो। भरतपुर अस्पतालको ४ बिघा जग्गा नेपाल सरकारले आँखा अस्पताललाई दिने निर्णय गरेपछि यहाँ सुविधा सम्पन्न अस्पताल निर्माणको थालनि गरिएको थियो। अहिले एक सय ५० भन्दा बढी कर्मचारी यस आँखा अस्पतालमा कार्यरत छन्।

प्रकाशित: ९ भाद्र २०८१ ०६:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App